स्याङ्जाको पेलाकोट गाविसस्थित चोकका अग्निपीडितलाई स्याङ्जा सहयोग समाज पोर्चुगलले राहत रकम प्रदान गरेको छ ।
आगलागीबाट पीडित बनेका सो स्थानका १९ घर परिवारलाई बिहीबार एक कार्यक्रमबीच समाजले सहयोगस्वरुप ५० हजार रुपैयाँ राहत रकम प्रदान गरेको हो । समाजका अध्यक्ष दामोदर सुवेदीसहितको एक टोली सोही स्थानमा पुगेर राहत रकम प्रदान गरिएको समाजका महासचिव डोलराज भण्डारीले जानकारी दिए।
गत वैशाखमा भएको भीषण आगलागीबाट सो स्थानमा रहेको १९ घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । आगलागीपछि घरबारबिहीन भएका पीडितलाई सहयोग गर्ने उद्देश्यअनुरुप पोर्चुगलमा राहत रकम सङ्कलन गरी रकम हस्तान्तरण गरिएको समाजले जनाएको छ । रासस