त्रिभुवन विश्वविद्यालयको क्वाटरबाट बिहान दस बजे साना-साना नानीहरू स्कुल जान झोला बोकेर हुरुरु निस्किन्थे। प्रियम्बदा भने आफ्ना छिमेकी साथीहरू स्कुल गइरहेको लुकीलुकी हेर्थिन्। उनी पनि सानै थिइन्। ठिक्क स्कुल जाने उमेर भएको थियो। तर, उनको स्कुल त घरमै थियो।
क्वाटर दिउँसो सुनसान हुन्थ्यो। दुई चार जना बच्चाहरू संस्कृतका अक्षर, शब्द र श्लोक लय हालीहाली घोकिरहेका हुन्थे। यही आवाजले मात्र त्यो सुनसानलाई चिरिरहेको हुन्थ्यो।
प्रियम्बदा पनि त्यसरी नै लय हालेर संस्कृत पढिरहेकी हुन्थिन्। तर, मन भने साथीहरूसँगै झोला बोकेर स्कुल गइसकेको हुन्थ्यो।
‘स्कुल कस्तो हुन्छ होला है?’ बेलुकी खेल्दाखेल्दै साथीलाई सोध्थिन्।
ती साथीले जसोजसो भन्छिन्, उनी कल्पनामा स्कुलको त्यस्तै नक्सा बनाउँथिन्। स्कुल उनको कल्पनाको संसारमा मात्रै सीमित थियो। तिनै साथीले उनलाई अङ्ग्रेजी गीत सिकाउँथिन्। उनीहरू हात समातेर गीत गाउँदै परपरसम्म खेल्न जान्थे। यो ४० वर्ष अघिको कुरा हो।
त्यो बेला साथीहरू स्कुल गएको लुकीलुकी हेर्ने प्रियम्बदा अहिले महेन्द्र संस्कृत विश्वविद्यालयको सह-प्राध्यापक छिन्। तर, पनि उनलाई कहिल्यै नगएको स्कुल ‘मिस’ भइरहन्छ।
‘यत्रो समयपछि फर्केर हेर्दा पनि मलाई खट्किने नै स्कुल जाने धोको हो,’ बाल्मिकी क्याम्पसको इतिहास तथा पुराण विभागको कक्षामा भेटिएकी उनले भनिन्, ‘मेरो बालापन स्कुलबिना अधुरो भएजस्तो लाग्छ।’
उनको परिवारमा न दाइहरू जान्थे, न उनले नै स्कुल जान पाइन्। त्रिभुवन विश्वविद्यालयका लेक्चर बुवाले उनीहरूलाई स्कुल कहिल्यै पठाएनन्। बरू पहिले-पहिले ऋषिमुनिहरूको गुरूकुलजस्तै आफ्नै घरमा अध्ययनशाला बनाइदिए।
ब्राह्मण परिवारको कडा अनुशासनमा हुर्किएकी उनले स्कुल जान मन लागेको कुरा बुवा आमालाई बताउनै सकिनन्।
‘केही लेख्न दिएर बुवा क्याम्पस जानुहुन्थ्यो,’ उनले सम्झिइन्, ‘हामी दिनभरि त्यही लेख्न र पढ्न सिक्थ्यौं। मैले नजानेको दाइहरूलाई सोध्थेँ। बुवा आफैंले हामीलाई धेरै समय दिन पाउनुहुन्नथ्यो।’
उनीहरूको अध्ययनशालामा क्लास चढ्दै जाने नियम थिएन। संस्कृतबाहेक अरू विषय पनि पढ्न पाइन्नथ्यो। गणित सिक्नुपर्छ भनेर बुवाले स्कुलको कोर्सका किताब ल्याइदिन्थे।
‘ल यो अभ्यास गर,’ बुवाको आदेश हुन्थ्यो। उनीहरू आफैं उदाहरण हेर्दै सिक्थे।
संस्कृतमा भने बुवाले पाठ्यक्रम बनाइदिएका थिए। धातु रूपावली, कोश, वाक्य निर्माण, अनुवाद अनि काव्यहरू पनि पाठमा हुन्थे। त्यसलाई उनीहरूले सकेसम्म छिचोले।
अनि एसएलसी तहको परीक्षा दिन बनारस गए। त्यसपछि बल्ल उनी यहाँ आएर बाल्मिकी क्याम्पस भर्ना भइन्।
वाल्मिकी क्याम्पसमा मध्यमा (प्रवीणता तह) देखि आचार्य (स्नातकोत्तर तह) सम्म पढ्दा उनी कहिलै दोस्रो भइनन्।
उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई दिइने ऐश्वर्य विद्यापदक उनले पाएकी थिइन्।
‘हाम्रो सिकाइ मजबुत थियो, बुवाले स्वअध्ययनमा बानी पारिदिनु भएर पनि हो,’ उनले आफ्नो उपलब्धिको जस बुवालाई नै दिइन्।
क्याम्पस भर्ना भएपछि पो उनलाई स्कुलसँगै छुटेका कुराहरूको हिसाब थाहा भयो।
