एकै समयकालमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख समेतका पद नेपालमा पहिलो पटक महिलाले सम्हालेका छन् । यो मुलुकको लागि गर्व एवं महिला अधिकारपक्षमा लागेकाहरुका लागि सम्मानको विषय हो । मलाई लाग्छ विश्वको राजनीतिक परिदृष्यमा समेत यसले एक महत्वपूर्ण स्थान ओगट्ने छ र कोषेढुङ्गाका सावित हुनेछ ।
स्मरण रहोस् एसियामा सबैभन्दा बढी महिला सांसदको प्रतिनिधि भएको मुलुक (२९.६ प्रतिशत) नेपाल हो। ‘ईन्टर–पार्लियामेन्ट्री युनियन’का तथ्याङ्कअनुसार विश्वका १९३ मुलुकमध्ये नेपालको संसदमा महिला प्रतिनिधित्वको स्थान ४७ औंमा पर्छ। तथापी वर्तमान २७ सदस्यीय ‘प्रचण्ड’ मन्त्रीपरिषद्मा ४ प्रतिशत मात्र महिला मन्त्री बनेका छन् जसमध्ये पनि राज्यमन्त्रीको संख्या दुई हुनु अस्वाभाविक ठानिएको छ ।
नेपालकी पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की हुन्। सर्वोच्च अदालतमा पहिलोपटक कार्कीसमेत तीन जना महिला न्यायाधीश एकै समयमा कार्यरत छन्। तीमध्ये मानवअधिकार क्षेत्रमा समेत योगदान दिएका थिए प्रधानन्यायाधीस कार्की र न्यायाधीश सपना मल्लले ।
साथै अन्य कुनै कारण अथवा प्रभाव नभएमा मल्ल मुलुकको दोश्रो महिला प्रधानन्यायाधीस बन्ने निश्चित छ। यी उपलब्धी विगत लामो समयदेखि ‘महिला अधिकार’का लागि चलिआएका अभियान÷आन्दोलन समेतको प्रतिफल हो भन्न सकिन्छ। तथापी विगत एक दशकदेखि शान्तिपूर्ण ढंगबाट निरन्तर न्यायका लागि लडिरहेकी गोरखा फुजेलमा ‘मसिने’ भनेर चिनिएकी ‘महिला सत्याग्रही’ गंगामाया अधिकारीलाई भने यी उपलब्धीले कुनै अर्थ दिएन।
अधिकारीका १७ वर्षीया स्कुले छोरा कृष्णप्रसाद चितवनमा बसेका हजुर बुवा–आमालाई भेट्न जाँदा टाँडीको बकुलर चौकमा २०६१ जेठ २४ गते हत्या भयो। यस हत्याको न्याय माग्दामाग्दै उनका पति नन्दप्रसादको ३३४ औं दिनको आमरण अनसनकै क्रममा निधन भयो। जेठा छोरा नुरप्रसाद बेखबर छन्। उनको न्यायका संघर्षमा हत्याका प्रमुख आरोपित छविलाल पौडेललाई पुर्पक्षको लागि हिरासतमा लिन सर्वोच्च अदालतले आदेश दिएको ८ महिना बितिसकेको छ। तर सरकारले यस आदेशको पालना गरेको छैन। उनी माओवादी केन्द्रको संरक्षणमा रहेको विश्वास गरिएको छ। त्यसैले यस आदेशको पालना गर्न माग राख्दै यही श्रावण २७ गतेबाट उनी छैठौं आमरण अनसनमा बसेकी छन्। किनभने माओवादी केन्द्रकै अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि उनको न्याय प्राप्त गर्ने झिनो आशा पनि समाप्त भएको ठानेर यो कठोर निर्णय उनले लिएको विश्वास गरिएको छ।
