मलाई बाबाले असह्यै माया गर्नुहुन्छ। अहिले पनि! बिहे भइसक्यो मेरो, तर म उत्ति नै लाड्ली हुँ बाबाकी।
सानोमा म निकै बिरामी हुँदा, सबैले आश मारिसकेका रहेछन् म बाँच्छु भनेर! एक्लो बाबा नै हुनुहुन्थ्यो रे हरेस नखाई ‘छोरी पक्कै बाँच्छे’ भनेर निराश नहुने।
मेरो हरेक आँशु र हाँसोको पहिलो प्रत्यक्षदर्शी नै मेरो बाबा हो। आमालाई पनि निकै माया गर्छु तर मलाई बाबाभित्रै ‘आमाको ममता’ पनि महशुस हुन्छ। त्यसैले, निकै भाग्यमानी छु जस्तो लाग्छ।
समय सँगसँगै हुर्केको पत्तै नपाइने रहेछ, मैले आफ्नो बिहेको बेला आएपछि बल्ल थाहा पाएँ। त्यो दिन बाबाको अनुहारमा अर्कै किसिमको किरण थियो। मानौं केही उपलब्धि र केही हारेकोजस्तो।
मानौं जितको खुसी छ, सँगसँगै हारेको अनुभूति पनि।
यो आवरण म ठ्याक्कै देख्न सक्थेँ।
मैले बाबालाई नजिक बोलाएर सोधेँ, ‘बाबा! हजुरलाई सन्चो छैन कि आज? के भयो? किन अर्कै देखिरहेकी छु आज हजुरलाई?’
बाबाले सधैंझैं आफ्नो निश्चल मुस्कानसहित भन्नुभयो, ‘सन्चो त छ छोरी, तर आज मेरो एउटा साँचो हराउँदैछ।’
बाबा यसरी नै साहित्यिक भाषामा बोल्नुहुन्छ। म ट्वाँ पर्छु। साँचो हराउनेवाला छ भनेर कसरी भविष्यवाणी गर्न सक्नुभाको होला!
मैले भने, ‘बाबा! मैले बुझिन!’
बाबाले मलाई अंगालो हाल्दै भन्नुभयो, ‘तिमी त मेरो खुसीको ताल्चाको साँचो हौ नि!’
बाबाले यसै भन्नुहुन्छ होला भनेर मैले अन्दाज त लगाइसकेकी थिएँ, तै बाबाकै मुखबाट सुन्न चाहन्थेँ।
अन्माउने बेला भयो।
त्यो घडी बाबाको शरीर फतक्क गलेजस्तो भएको म देख्न सक्थेँ। मेरो मनमा हुन्डरी चल्दैथियो। बाबाका आँखाबाट बग्ने आँशुका धारा सम्झेरै मेरो चित्त फाटेर आउँदैथ्यो। म एउटा नयाँ घरतिर प्रस्थान गर्दै थिएँ। सधैंका लागि जन्मेको घर शून्य पारेर जाँदै थिएँ। खेलेको आँगन रित्याएर जाँदै थिएँ।
म बाबाका लाड्ली, मेरो बाबालाई छाडेर जाँदै थिएँ।
बेहुली अन्माउने धुन बज्यो।
मेरा साथीसंगी, ममी, भाइबहिनी सबैका आँखा टिलपिलाउन थाले।
मेरा आँखा पनि रसाए।
बाबा कुनातिर हुनुहुन्थ्यो। म टुलुटुल उहाँतिरै हेर्दै थिएँ। उहाँ पनि छड्के आँखाले मैतिर हेर्नुहुन्थ्यो। बेलाबेला टक्क आँखा जुध्थ्यो। मलाई दौडदै बाबासँग अंकमाल गर्न मन लाग्थ्यो।
मेरो मनको बोझ भाँप्नुभएछ क्यारे, उहाँ मैतिर आउनुभयो। मैले बाबालाई अंकमाल गरेँ। भक्कानो छाडेर रोएँ। बाबा सम्झाउन थाल्नुभयो। म झनै चित्त काडेर रोएँ। मलाई बिहेका लागि राजी गराउन भन्नुभएको कुरा सम्झी–सम्झी रोएँ, ‘बाबा! आई विल मिस यू!’
