पटके इजाजतमा प्रहरीले कडाइ थालेपछि बिपी राजमार्गमा गुड्ने सवारीसाधन रोकिएका छन्। रुट परमिटबिनै पटके इजाजत लिएर कुदिरहेका सवारीसाधनमा प्रहरीले कडाइ थालेपछि बिपी राजमार्गमा सवारीसाधन रोकिएका हुन्।
बिपी राजमार्गमा साना–ठूला गरी झन्डै दैनिक तीन सय सवारीसाधन गुडिरहेका थिए। यातायात व्यवसायीका अनुसार अहिले त्यहाँ गाडी गुड्न छोडेका छन्। प्रहरीले बिर्ता देउरालीमा दुर्घटना भएपछि पटके इजाजतमा कडाइ थालेको थियो। बीसौं वर्षदेखि यो रुटमा पटके इजाजतबाट सवारीसाधन चल्दै आएका थिए।
यातायात व्यवसायीका अनुसार दिक्तेल, ओखलढुंगा, खोटाङ, भोजपुर, सिन्धुली हुँदै उदयपुरसम्म जाने गाडी काभ्रे प्रहरीले रोकिदिएको छ। यो रुटमा यातायातमा कडाइ थालिएपछि सयौं यात्रु प्रभावित भएको व्यवसायीको गुनासो छ।
अहिले काभ्रेबाट दोलालघाट, लामोसाँघु, चरिकोट रुटमा पनि सवारीसाधनमा कडाइ गरिएको छ। प्रहरीले सिट क्षमताभन्दा बढी यात्रु ओसार्न रोक लगाएपछि यातायात व्यवसायीले बीच राजमार्गमा गाडी रोक्न छोडेका छन्। काठमाडौंबाटै सिट भरेर हिँड्ने सवारीसाधन बीच बाटोमा रोकिन छोडेपछि सर्वसाधारणले दुःख पाउन थालेका छन्।
‘स्थायी रुट परमिट नभएका सवारीलाई रोक्नुपर्ने कानुनी प्रावधानलाई हामीले कडाइसाथ लागू गरेका मात्र हौं,’ जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाले भने, ‘पटक–पटक सूचना जारी गरी नकुदाउन भन्दा पनि नटेरेपछि रोक्नुपर्ने बाध्यता आएको हो।’
अरनिको यातायात सेवा समितिका अध्यक्ष श्याम लामाका अनुसार बढी यात्रु हालिए प्रहरीले कारबाही गर्ने भएकाले सिट भरिएर जाने गाडीहरू नरोकिने गरेको बताए। ‘बीच बाटोमा रोकेर यात्रु हाले प्रहरीले कारबाही गर्छ,’ उनले भने, ‘सिट भरिएर हिँडेका गाडी रोक्नु जरुरी नै हुँदैन, हामी रोक्दैनौं।’
अरनिको यातायात सेवा समिति सल्लाहकार जीतबहादुर भारतीका अनुसार बिपी राजमार्गमा धेरै वर्षदेखि इजाजत छैन। यसबीच पटके अनुमतिबाट सवारीसाधन चलिरहेका थिए। गत साउन ३१ गतेबाट प्रहरीले पटके अनुमतिमा गुडाउन रोक लगाएको छ।
‘सरकारले इजाजतै नदिने र अस्थायी परमिटबाट गुड्न पनि नदिने गरेका कारण यात्रुलाई हैरानी भएको छ,’ उनले भने।
स्रोतका अनुसार बिपी राजमागएको भकुन्डेबेसीसम्म मात्र रुट परमिट छ। त्यहाँबाट उता इजाजत नभएकाले व्यवसायीले अस्थायी परमिटद्वारा सवारी चलाउने गर्थे।
अरनिको राजमार्गमा चल्ने गाडी सकभर काठमाडौंबाटै सिट भरिएर मात्र हिँड्छन्। यसो गर्दा बीच बाटोबाट चढ्नुपरे यात्रुले पाउँदैनन्।
देशैभरि दुर्घटना बढेपछि सरकारले सवारीसाधनमा कडाइ थालेको छ। सिट क्षमताभन्दा बढी यात्रु ओसार्न अहिले रोक लगाइएको छ। क्षमताभन्दा बढी यात्रु बोकेर सवारी चलाइरहेका यातायात व्यवसायी प्रहरीले कडाइ थालेपछि सिट भरेर मात्र गुड्न थालेका छन्।