प्रधानमन्त्री पुष्पकमल दाहालले गत वर्ष गएको विनाशकारी भूकम्पबाट पीडित जनतालाई राहत स्वरूप थप एक लाख रुपियाँ दिने तयारी गरिएको बताएका छन्।
यसको विषयमा दातृ निकायसँग छलफल भइसकेको उनले बताए। यसअघि सरकारले घर बनाउन पहिलो किस्ता स्वरूप दुई लाख दिने निर्णय गरेको थियो। त्यसमा थप रकम दिने प्रधानमन्त्रीले उद्घोष गरेको खबर आजको गोरखापत्रमा छापिएको छ।
पीडितलाई उक्त रकम ४५ दिनभित्र उपलब्ध गराउने काम तीव्रताका साथ भइरहेको बताएका छन्।
मङ्गलबारसम्म एक लाख २० हजारलाई पहिलो किस्ताको दुई लाख रुपियाँ हस्तान्तरण भइसकेको प्रधानमन्त्रीले जानकारी दिए। प्रधानमन्त्रीले पीडितका लागि अर्को थप दुई लाख सस्तो ऋणको रूपमा दिनेबारे पनि पहल भइरहेको बताएका छन्।