उनलाई थाहा छैन कसरी विदेश पुगिन्छ ? कसले पठाउँछ अनि कति पैसा लाग्छ। ‘औठाछाप’ उनले कुनै सीप पनि सिकेकी छैनन्। न त विदेशमा हुने कम्पनीबारे केही बुझेकी नै छिन्। तर, कर्थलीकी बालकुमारी मगर आफ्नी बुहारीसँगै दुबई जाने तयारीमा छिन्। बुहारी पनि पढेकी छैनन्। सासु–बुहारी नै एकै साथ विदेश उड्ने मनशायमा छन्। गाउँका साथीहरु विदेश गएर फर्केको देखेकै कारण विदेशको ‘भूत’ पलाएकाले उनले राहदानी सिफारिस भरेकी हुन्।
उमेरले ४२ पुगेकी बालकुमारी आफ्नो आर्थिक हैसियत सुधार्नैका लागि विदेशिन लागेको स्वीकार्छिन्। ‘गाउँमा बसेर पैसा कमाउा सकिएन, त्यसैले जान लागेको,’ जिल्ला प्रशासन प्रांगणमा बुहारी याङ्जीमाया लोप्चन मगर सँगै भेटिएकी उनले भनिन्, ‘कमाएर आफ्नै खुट्टामा उभिन सकिन्छ कि भन्ने आश छ।’
बालकुमारीका गाउँका धेरै युवती विदेशिएका छन्। पैसा कमाएर गाउँ फिरेका पनि छन्। ‘हामी त गएर कम्पनीमा काम गर्ने हो, घरमा हैन,’ उत्साहका साथ सासु–बुहारीले भने, ‘विदेशबाट फर्केकाहरुले भनेको घरमा काम गर्दा दुःख हुन्छ रे अनि कम्पनीमा सुख !।’ उनीहरुले आफूहरु दुबईको कम्पनीमा काम गर्न जानका लागि राहदानी सिफारिस लिन आएको बताए।
उनीहरु राहदानी बनेपछि तत्काल विदेश जान पाइने भ्रममा छन्। ‘बुबाले भनेका छन्, एजेन्टले पठाउँछ रे,’ याङ्जीमाया भन्छिन्, ‘एजेन्ट भनेको को हो अनि कहाँको हो हामीलाई थाहा छैन।’ उनले सबै कुरा बुबालाई थाहा भएकाले आफूहरु पासपोर्ट बनाउनका लागि मात्रै आएको सुनाइन्। उनीहरुलाई विदेशमा कम्पनी कस्तो हुन्छ भन्नेबारे जानकार छैन। कम्पनी कस्ता–कस्ता हुन्छन् र के के काम गर्ने कम्पनी हुन्छन् भन्ने बारेसमेत सासु–बुहारी नै अनविज्ञ छन्। उनीहरु आफूलाई विदेश जान कति पैसा लाग्छ भन्ने नै थाहा नभएको बताउँछन्।
जिल्लाबाट राहदानी लिन झण्डै सवा महिनासम्म लाग्छ। जिल्लाबाट आफैले फारम भरेमा काठमाण्डौंबाट १० दिनमै बन्छ। जिल्ला प्रशासनबाटै लिए ५ हजार रुपैयाँ र काठमाण्डौंबाट लिए १० हजारमा राहदानी आफ्नो हातमा पर्छ। सासु–बुहारीले आफ्नो राहदानी काठमाण्डौंबाट लिन लागेका छन्। ‘काठमाण्डौंबाट लिँदा भीसा चाँडै आउँछ त्यही भएर उता जान लागेको,’ बुहारी याङ्जीमायाले भनिन्, ‘हामी काठमाण्डौंमा नै बनाउने हो, खर्च जति परे पनि होस्।’ उनले आफूहरुलाई पासपोर्ट बनाउन हतार भएको समेत सुनाइन्।
केही सीप नसिकी विदेश जाँदा दुःख पाइन सक्ने भने उनीहरुले बुझेका रहेछन्। ‘कम्पनीमा जाँदा उतै काम सिकाइन्छ भनेर गाउँका साथीहरुले भनेका छन्,’ बालकुमारी भन्छिन्, ‘यहाँ त हामीले केही सिकेका छैनौं, त्यही भएर कम्पनीमा नै जाने भनेका हौं।’ उनले दुःख पाइन्छ भनेको सुनेकै आधारमा घरमा काम गर्न नजाने दोहो¥याइन्।
विदेशबारे केही जानकारी नभएका उनीहरु मात्रै हैनन् अहिले राहदानी सिफारिसका लागि प्रशासन कार्यालय आइपुग्ने। जिल्लाका विकट हिमाली गाउँका चेलीहरु दिनहुँजसो भेटिन्छन्। पछिल्लो समय विशेष गरी खाडी मुलुकमा जिल्लाका चेलीहरुले दुःख पाउने क्रम पनि बढेको छ। बालकुमारी अनि याङ्जीमाया पनि यही अवस्थामा विदेशिए दुःख पाउने सम्भावना देखिन्छ। अरुको देखासिकीकै भरमा विदेश जाने ‘भूत’ सवार हुँदा चेलीहरु विदेश भूमिमा अलपत्रमा समेत पर्ने गरेका छन्।
