हिजोआज कुनै कुरा मिसमास भयो भने ‘क्वाँटी भयो’ भन्ने चलन छ। धेरै किसिमका गेडागुडी उमारेर जनैपूर्णिमामा क्वाँटी खाइने भएकाले चलनचल्तीको नेपाल भाषामा त्यस दिनलाई क्वाँतीपुन्ही पनि भनिन्छ।
तर नेपालभाषाको शब्द क्वाँटीको अर्थ न त मिसिनु हो, न त गेडागुडी नै। ‘क्वाँ’ भनेको तातो र ‘टी’ भनेको झोल हो। तातो झोल त अरू कुराको पनि हुनसक्छ तर क्वाँटीको अर्थ अरू कुराको झोल भन्ने लाग्दैन। क्वाँटी शब्दको अर्थान्तर भएर गेडागुडी विशेषको समूह वा त्यसबाट बनेको खानेकुरामा सीमित भयो।
खानेकुराको नामाकरण कसरी भयो भन्ने कुरा खोज्दै जाँदा रमाइला रमाइला कुरा भेटिन्छन्। ती मध्येका अधिकांशले समाज र संस्कृतिका बारेमा धेरै जानकारी दिइरहेका हुन्छन् । विश्वव्यापी खानेकुरा स्यान्डविचको नामाकरणको कथा रमाइलो छ। विकिपिडिया विश्वकोशले समेत समेटेको कथन अनुसार बेलायतको दक्षिणपूर्वी कुनामा अवस्थित नगर स्यान्डविचका अठारौँ शताब्दीका एकजना बडाहाकिम (अर्ल) जोन मन्टागु ‘क्रिबेज’ नामको तासको खेलका शौखिन थिए। दिन भरि तास खेलेर बिताए पनि खाजा त खानैपर्थ्यो। खाँदा पनि खेलका लागि हात खालि नै रहोस् र मासुको चिल्लो लागेर तासको पत्ती नबिग्रियोस् भनेर उनी खेलेका बेला पाउरोटीका बीचमा मासु च्यापेको खाजा “ब्रेड एन्ड मीट” वा “ब्रेड एन्ड चीज” नै अर्डर गर्थे। काँटा छुरी नचाहिने यो खाजा सजिलो र स्वादिलो हुन्थ्यो। त्यो खाजा स्यान्डविचभरि फैलियो। बिस्तारै अरूतिर पनि “स्यान्डविचको जस्तै” खाजा बन्न थाल्यो र त्यसको नाम नै स्यान्डविच भयो।
ठाउँको नामबाट जन्मिएका बम्बईसन (मिठाई), ह्यामबर्गर (स्यान्डविच), फ्र्याङ्क्फर्टर (ससेज), फ्रेन्चफ्राइज (आलूचिप्स), जाभा (कफी) जस्ता खानेकुरा धेरै छन्। र रमाइलो कुरा, ती मध्ये धेरै त आफ्नो मूल थलोमा भन्दा अन्त प्रशिद्ध छन्। अर्थात्, कति खाने कुराले ठाउँ चिनाएको छ भने कति ठाउँले खाने-पिउने कुरा चिनाएको छ। कति खाने कुराले अर्को ठाउँ वा देशमा गएर पुरै स्वाद फेरेका छन्, कतिले रूप र स्वाद उस्तै भए पनि नाम फेरेका छन्। खाने कुराको संसार हेर्दा लाग्छ, यो हाम्रो खानेकुरा क्वाँटीको बटुको जस्तो छ।
खानेकुराले स्वाद दिने, पेट भर्ने र पोषण दिने मात्र होइन, सभ्यता र संस्कृतिका विभिन्न आयामहरूमा प्रकाश पारिरहेका हुन्छन्। तिनमा समाविष्ट सामग्री, तिनको उत्पत्ति, विकास र न्वारानका बारेमा चासो राख्ने हो भने आफ्नै बारेमा समेत धेरै कुरा थाहा हुन्छ। हामी सबैलाई थाहा छ, हटडग कुकुरसित कतैबाट पनि सम्बन्धित छैन। ह्यामबर्गरको नाम ह्याम (सुँगुरको मासु) का कारण होइन, जर्मन शहर ह्यामबर्गका नामबाट रहेको हो।