क्याम्पसमा कविता प्रतियोगिता हुँदा उनी छक्कै परिछन्। कविता पढ्दै हुर्किए पनि उनलाई लाग्दो रहेछ यी लेख्ने त कविहरुले मात्रै हो, लेखनाथले हो, कालिदासले हो।
कविता उनलाई खुब मन पर्थ्यो। लेखनाथ पौड्यालका कविता त उनले छन्दमा कैयौंपटक गुनगुनाएकी थिइन्। आफूले पनि लेख्न पाउने थाहा पाएपछि उनले निर्धक्क कविता लेखिन्।
क्याम्पसमा वादविवाद प्रतियोगिता भयो। पहिले त वादविवाद भनेको के हो बुझ्नै परेछ। दोस्रोपटक आफैं भाग लिइन्। प्रथम पुरस्कार हात पारिन्।
त्यसपछि भने उनले कविता लेख्न कहिलै छोडिनन्। छन्द उनलाई खुब मनपर्छ।
घरमा आमा छन्दमै कविता गुन्गुनाउँथिन्। उनले छन्दको लय आमाबाटै सिकेकी हुन्। आमाले भने घरमा अरुले पढेको सुनेर सिकेकी।
आदिकवि भानुभक्तका खलक रहेछन् उनीहरू। घरमा काव्यिक वातावरण थियो रे।
पढाइ मजबुत भए पनि उनको जिन्दगीमा स्कुले साथीहरू भएनन्, बालापनका नटखट यादहरु स्कुलसँगै छुटे। साथीसँगका भावना उनले सङ्गाल्नै पाइनन्। बाल्मिकी क्याम्पसमा पनि केटीहरू कोही थिएनन्। केटाहरूलाई साथी बनाउने जमाना थिएन।
केटी साथी बनाउने रहरले आचार्य पास गरेपछि नेपालीमा एमए गर्न पद्मकन्या जाने मन बनाइन्।
मन त बनाइन् तर बुवाको अनुमति पाइने हो कि होइन भन्ने कुरा खिल बिझाएझैँ मनमा बिझाइरहेको थियो। बुवाको अनुमति भएन भने उनी केही गर्न पनि सक्दिनथिन्।
‘मैले पहिलोपटक बुवासामु आफ्नो इच्छा व्यक्त गरेको त्यही बेला हो,’ उनले भनिन्, ‘बुवाले पनि मलाई पठाउनु भयो।’
पद्मकन्यामा उनी पक्का कवि भइन्। उनका कविता सुन्न साथीहरू वरिपरि झुम्मिन्थे रे। पद्मकन्यामा गएर पनि आफ्नो विषयमा टप गरिन्। त्यसअघि कसैले नल्याएको पहिलो श्रेणी उनले ल्याएपछि पद्मकन्यामा उनी शिक्षक र साथीभाई माझ प्रिय बनेकी थिइन्।
क्याम्पस पढ्दै थिइन् बुवाले एकदिन उनको लागि केटा ल्याए। नेपालीमा एमए गरेका र तनहुँतिरै घर भएका उनीभन्दा पाँचवर्ष जेठा युवकसँग विहे पनि तय भयो।
प्रियम्बदा बुवाले भनेपछि खुरुक्क राजी भइन्। नाई भन्ने स्वभाव नै थिएन वा उनीहरुको शब्दकोशमा पिताको बचन अस्वीकार गर्न हुन्छ भन्ने लेखिएको थिएन।
बिहेपछि उनले आफूलाई एकदमै स्वतन्त्र अनुभव गरिन् रे। अब सानासाना कुराका लागि बुवाको मुख ताक्नुपर्ने छैन भन्ने अनुभुतिले उनी पुलकित भइछन्। स्वतन्त्रताले नै जिम्मेवार बनाउँदो रहेछ भन्ने उनलाई अनुभव भयो।
बिहेपछि उनी घर मात्र सम्हालेर बसिनन्। विश्वविद्यालयमा जागिरका लागि आवेदन दिइरहिन्।
पढाइमा अब्बल भए पनि क्याम्पसमा पढाउने जागिर पाउन भने उनलाई मुस्किल भएछ। आचार्य सकेपछि क्याम्पस पढाउने मन थियो उनको। तर, २०४६ सालपछि विश्वविद्यालय छिरेको राजनीतिले बाटो छेक्यो।
‘कुनै राजनीतिक दलका मान्छेको निकट भएको भए सजिलै दिन्थे तर हामी कसैको पक्षविपक्षमा थिएनौँ,’ उनले भनिन्, ‘मैले त अदालतसम्म जान्छु भने पछि बल्लबल्ल पाएँ।’
पूजापाठमा सीमित हुँदै गइरहेको संस्कृतमात्रै पढेको देखेर साथीभाइ आफन्तले उनीलाई प्रश्न गरिरहन्थे। कतिले त भन्थे पनि,‘संस्कृत पढेर के हुन्छ र पढेका होलान्?’