बाबाले मेरो काँध थप्थपाउनुभयो।
मैले सम्झेँ, बालखामा रुँदै बाबाको काखमा लम्पसार पर्दा उहाँ यसैगरी मेरो काँध थप्थपाउनुहुन्थ्यो। कपाल मुसार्नुहुन्थ्यो। अनि भन्नुहुन्थ्यो, ‘रुन आएको बेला, चित्त दुखेको बेला, रिस उठेको बेला भएभरको आँशु आउने गरी रुनुपर्छ। रुनु भनेको कमजोर हुनु होइन, झनै बलियो हुनु हो। नरुने मान्छे कमजोर हुन्छन्, बढी रिसाउने खालका हुन्छन्। त्यसैले छोरी, यति रुनुपर्छ ताकि उही कुरा सम्झेर फेरि कहिल्यै रुनु नपरोस्। मनमा भएको रिसराग सबै आँशुसँगै पखालिएर जाओस्। अनि बल्ल तिमी खुलेर हाँस्न सक्छौ।’
बाबाको कुरा सुनेर म पुलुक्क उहाँतिर हेर्थें।
उहाँ मुस्कुराउँदै मलाई हेरिरहनुभएको हुन्थ्यो।
अघिसम्म आँशु लपक्कै भिजेको मेरो गालामा हल्का मुस्कान नाच्न थाल्थ्यो।
यतिबेला भने चाहेर पनि मेरो गालामा मुस्कान नाच्न सकेको थिएन। म रोएको रोयै थिएँ।
मैले बाबाबाटै रुन सिकेकी हुँ। तर त्यस बखत म त्यति धेरै रुँदा पनि बाबा रुनुभएन! हुन त बाबा कहिल्यै रुनु भाको मलाई याद छैन, तर कहिल्यै र मेरो विवाहको दिनमा त अन्तर छ नि! म बाबाको खुसीको ताल्चाको साँचो हुँ। म जान लाग्दा बाबा किन रुनु भएन? यो कुराले मलाई धेरै पिरल्यो।
नरुने मान्छे कमजोर हुन्छन् भनेर बाबाले नै भन्नुभएको थियो।
मलाई मेरो बाबा बलियो देख्नु थियो, कमजोर होइन।
म अन्मिएर नयाँ घर आएँ।
विस्तारै यो घरको पनि बानी बस्यो। पहिलैदेखिको मिल्ने साथी श्रीमानको रूपमा भएर म झनै खुसी थिएँ।
दिन बित्दै गए। हामीले दुईबाट तीन हुनुपर्छ भन्ने निर्णय गर्यौं। तर, हाम्रो पहिलो सन्तान चार महिनाको गर्भबाटै बिदा भयो। हामी निकै पीडामा पर्यौं। हाम्रा कति धेरै सपना तुहिए। म धेरै रोएँ। धेरै दिन भोकै बसेँ।
ऊ पनि धेरै निरास थियो, तर मेरो सामुन्ने सधैं आफू पीडामै नभएजस्तो नाटक गर्थ्यो। मलाई यो कुरा ठिक लाग्दैन थियो।
समयसँगै हाम्रो घाउ विस्तारै पुरिँदै गयो। फेरि खुसीको खबर सुन्ने दिनको प्रार्थना गर्दै हामी रमाउँदै थियौं। यही क्रममा मैले एकदिन मलाई रुने विषयमा बाबाले जे–जे सम्झाउनुभएको थियो, सबै उसलाई भनेँ। उसको मनभित्र निकै पीडा लुकेको रहेछ। मैले हाम्रो पहिलो बच्चाबारे जब उसँग कुरा गरेँ, ऊ मलाई अंगालो मारेर भक्कानिएर रोयो।
निकै बेर रोयो।
जसरी म बिहेमा अन्माउने बेला बाबालाई अंकमाल गरेर रोएकी थिएँ, ऊ त्यसरी नै चित्त काडेर रोयो।