जुनारलाई अंग्रेजीमा भूमध्य सागरको टापू माल्टाका नामबाट ‘माल्टा अरेन्ज’ भनिन्छ। रोटीको पिठो पाउ (खुट्टा) ले मुछेका कारण पाउरोटीको नामाकरण भएको होइन। तर किन यस्तो भयो वा भनियो होला भनेर हामी प्रायः वास्ता नै गर्दैनौँ। यस्ता कुरामा चासो राख्ने हो भने खाने कुराको स्वादै बढ्छ। खाद्य संस्कृति मार्फत समाज र समुदायहरूलाई अझ राम्रोसँग चिन्न सकिन्छ।
मोमो महात्म्य
केही दशक यता मोमो नेपालको सबभन्दा चल्तीको खानेकुरा भएको छ। विकी शब्दकोश विक्सनरीले यसको मूल शब्द तिब्बती भाषाको ‘मोगमोग’ लाई मानेको छ। नेपालमा आएर मोमोले मम, मःमः, ममचा आदि विभिन्न नाम पायो। साना मनपर्दा बालबालिकाका नाम वा सम्बोधनका पछाडि चा ९बाबुचा, मैचा० थप्ने चलन भएको नेवारी समाजमा सानो, डल्लो र मीठो मोमोले ममचा नाम पायो। विसर्गको बढी प्रयोग हुने नेपाल भाषाकै प्रभावमा मोमोलाई मःमः लेख्न थालियो। हुँदा हुँदा काठमाडौँमा एउटा गतिलै देखिने रेस्टुरेन्टले आफ्नो नाममा अंग्रेजीमा पनि विसर्ग जस्तै कोलोन दिएर Mo:Mo: लेखेको समेत देखिन्छ। नाम जे भए पनि यो तिब्बती मूलको खानेकुराले हिमाली क्षेत्रका मांसाहारी समाजमा मात्र होइन, ‘शुद्ध शाकाहारी’ भारतीय मिठाईको पसलमा समेत राज गरिसकेको छ।
डेढ-दुई दशक अघिसम्म चाइनिज रेस्टुरेन्टमा सीमित रहेको मोमो भारतीय शहरहरूमा समेत सबभन्दा लोकप्रिय स्ट्रिटफूडको सूचीमा माथि चढेको छ। शाकाहारीहरूका लागि सागसब्जी, पनीर, तोफू, चीज वा अन्न खाद्यपदार्थहरूबाट बनेको मोमो लोकप्रिय छ भने मांसाहारीहरू आफ्नो रूचि अनुसारको मासुकै मोमो मन पराउँछन्। शाकाहारीबाट मांसाहारी भएका वा हुने क्रममा रहेका व्यक्तिहरूका अनुभवमा यो “खोलहालेको मासु” मासु खान सजिलो बनाउने परिकार पनि हो।
कुन समाजमा कस्ता खानेकुरा पाइन्छन् र तिनको उपलब्धतामा कस्तो अन्तर आइरहेको छ भन्ने कुराले त्यहाँ हुने मान्छेको आवागमन र आर्थिक स्थितिका बारेमा धेरै कुरा देखाइरहेको हुन्छ। संसारका खाद्य प्रचलन र परम्पराहरूसितको सम्पर्क राजधानी र पर्यटकीय क्षेत्रहरूमा बढी हुनु स्वाभाविक हो।