तर विडम्बना गंगामायाले अन्यायका विरुद्ध र कानुनी शासनका स्थापना गर्न चालेको संघर्षमा नाउँ चलेका महिला अधिक।रकर्मी भने उदासीन छन्। महिला हक–हितका लागि वर्षौैँदेखि तिनले चलाएका आन्दोलन गंगामायाका लागि बेकामे सावित भएका छन्। न्याय प्राप्तिको नैसर्गिक अधिकार कुन्ठीत हँुदासम्म चिनिएका महिलाअधिकार रक्षकहरु उनको पक्षमा उभिएनन्। उनी जीवन–मरणको दोसाँधमा हुँदा पनि तिनीहरु संवेदनशील देखिएनन्। राजनीतिले न्यायको घाँटी निमोठ्दा पनि टुलुटुलु हेरेर बसेका छन्। न्याय प्राप्तिको उनको संघर्ष महिलाअधिकार क्षेत्रलाई जचेन। अमुक राजनीतिक दललाई चिड्याउनुभन्दा गंगामायाको ज्यान जानु तिनले श्रेयकर ठाने। त्यसैले उनको यति लामो संघर्षमा भेट्न समेत तिनीहरु पुगेनन्। न्यायको यस सवाललाई राजनीतिक भन्ठानेर पछि हटेका छन्। हुनसक्छ एनजीओमा उजुरी दर्ता नभएबाट यो विषय तिनका प्रथमिकतामा परेन अथवा तिनका अन्तर्राष्ट्रिय दाताका दायरामा उनको न्यायको सवाल छिरेन।
अहिले उनको स्वास्थ्य स्थिति अत्यन्तै गम्भीर एवं चिन्ताजनक छ। तथापी यसमा महिला अधिकारकर्मी र सरकार समेत बेखबर जस्ता छन्। त्यसैले महिला क्षेत्रको नेतृत्व लिनेप्रति नागरिकका स्वभाविक प्रश्न छन् ‘गंगामाया के महिला होईनन्?’ ज्यान जोखिमा हुँदासम्म एसियामा सबैभन्दा धेरैै प्रतिनिधित्व भएका महिला सांसदहरु किन मौन साँधेर बसेका हुन्? राजनीतिक एवं सामाजिक क्षेत्रमा परिवर्तन ल्याउन जोसिला क्रान्तिकारी भाषण गर्ने महिला नेतृहरु अहिले कता हराए?
तथापी कसैको साथ पाईएला÷नपाईएला भनेर गंगामायाले पतिको साथ लिएर सत्याग्रहको बाटो राजेकी होईनन्। न उनी कसैको उक्साहाटमा परेर यो घातक कदम उठाएकी हुन्। तिनका न्यायको संघर्षका दौरान ९औं पटक सरकार फेरिए र ८ जना मुलुकको कार्यकारी प्रमुख भए। गोरखा फुजेलबाट विस्तापित भएपछि मन्त्रीपरिषद्का अध्यक्ष लगायत प्रायःसबै प्रधानमन्त्रीलाई दम्पत्तिले काठमाडौँमा आएर भेटे र आफ्ना याचिका सुनाए। तर आश्वासन बाहेक तिनले अरु केही पाएनन्। बरु न्याय खोग्दा राज्यबाट अपराधीलाई गर्ने व्यवहार खपे। न्याय माग्दा कयौंपटक प्रहरी हिरासतमा परे। र त्यही क्रममा उनले तीन पटक अनसन समेत बसे।
अन्याय र अत्यचारको हद नाग्दै डा.बाबुराम भट्टराई सरकारले अधिकारी दम्पत्तिलाई पागल समेत घोषणा गर्न पछि परेन। न्याय माग्दा तिनलाई पाटनको मानसिक अस्पतालमा पु¥याईयो। १४ दिनसम्म मानसिक तथा शारिरीक यातना पाए। अधिकारकर्मीको एक समूहले त्यसको सूचना पाएलगत्तै त्यहाँबाट दुवैको उद्धार भयो। त्यसपछि प्रधानमन्त्री निवास बालुवाटार नजिक अनसनमा दुवै बसे। त्यस अनसन तोडाउन सरकारले वीर अस्पतालमा सा¥यो तर उनीहरुले अनसन तोड्न मानेनन्।