पहिले त उनले न जवाफ दिन सक्थिनन् न त दिन जरुरी नै ठान्थिन्। उमेर बढ्दै र पढ्दै गएपछि भने संस्कृत साहित्यमा उनको टख बसिसकेको थियो।
अचेल उनले संस्कृत भाषा, पूर्वीय इतिहास र दर्शनका प्रत्येक सवालको धाराप्रवाह जवाफ दिन सक्छिन्। उनको बोली र हाउभाउमै त्यो किसिमको आत्मविश्वास देखिन्छ।
हामीले संस्कृत, धर्मशास्त्र, पुराण किन पढ्ने त? मैले पनि उनलाई यही सोधेँ।
‘हामी कहाँबाट आएका हौँ? हामी को हौँ? हाम्रो अस्तित्वको बोध गराउँदै मोक्ष तर्फ अभिमुखिकरण गर्ने उद्देश्य पुराणहरुको हुन्छ,’ उनले बुझाइन्, ‘हाम्रो सभ्यता के हो भन्ने प्रश्नको जवाफ र जीवनमा सत्चरित्र निर्वाह गर्दै राम्रो काम गरेर मर्नुपर्छ भन्ने पुराणका कथाहरूमार्फत थाहा पाइन्छ।’
उनलाई आफ्नो धर्मसंस्कार बिर्सेर अरूको नक्कल गर्ने आधुनिक समाज देखेर पनि दु:ख लाग्दो रहेछ। समाज, केही विद्वान, अझ गैरसरकारी संस्थाहरूले हिन्दु धर्मसंस्कार र पूर्वीय मान्यताहरुलाई गलत व्याख्या गरेको उनलाई चित्त बुझिरहेको छैन।
‘हिन्दु धर्मले नारी-पुरुषमा विभेद गरेको छ भने हल्ला पिटाइन्छ। शास्त्रहरूमा त महिला र पुरुषलाई समान दर्जा दिइएको हुन्छ,’ उनले भनिन्, ‘नारीको अनुहार सधैँ हँसिलो राख्ने दायित्व पुरूषको हो भनेर धर्मशास्त्रमा लेखिएको कुरा कसैले उल्लेख गर्दैनन्, एकोहोरो नारीमात्रै पतिव्रता हुनुपर्ने? भन्ने प्रश्न गरिन्छ।’
शास्त्रमा भएका कथाको अपव्याख्या र सन्दर्भै नबुझी उल्लेख गरिने उद्धरणले हिन्दुधर्मबारे धेरै भ्रम सिर्जना भएको उनको भनाइ छ। धर्मको अपव्याख्याले नै संस्कारहरू कुरीतिमा बद्लिएको उनले बताइन्।
धर्मशास्त्रले महिनावारी हुँदा काम नगर्नू भनेको छ। त्यो बेला महिलाको शरीरबाट विकार निस्कने भएकाले काममा बन्देज लगाइएको हो।
‘त्यसको अपव्याख्या भएर महिनावारीका बेला महिलालाई गोठमा पठाइयो,’ उनले भनिन्, ‘जब कि महिनावारीका बेला शरीर दुर्बल हुने भएकाले आराम गर्ने र सफा बस्नुपर्ने धर्मशास्त्रको अवधारणा हो।’
धर्मशास्त्रमा भएका नियमहरुको सही अर्थ गर्ने हो भने ती निकै वैज्ञानिक भएको उनको ठहर छ।
साहित्य र इतिहास उनको सबैभन्दा मन पर्ने विषय रहेछ त्यो भन्दा पनि मन पर्ने चाहिँ स्कन्द पुराणको पतिब्रता धर्म सम्बन्धि प्रसंग।