त्यसैले नेपालमा अहिले काठमाडौँ र पोखरा विश्वभरका प्रतिनिधि खानेकुरा पाइने ठाउँ भएका छन्। चल्तीका पर्यटकीय पदमार्गहरूमा पनि खानेकुराको लामो मेनु देखिन्छ। कोरिया बसेर फर्केका नेपालीहरूका कारण कतै कतै कोरियन रेस्टुरेन्ट खुल्न थालेका देखिन्छन्। 'नेपालीले रेस्टुरेन्टमा धेरैबेर लगाएर मेनु हेरे पनि अन्त्यमा मोमो या चाउमिन नै अर्डर गर्छन्' भन्ने भनाइ केही वर्ष अघिभन्दा कम साँचो देखिन थालेको छ। बढ्दो अन्तर्राष्ट्रिय आवागमन र आर्थिक क्षमताले विविध प्रकारका खानेकुराको उपलब्धता र उपभोग ढिलै भए पनि बढिरहेको छ। तर पनि तर ससाना शहरहरूमा त्यत्रो विधि खाद्य विविधता छैन।
नेपाल र भारतमा तिब्बती शरणार्थीहरूको प्रवेश पछि मोमो, थुक्पा र चाउमिन जस्ता खानेकुरा त्यो समुदायबाट निस्किएर रेस्टुरेन्ट-रेस्टुरेन्ट र घर-घरका खानेकुराका रूपमा फैलिए। तर अचम्म, त्यो प्रवृत्ति अन्त भने त्यति स्पष्ट देखिएन। बर्माबाट फर्केका नेपालीहरू लफेत्तो (चियापत्तीबाट बनाइने एक प्रकारको गुन्द्रुक) लगायतका बर्मेली खानेकुराको बयान गरेर थाक्दैनन्। कतिपय त बर्माबाट समेत मगाएर खान्छन्। उनीहरू मध्येका कतिपयले होटल व्यवसाय पनि गरेका छन्। तर बर्मेली खानेकुराको रेस्टुरेन्ट खोल्नमा भने उनीहरूको अभिरूचि देखिएको छैन। कुन खानेकुरा के कारणले कहाँ, किन र कसरी लोकप्रिय हुन्छन् र किन हुँदैनन् भन्ने कुरा चाहिँ सायद समाजशास्त्रीहरूले मात्र पर्गेल्न सक्लान्।
मदिराको कथा
संसारभर मदिरा बनाउने र खाने आआफ्नै प्रचलन छन्। गुलियोपन भएका अन्न, फलफूल, कन्दमूल, ‑ जहाँ जे प्रसस्त पाइन्छ, त्यसैबाट जाँडरक्सी बनाउने चलन सबैतिर छ। सामान्य कुरा हो, गुलिया खाद्यपदार्थमा मर्चा (यीस्ट) हालेपछि अल्कोहल उत्पादन हुन्छ। त्यो यसै छानेर प्रयोग गर्दा जाँड वा तोङबा वा वाइन वा बियर बर्गका पेय तयार हुन्छन्। तिनलाई आसवन (डिस्टिलेशन) गरेपछि विभिन्न प्रकारका रक्सी बन्छन्। ‘वाइन’ मूलतः अङ्गुरको मदिराका लागि प्रयोग हुने शब्द हो।
तर यो फर्मेन्टेड मदिराको विश्वव्यापी समान्य नाम भइसकेको छ। चामलबाट बनाइने मदिरालाई चीनमा आङ(जीउ वा साओजिङ, जापानमा साके, कोरियामा गाम्जु, फिलिपिन्समा कुलापो आदि भनिन्छ। हरेक किसिमका मदिरा बनाउने ठाउँमा तिनका आआफ्नै नाम छन् र पनि संसारलाई बुझाउनका लागि तिनलाई राइस वाइन भनिन्छ। लाग्छ, कदाचित् संसारमा अंग्रेजीको साटो नेपाली भाषाले राज गरेको भए वाइनको साटो छ्याङ वा जाँड को प्रयोग हुँदो हो र भनिँदो हो, “ग्रेप्स छाङ” !