पछिल्लो समय सिन्धुपाल्चोकबाट वैदेशिक रोजगारीमा जाने महिलाहरुको संख्या बढेको छ। अरुको देखासिकी गरेरै भएपनि निरक्षर महिलाहरुमा विदेशमोह बढेको हो। विदेशमा गएर पैसा कमाउने सपना उनीहरुमा हुने गरेको छ। निरक्षर, कुनै सीप नजानेका सिन्धु चेलीहरुको विदेश नै अन्तिम लक्ष्य हुने गरेको पाइएको छ।
जिल्लामा उमेर नपुग्दै विदेशमोह बोकेर आउने किशोरीको संख्या पनि उत्तिकै छ। जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत हेमराज फुँयालकाअनुसार गाउँकै दाजु दिदीहरुको सम्पन्नशाली जीवनशैली देखेर सिन्धुका चेलीहरु विदेशमोहमा फस्ने गरेका छन्। केही महिनाअघिको तुलनामा जिल्लाबाट राहदानी सिफारिस लिनेहरु बढेको उनी स्वीकार्छन्। उनले धेरैजसो तामाङ समुदायका महिलाहरुले बढी साहदानी सिफारिस लिने गरेको बताए। विदेशिनकै लागि राहदानी बनाउन जिल्लाका विभिन्न भेगबाट सदरमुकाम आउनेहरु प्रसस्तै छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार तीमध्ये ४० प्रतिशत महिला हुने गरेका छन्।
सिन्धु चेली विदेशमा पुगेपछि जोखिममा नपरुन् भन्ने उद्धेश्यले राहदानी सिफारिस लिन आएकालाई प्रशासन परिसरमा परामर्श दिइने गरिएको छ। बैदेशिक रोजगारीका लागि सुरक्षित आप्रवासन सामी परियोजना र शक्ति समूहले उनीहरुलाई परामर्श दिने गरेको हो।
बैदेशिक रोजगारीका लागि जानुअघि लिनुपर्ने अभिमुखीकरण तालिम र आफू जाने तयारीमा रहेको देशको भाषाबारे थाहा नभएकाहरु पनि विदेश उड्न लागेको पाइने गरेको छ। ‘विदेशबारे नबुझेकाहरु पनि पैसा कमाउने सपनामा जान लागेको पनि भेटिन्छ।’ सामी परियोजनाकी परामर्शकर्ता अस्मिता लामा भन्छिन्,’ ‘अरुको ‘हाइफाई’ जीवनशैलीकै कारण विदेशमा गएर पैसा कमाउने सपना धेरैमा हुने गरेको पाइएको छ।’ उनकाअनुुसार चेलीहरु विदेशमा धेरै जोखिममा पर्ने प्रमुख कारण यही हो। उनीहरुलाई सामीलाई सीप सिकेर र आफू जाने देशको परिवेशबारे जानकारी लिएर मात्रै जान आग्रह गर्ने गरेको उनले बताए। ‘हामीले रोक्न सक्दैनौं, जोखिम हुन सक्ने सम्भावना भएकालाई उचित परामर्श दिने हो,’ उनले भनिन्।
सामीले वैदेशिक रोजगारीमा मनो सामाजिक समस्या पाएकाहरुलाईसमेत मनोपरामर्श दिने गरेको छ। पछिल्लो समय जिल्लामा असुरक्षित बैदेशिक रोजगारीकै कारण यस्तो समस्या भेटिएको परामर्शकर्ता मिलन लामा बताउँछन्। ‘हामीले विदेशबाट फर्केर आएका व्यक्तिहरुमा मनोसामाजिक समस्या देखिएका व्यक्तिलाई सहजीकरण गर्नेछौं,’ उनले भने, ‘परिवारका सदस्य विदेशमा गएर असुरक्षित भएका अथवा पैसा कमाउन नसकेको जानकारी आएपछि परिवारमा विचलन आउँदो रहेछ, हामीले उनीहरुलाईसमेत सहजताका लागि परामर्श दिने गरेका छौं।’ उनकाअनुसार अधिकांश विदेशमा आफूले गर्ने काम, त्यहाँको परिवेश नबुझी जानेहरु समस्यामा पर्ने गरेको पाइएको बताए।
विदेशिनकै लागि राहदानी बनाउन सिफरिस लिन जिल्लाका विभिन्न भेगबाट सदरमुकाम आउनेहरु प्रसस्तै छन्। सामीको तथ्यांकअनुसार गत आर्थिक वर्षमा २ हजार ६ सय १७ महिलालाई परामर्श दिइएको थियो। तीमध्ये कति विदेश गए भन्ने एकिन तथ्यांक भने कतैबाट आउन सकेको छैन।