यसैबीच प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा चुनावी मन्त्रीपरिषद् गठन भयो। राष्ट्रिय मानव अधिकार आयोगको दोश्रो सिफारिसमा त्यसले अनुसन्धान गर्ने प्रक्रिया अघि बढायो। यसक्रममा आरोपित मध्येका रामप्रसाद अधिकारी गिरफ्तार भए। फलस्वरुप छानबिन प्रक्रिया प्रभावकारी ढंगबाट अघि बढाउने सर्तमा दुवैले ४७ औं दिनमा चौथो अनसन तोडे। तर सरकारको यो प्रतिबद्धता धेरै दिन टिकेन। फेरि दम्पत्तिले पाँचौं सत्याग्रह थाले। यो अनसन नन्दप्रसादको लागि घातक भयो। ३३४ औं दिनको सत्याग्रहमा उनको २०७१ साल असोज ६ गते निधन भयो। उनको पार्थिव शरीर करिब २ वर्षदेखि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ। यसैबीच सरकारको न्याय दिलाउने लिखित प्रतिबद्धता र तरल पदार्थ मात्र लिने शर्तमा गंगामायाले ५औं अनसन ३५९ दिनमा स्थगन गरिन्।
२०औं शताब्दीदेखिको ईतिहास केलाउँदा आमरण अनसनद्वारा सत्याग्रहको थालनी महिलाबाटै भएको पाईन्छ। बेलायतकी महिला अधिकारकर्मी मारियोन डनलपले यसको थालनी गरेकी हुन्। ‘महिलाले मतदान गर्न पाउने राजनीतिक अधिकार’ को आन्दोलनमा भाग लिएबाट सन् १९०९मा उनी जेल परिन् र ९१ घण्टासम्म अन्नपानी लिईनन्। उनको स्वास्थ्य स्थिति नाजुक भएपछि ‘सहीद’ हुने भएबाट उनलाई सरकारले जेलमुक्त ग¥यो। त्यसैगरी यही अधिकारको माग राख्ने अन्य अधिकारकर्मी ईमिलिन प्यांक हुष्टाकि (२०औं शताब्दिको १०० मध्येकी उत्कृष्ट व्यक्ति) बहिनी म्यारी क्लार्कको ‘फोेर्स फिडिङ’ बाट जेलमै मृत्यु भयो। त्यसपछि सन् १९१७मा संयुक्त राज्य अमेरिकामा पनि ‘महिलाको मतदान अधिकार’का लागि संघर्षरत अधिकारकर्मी एलिसा पाउल जेलमा अनसन बसेको इतिहास छ।
पछिल्लो चरणमा भारतको सत्याग्रहको ईतिहासमा मनिपुरकी अधिकारकर्मी ईरोम शर्मिलाको आमरण अनसनलाई लिईन्छ। मनिपुरमा लगाईएको ‘आर्म फोर्स ईस्पेसल पावर याक्ट’ (एएफएसए) स्वेच्छाचारी कानुनको खारेजीको माग राखेर उनले अनसन सुरु गरिन्। यस सत्याग्रहले स्वहत्या आरोपमा सरकारले उनलाई हिरासतमा राख्यो। यही क्रममा १६ वर्षसम्म नाकबाट तरल पदार्थको ‘फोर्स फिडीङ’बाट उनी बाँचिन्। तर, माग पुरा भएन। यति लामो समयसम्म अनसन बस्ने विश्वमा उनी पहिलो व्यक्ति हुन्। हालसालै अगष्ट ९मा अर्को उपायबाट संघर्ष गर्ने निर्णय गरेर उनले यो अनसन तोडिन्। त्यसपछि ३५९औं दिनको विश्वमा दोश्रो लामो अनसन बस्ने नेपालकी ‘सत्याग्रही’ गंगामायाको नाम आउँछ।
सत्य, अहिंसा र न्यायकी योद्धाका रुपमा स्थापित भएकी छन् गंगामाया। उनको यो छैठौं सत्याग्रह पनि त्यसैको निरन्तरता हो। उनको सरल र नम्र स्वभावका कारणले गाउँमा ‘मसिने’ भनेर चिनाए पनि राष्ट्र एवं विश्वमा न्यायका खातिर बढो कठोर र साहसिक महिलाको रुपमा परिचित छन्। न्याय माग्दा माग्दै कथम् कदाचित उनको ज्यान गएमा यसको ठूलो मूल्य राष्ट्रले चुकाउनु पर्ने हुन्छ । न्याय र मानव अधिकारको धज्जी उडेको यो देश बन्ने छ। दण्डहीनताको परकाष्टा नागेको मुलुकका रुपमा कुख्याति कमाउने छ। लोकतन्त्रको जति दुहाई दिएपनि ‘न्याय मरेको देश’ ठहर्ने छ । त्यसैले समयमै होस खोलौँ र गंगामायालाई बचाऔं।