यो त अलिकति ठट्टाको कुरा पनि हो तर यसको गूढार्थ हो, जो शक्तिशाली र प्रभावशाली छ, उसकै भाषा र संस्कृति अन्त पनि फैलिने हो। संसारमा अंग्रेजी भाषा, संस्कृति र खानेकुराको बर्चस्व फैलिनुको कारण पनि आर्थिक र राजनीतिक शक्ति नै हो।
नेपालमा २००७ सालसम्म तागाधारीले जाँड रक्सी खानु दण्डनीय थियो। तागाधारी र मतवालीमा स्पष्ट कानूनी विभाजन रहेको त्यो समयलाई प्रजातन्त्रले बढार्यो। मदिराको खुला बिक्री र उपभोगले समग्रमा समाजलाई कति राम्रो वा नराम्रो गर्यो भनेर यो सानो लेखमा भन्न आवश्यक र उचित छैन। तर मदिराको संस्कृतिले जात-धर्मका सिमाना भत्काएको प्रमाण भने घर घरमै देख्न सकिन्छ।
जे छ, नाममा छ
सार वा गुणको कुरा गर्नेहरू “नाममा के छ र?” भन्छन्। विश्वप्रशिद्ध साहित्यकार शेक्सपियरको धेरैले उल्लेख गर्ने एउटा उक्ति छ, “जे नाम राखे पनि गुलाबबाट आउने सुगन्ध उही हो।” कुरा साँचो लाग्छ, तर स्वीकार गर्नै पर्छ, नाममा पनि धेरै कुरा छ। नाम भाषाको कुरा हो र नामी, धनी वा शक्तिशालीको भाषा सबैले अनुशरण गर्न खोज्छन्। समाजले जहिले पनि धनीको, नामीको वा विजेताको संस्कृति अपनाउँछ। मुलुकमा राजतन्त्र छँदा दरवारी भाषा “बक्स होस्” बाट “बक्स्योस्” हुँदै “आइस्योस्-गइस्योस्” तालका शब्दावली धेरै नेपाली परिवारमा चल्नु बुझ्न सकिने कुरा थियो। तर राजतन्त्र गइसकेपछि पनि ती शब्दावलीको प्रचलन नघट्नु र समानताको कुरा गरेर नथाक्नेहरूका परिवारमा समेत ‘दरवारी भाषा’ फैलिएर जानुका पछाडिको सामाजिक मनोविज्ञान चाखलाग्दो छ।
प्रयोग गरिने भाषा वा शब्दले व्यक्तिको पृष्ठभूमि लगायत धेरै कुरा बताउँछन्। काठमाडौँमा ‘समोसा’ लाई ‘सिँगडा’ भनेर माग्यो भने पसलेले ग्राहक पूर्वेली रहेछ भनेर चिन्छ। दार्जिलिङमा ‘दोकान’ लाई ‘पसल’ वा ‘सेठजी’ लाई ‘साहुजी’ भनेर सम्बोधन गरियो भने ग्राहक काठमाडौँबाट आएको भनेर चिनिन्छ। शक्तिशालीको भाषा पछ्याउने चलनले हामीलाई आधुनिक र शक्तिशाली भएको आभाष त दिन्छ तर हामी कमजोर ठानिएका भाषाबाट राम्रा र अर्थपूर्ण शब्दहरू ग्रहण गर्न गर्नबाट चुक्छौँ। यो अनुभवमा आधारित कुरा हो।
नेपाली लगायत नेपालका अधिकांश भाषामा खाना र खाजाले समय बताउँदैन। हामी अघाउञ्जेल खाए जतिबेलाको खानेकुरालाई पनि ‘खाना’ र ठिक्क ठिक्क खाए जतिबेला पनि ‘खाजा’ भनेजसो गर्छौँ। तर हाम्रै थारू भाषामा बेला अनुसारका खानेकुराका नाम हुन्छन्। अंग्रेजीको ब्रेकफास्ट, ब्रन्च, लन्च, डिनर भनेजस्तो थारू भाषामा खानाका नामले समय पनि बताउँछन्- बासी, कलौ, मिजनी, सिजनी र बेरी। एका बिहानैको सम्भवतः हिजै पकाएर राखेको वा उब्रेको खानेकुरा बासी अनि क्रमैसित कलौ, मिजनी, सिजनी र बेरी। यो नेपालको खाद्य संस्कृतिको मात्र होइन, भाषिक सम्पन्नताको विषय पनि हो।
यी नामहरूलाई राम्रोसित प्रयोग गर्ने हो भने हामी पर्यटकहरूलाई पाँच पटक खानेकुरा बेच्न सक्छौँ वा अंग्रेजीका समय अनुसारका खानाको नाम अनुवाद गर्नका लागि हामी थारू भाषाका शब्दहरू नै प्रयोग गर्न सक्छौँ। तर हामीले त्यस्तो गर्ने विचारसम्म पनि गरेका छैनौँ। काठमाडौँ उपत्यकाका परम्परागत खानेकुराको नाम र स्वाद लगभग मुलुकभर थाहा छ, थारू परिकार र खाद्य संस्कृतिका बारेमा त्यसै क्षेत्रका बासिन्दा बाहेक अरूलाई थाहा छैन। यसको सबभन्दा ठूलो बेफाइदा के भने, नेपाली खाद्य संस्कृति र भाषा आफैँभित्रबाट सम्पन्न हुनसक्ने सम्भावना दुब्लाएको छ।
संस्कृति भनेको जीवन्त कुरा हो। जीवन्ततामा गतिशीलता हुन्छ। त्यहाँ अर्थविस्तार, अर्थ सङ्कुचन वा अर्थान्तर हुनसक्छ। त्यहाँ परिवर्तन, परिमार्जन र अनुकूलन हुन्छ। उदाहरण अनन्त छन्। अहिले हामी टेबलमा खान्छौँ, भान्सासितै जोडिएका वा सयनकक्षमा अट्याच्ड बाथरूम प्रयोग गर्छौँ। मान-सम्मान, स्वागत-विदाइमा मात्र होइन, भारतीय सलवार कमीजमा सजिएका बेहुला बेहुलीका गलामा समेत तिब्बती खादा मन पराउन थालेका छौँ। अघि पनि प्रसङ्ग आएकै हो, हामीले बङ्गाली वा राजस्थानी मिठाई पसललाई समेत “भेज मोमो” बेच्ने बनाएका छौँ। हामी आफैँ नै क्वाँटीको बटुको भएका छौँ।
फेरि क्वाँटीमै फर्कौँ !
