लगातार ४ ओलम्पिकमा स्वर्ण जित्ने जापानकी काउरी इचो पहिलो महिला कुस्तीबाज बन्न पुगेकी छिन्। ३२ वर्षीय इचोले ५८ केजी मुनीको फ्रिस्टाइल कुस्तीमा रुसकी भालेरिया कोब्लोभालाई फाइनलमा हराएपछि यो कीर्तिमान अंगीकार गरेकी हुन्।
इचोले सन् २००४ को एथेन्स ओलम्पिकदेखि कुनै खेल हारेकी छैनन्। उनी १० पल्टकी विश्व च्याम्पियन हुन्। १३ वर्षदेखिको उनको अपराजित यात्रालाई यही वर्षको जनवरीमा मंगोलियाकी ओर्खोन पुरेभदोर्जीले भंग गरेकी थिइन्। तर, पुनः खेलमा फर्किएकी इचोले रियोमा अर्को चमत्कार गरिन्।
यो प्रतिस्पर्धामा ट्युनिसियाकी मार्वा आम्रीले रजत र भारतकी साक्षी मलिकले कास्य जितेकी थिइन्।
जापानी कुस्तीबाजले आफ्नो कीर्तिमानलाई आमाप्रति समर्पीत गरेकी छिन्। उनले गत वर्षमात्र आफ्नो आमा गुमाएकी थिइन्। भनिन्– ‘म वास्तवमै उनको कमी महसुस गरिरहेको छु। मलाई थाहा छ, उनी मलाई स्वर्गबाट हेरिरहेकी छिन्। म उनको उपस्थिति महसुस गर्न सक्छु। उनले नै मलाई अन्तिम अंक दिलाइ दिइन्।’ उनको कीर्तिमानलाई टक्कर दिने ५३ केजीकी साउरी योसिदा मात्र छिन्। योसिदाले तीन पल्ट ओलम्पिकमा स्वर्ण जितिसकेकी छिन्। उनी विहिवार चौथो स्वर्णका लागि फाइनलमा भिड्दैछिन्।