मैले चाहेको पनि त्यही थिएँ। त्यो घटनापछि उसको आँखामा उही पुरानो घाउको दुखाई म हरेक दिन महशुस गर्थें। यसले मलाई पीडा दिन्थ्यो। उसले आफ्नो सारा दुःख आँशुको भेलमा बगाएपछि अब मलाई अलिकति ढुक्क भएको थियो।
ऊ अब बितेका कुरा सम्झेर कमजोर छैन।
त्यसै पनि हाम्रो घाउमा मलम लाग्ने दिन टाढा थिएन।
एक बिहान हाम्रो छोरा र छोरीको जन्म भयो। जुम्ल्याहा बच्चा हुने हामीलाई पहिल्यै थाहा थियो। जब पहिलोपटक मेरो श्रीमानले हाम्रो बच्चालाई काखमा बोक्यो, ऊ सबैको सामु, सायद जीवनमा पहिलोपटक भक्कनिएर रोयो।
त्यो पीडा र खुसीमिश्रित रुवाई हुनुपर्छ भन्ने मेरो बुझाइ छ। त्यो रुवाइ हाम्रो जीवनमा आएको खुसीको संकेत थियो।
हाम्रो समाजको नियम किन यति जटिल छ, एउटा मानिसले खुलस्त आफ्नो भावना जाहेर गर्न पनि नपाउने!
मलाई रुवाउन सिकाउने बाबा आफैं किन रुनुभएन, थाहा छ?
सन्तान गुमाउनुको पीडामा म जत्तिकै भागीदार मेरो श्रीमान किन रुन सकेन, थाहा छ?
किनभने, धेरै सानोमै मेरो बाबालाई भनिएको थियो, ‘केटा मान्छे भएर रुन हुँदैन। लाज हुन्छ।’
मेरो श्रीमानलाई पनि त्यही सिकाइएको थियो।
सानैदेखि आत्मसात गर्दै आएको सिकाइ एकैपटकमा चटक्क छाड्न कहाँ सकिन्छ! यही सिकाइमा अल्झिएर धेरैले जीवनको आनन्द लिन पनि पाएका छैनन् होला। यही प्रस्फुटन हुन नपाएको भावना दबिएर निस्कने रिस र त्यो रिसले निम्त्याउने हिंसाका धेरै घटना छर्लंग छन् हाम्रै वरिपरि। चित्त दुखेपछि आँशुको एक ढिक्कासँगै पखालिने रिसराग र कपटको भावनालाई यस्तरी दबाउन लगाएर हामीले समाजमा एउटा अदृश्य खलनायकको भूमिका निर्वाह गरेका छौं।
केटा होस् या केटी, आफ्नो भावना व्यक्त गर्न पाउने प्राकृतिक अधिकार कसैले हनन गर्न पाउँदैन। उहाँ भने हामी हिंसा–अत्याचारबारे आवाज उठाउँछौं, अनि आफैंले यो प्राकृतिक अधिकार हनन गर्दा हाम्रो सजाय के त? हामीलाई सजाय दिने कसले त?
हुन त हाम्रो यो काम अपराध हो भनेर कहीँ लेखिएकै छैन। त्यसैले, कानुनी सजायको त कुरै आएन। तर, जब हाम्रो प्रिय मान्छे आफ्नो भावना व्यक्त गर्न नसकेर पीडामा छटपटाएको हामी देख्छौं, आँशु झार्न नसकेर आफैंलाई अनेकौं पीडा दिएको हामी देख्छौं, त्योभन्दा ठूलो सजाय अर्को के हुन्छ? आफ्नै मन रुनु जत्तिको नमिठो सजाय अर्को के हुन्छ?
त्यसैले, मेरो श्रीमान र मैले हाम्रा छोराछोरी दुवैलाई रुन सिकाउने निर्णय गर्यौं।
ताकि, भविष्यमा हाम्रा छोराछोरी दुवैलाई आफ्नो भावना व्यक्त गर्न सजिलै आओस्।