नेपाली समुदायहरूमा सबैभन्दा धेरै खानेकुराका परिकार भएका नेवारहरू हुन्। यसका केही स्पष्ट कारणहरू छन्। समाजशास्त्रीहरू भन्छन्, नेवार जातीय समुदाय नभएर भाषिक समुदाय हो। विभिन्न जातीय समूहका मानिसहरू एउटै भाषा बोल्न थाले। भाषाका कारण उनीहरूका बीचमा अन्य प्रकारका सामाजिक अन्तर्क्रियाहरू पनि बढे। त्यो विविधतायुक्त समुदायले काठमाडौँ उपत्यकाको उर्वर माटोमा अनेक जातका मनग्गे अन्नपात उमार्न र फलाउन थाल्यो। खानेकुरा पर्याप्त भएपछि त्यसको उपयोग पेट भर्नमा मात्र हुँदैन, त्यसका रचनात्मक आयामहरू देखापर्न थाल्छन्। काठमाडौँ उपत्यकामा अनेक खानेकुराहरूको परम्परा भित्रिनु र विकसित भएर “नेवारी व्यञ्जन” हरूको सूची लामो हुँदै जानुको कारण त्यही हो। काठमाडौँको कला संस्कृतिको विविधताको मूल कारण यही हो।
नेवारी व्यञ्जनहरूमा विविधता हुनुको अर्को कारण हो, त्यस समुदायको गुठी परम्परा। गुठी भनेको एउटा यस्तो सामाजिक आर्थिक संस्था हो, जसले राम्रा नराम्रा दुवै दिनहरूमा त्यसका सदस्यहरूलाई साथ दिन्छ। वर्षभरि चाड हुने, चाडैपिच्छे भोज गर्नु पर्ने समाजमा सबै मिलेर पकाइ-बनाइ गर्दा विविधता हुने नै भयो। त्यसको विपरित अरू पर्वते समुदायहरूमा भोज भतेरको चलनै कम थियो। परम्परागत बाहुन छेत्रीहरूका खानेकुरासित सम्बन्धित नियमहरू अति धेरै थिए। त्यसैले नेवारी खानेकुरा बाहेकका नेपाली खानेकुरामा विविधता आउन सकेन।
नेवारी व्यञ्जनहरूको प्रशिद्धिको अर्को कारण हो, काठमाडौँ राजधानी हुनु। राजधानीमा नेवारको साटो लिम्बूहरूको बसोबास भएको भए सायद यही व्यञ्जनलाई कोक्ती भनिन्थ्यो। कदाचित् नेपालको राजधानी डोटी हुन पुगेको भए यसैलाई बिरुँडा भनिन्थ्यो।
क्वाँटी खाने चलन मूलतः काठमाडौँको नेवार समुदायबाट अरूतिर फैलिएको हो। तर गेडागुडी मिसाएर खाने चलन नेवारहरूकहाँ मात्र भएको चाहिँ होइन। लिम्बूहरू कोक्ती खान्छन्। मकै, गहुँ लगायतका अन्न मास, भटमास, केराउ आदि गेडागुडी ढड्याएर तरकारीजस्तै बनाएर खाइने कोक्ती र अन्न नमिसाई बनाइने क्वाँटीको शब्दस्रोत एउटै हो कि जस्तो लाग्छ। लिम्बू र नेवारी दुवै भोटबर्मेली समूहका भाषा भएकाले त्यसो हुनसक्ने सम्भावना धेरै छ। सयौँ वर्षको इतिहास, विभिन्न संस्कृतिको सम्मिश्रण र तुलनात्मकरूपमा गतिशील अर्थतन्त्र भएको राजधानी नगरका बासिन्दाको खानेकुरा अलि परिमार्जित हुनु स्वाभाविक हो।