संस्कृत पढ्न नपाएको भए उनलाई आफ्नो सभ्यताको बारेमा यति नजिकबाट थाहै हुने थिएन रे। भनिन्, ‘पहिले संस्कृत पढेर के हुन्छ र भनी सोध्नेहरू जस्तै अहिले म पनि बेखबर भीडमा हराउँथेँ होला।’
पढ्नेमात्रै होइन, उनीहरू त संस्कृत भाषामै बोल्थे। बुवा अनि दाजुभाइ दिदीबहिनीको बोलीचालीको भाषा नै संस्कृत थियो।
‘हाम्रो मातृभाषा नेपाली अनि पितृभाषा संस्कृत,’ उनले बुझाइन्, ‘आमाले नेपाली बोल्न सिकाउनुभयो र बुवाले संस्कृत। बुवासँग अरू भाषामा बोल्नै पाइन्नथ्यो।’
अहिले पनि फेसबुक ट्वीटरमा उनले सकेसम्म संस्कृतमै ट्वीट गर्छिन्।
संस्कृत भाषा हराउँदै गएकोमा र नेपालीभाषा अशुद्ध प्रयोग हुन थालेकोमा उनलाई निकै चिन्ता लागिरहन्छ। मसँग पनि उनले मिडियाले भाषा बिगारेको गुनासो गरिन्।
समाचार हेर्न टिभि रेडियो खोल्यो ‘उद्योग’लाई ‘उद्धोग’भनिरहेका हुन्छन् रे।
टिभी र पत्रिकामा हुने यस्ता गल्तीको उनले फेहरिस्त सुनाउन सक्छिन्। अनि उनलाई दिक्क लाग्दोरहेछ।
‘मूर्खले बोलेजस्तो हुन्छ नि,’ उनले भनिन्, ‘ह्रस्वदीर्घजस्तो सामान्य त्रुटि होइन, शब्द संरचना नै बिगार्ने यस्ता खाले त्रुटि हुनु भनेको त नेपाली भाषा लिपि नै नजानेको भन्ने हो। यति सामान्य ज्ञान पनि नभएको मान्छेले मिडियामा काम गरेपछि भाषाको त बिजोग हुन्छ नि।’
नेपालीभन्दा पनि संस्कृत भाषीहरू हराउँदै जाने भए भन्ने पिर उनी र उनको परिवारलाई छ। विदेशमा समेत प्रशंसा हुने संस्कृत भाषा-साहित्यको मूल्य हाम्रो समाजले बुझ्नै सकेन भन्ने उनको गुनासो छ।
आजकल संस्कृत पढ्न पनि धेरैलाई रूची छैन। संस्कृत पढेर के हुन्छ र भन्नेहरुकै बोलवाला छ। उनी शास्त्रीमा तीन र आचार्य तहमा एउटा क्लास लिन्छिन् तर विद्यार्थी एकदमै कम छन्। आचार्य तहमा त उनकी एउटी मात्रै विद्यार्थी छिन्।
‘नबुझ्नेलाई आकर्षक विषय लाग्दैन तर बुझ्नेलाई भने संस्कृत जति गुनिलो भाषा पनि अरु केही होइन,’ उनले भनिन्, ‘पश्चिमाहरूले समेत संस्कृत साहित्य र दर्शनको प्रशंसा गरेका छन्। सात समुन्द्र पारका केही विद्यालयमा संस्कृत पढाउन थाले भन्ने समाचार सुन्छु। हामीले चाहिँ यसको संरक्षण गर्न सक्दैनौँ कि भन्ने लागिरहन्छ।’
नयाँ पुस्तालाई संस्कृतको ज्ञानबारे कुरा बुझाउन गाह्रो हुँदै गइरहेको छ। उनी आफैंले आफ्ना छोराछोरीलाई संस्कृत पढाउन सक्दिनन्। उनीहरूलाई कमसेकम संस्कृत भाषा जान्न र यसको गुन थाहा पाउन सक्ने बनाएको बताइन्।