सुदुर पश्चिमाञ्चलको बिरुँडा पनि क्वाँटी जस्तैजस्तै परिकार हो। खासगरी दार्चुला जिल्लातिर विशेष चाडपर्वमा देव–देवीलाई चढाइने र खाइने कलउँ, गुराँस, गहत, मास र गहुँ मिसिएको बिरुँडोलाई भिजाएर ढड्याउँदा अङ्कुर निस्केपछि वा त्यसबाट क्वाँटीजस्तै परिकार बनाएपछि बिरौँला भनिन्छ।
भारतका उत्तर पश्चिमी पहाडको बाटो नेपाल छिरेका बाहुनहरूले उत्तराखण्डको बाघेश्वरको मन्दिर र दूर्वादेवीलाई लगभग बिर्सिइसकेका छन्। अहिले हामीले कृष्णाष्टमी भनेर जान्ने अष्टमीको अर्को नाम दूर्वाष्टमी हो र त्यसदिन दूर्वादेवीलाई ‘हबलो’ चढाउने चलन थियो भन्ने पनि अब धेरैका पारिवारिक स्मृतिमा छैन। दूर्वाष्टमीमा ढड्याएको बिरौँला दूर्वादेवीलाई चढाउने र त्यसैको प्रसाद अर्थात् हबलो खाने चलन थियो भन्ने कुरा एकदमै परम्परागत परिवारका सदस्य वा संस्कृतिमा गहिरो चाख राख्ने व्यक्तिहरूलाई मात्र थाहा हुनसक्छ।
कोक्तीका बारेमा केही लिम्बू बाहेक अरू कसैलाई थाहा छैन, बिरुँडो र बिरौँलाका बारेमा सुदुर पश्चिम बाहिर कोही जान्दैन, हबलो थाहा नहुने अझ धेरै छन्। तर क्वाँटीको स्वाद सबैलाई थाहा छ, किनरु किनभने क्वाँटी राजधानीको खानेकुरा भयो र अरू बाहिरका भए।
जे भए पनि क्वाँटी सबभन्दा समावेशी खानेकुरा हो। भूमध्य सागरका तटवर्ती क्षेत्रको उद्भिद चना, दक्षिणपूर्वी एसियाको भटमास, दक्षिणी युरोपको केराउ र मध्य एसियाको चना – क्वाँटीमा सबै हुन्छन्। सानोमा सानो केराउदेखि ठूलोमा स्युचना (बकुला) सम्मका गेडागुडी भिजाउँदा झण्डै सँगसँगै टुसाउँछन्। त्यसमा अत्यन्त उष्ण प्रदेशको जाइफलदेखि लेकको जिम्मुसम्मका मसला हालिन्छन्।
हामी केटाकेटी हुँदा क्वाँटी देखेकै थिएनौँ। काठमाडौँ पढेर फर्किनु भएका मेरा बाले सुनाएकाले क्वाँटी भन्ने शब्दसम्म चाहिँ थाहा थियो। २०३५ सालमा मैले पहिलो पटक क्वाँटी चाखेको हुँ। हिजोआज घरमा आमाले सादा स्वादको निक्कै मीठो क्वाँटी पकाउनु हुन्छ। आमाकी बुहारी त खानेकुरामा आफ्नै प्रकारका प्रयोग गरेर नयाँ स्वाद निकाल्नमा नामी छिन्। मेरी एकजना बडीआमा परम्परागत मसला हालेर काठमाडौँका रैथाने बाहुनक्षेत्रीका घरमा पाक्नेजस्तो क्वाँटी पकाउनुहुन्थ्यो। उहाँ दिवङगत भएपछि पनि त्यो स्वाद बिर्सिएको छैन। काठमाडौँमा छँदा हामी त्यहीँकी रैथाने ठकुरीकी छोरी घरबेटी दिज्जूका हातको क्वाँटीको रसास्वादन गर्न पाउँछौँ।
क्वाँटी त्यही हो, स्वाद हातैपिच्छे, भान्सैपिच्छे र ठावैँपिच्छे फेरिन्छ। क्वाँटीका प्रणेता नेवारहरूकै पनि भान्समा ठूलो अन्तर आइरहेको छ। पहिले पहिले क्वाँटी पूर्णिमाका दिन गहुँको पीठोको “ग्वाराचा मरी” (क्वाँटीमा पकाएको पानी रोटी), मुलाको साग र मुलाको तरकारी खाने चलन थियो, त्यो अब पातलिँदै छ।
हिजोआज नौथरी गेडागुडी भन्ने गरिए केही नेवारी समाजमा तीता सागपात र गेडागुडी गरी सातथरि गेडागुडी मात्र मिसाएर क्वाँटी खाने पनि चलन छ। मुलाको सुकुटी, मुलाको बिउ, मेथीको साग, केराउ, कोइरालाको फूल, चामलको पिठो, प्याज आदि मिलाएर क्वाँटी पकाउने चलन भने नेवार समुदायमै पनि हराउँदै जाँदो छ।
२००७ सालले नेपालको खाद्य संस्कृतिमा अकल्पनीय परिवर्तन ल्याएको प्रसङ्ग अघिल्ला पानाहरूमा पनि चलेको हो । सात साल पछि बाहुनहरूका कडा नियमहरू कमजोर भए। चौकामुनि नचल्ने भात होटलहरूमा बेचिने कुरा हुन थाल्यो। मदिरा र निरामिश खानेकुरा खाने बाहुनको पनि जात जान छाड्यो। कुखुराको जात चढ्यो। बङ्गुरको हैसियत सुँगुरको भन्दा ठूलो भयो। राँगाको मासुमा खोलहालेर मोमो बनाए पछि कुन जातले के खानु हुन्छ र के खानु हुँदैन भन्ने भेद हरायो।
चाउमिन लोकप्रिय भएको देखेपछि चाउचाउ आयो। मर्चा हालेको पेय खानै नहुनेहरूका लागि पनि बेकरीमा पाकेको मर्चा हालेको रोटी स्वीकार्य भयो। चीजमा रेनेट हुन्छ र रेनेट बाछाको आन्द्राबाट निकालिएको हुन्छ भन्ने कुरा मान्छेले थाहा पाएको नपायै गर्न थाले। क्याप्सुलका खोल, आइसक्रिम, जाम लगायतका धेरै खानेकुरामा प्रयोग हुने जेलेटिन जनावरको छाला र हड्डी पकाएर तयार गरिन्छ वा चिनी मिलमा हड्डीको कोइला ९बोन चार० को प्रयोग हुन्छ भन्ने कुरा त सुनिनेगरी चर्चैमा पनि आएन। सजिलो र मीठो जति सबै चोखो भयो। खस्रो, नमीठोको भाउ आएन। जूठो बारेका बेला अनेक कुराको सम्पर्कमा मीठो चिनी चल्यो, प्राकृतिक नून चलेन। जहाँ फलेको भए पनि चामल चोखै भयो, कोदोको हैसियत कुअन्नको कुनअन्नै रह्यो।
त के हो त खाद्य संस्कृतिरु खाद्य संस्कृति भनेको क्वाँटीको बटुको हो, जसको मूल अर्थ अर्कै छ र बुझिन्छ अर्कै। यसमा शक्ति र सामर्थ्यको बोलबाला हुन्छ। बजारले यसलाई हाँक्छ। सीमाहरू भत्किइरहन्छन् र व्यापारीकरणले यसलाई डोहोर्याउँछ। घरैपिच्छे फरक सामग्री प्रयोग गरेर पकाए पनि, फरक मसला हाले पनि र स्वादमा आकाश र धर्तीको अन्तर भए पनि उमारेका गेडागुडी हुन्जेल त्यो क्वाँटी नै हो।
(धुलाबारी झापाबाट प्रकाशित अर्धवार्षिक पत्रिका 'सुगन्ध' को २०७३ वैशाख अङ्कबाट साभार)