फेसबुक च्याटमा दार्जिलिङका कवि भाइ मनोज बोगटीसँग कुरा गरिरहेको थिएँ। उहाँले एकाएक लेख्नुभयो, 'दाइ! हेर्नुस् न। दान खालिङ बित्नु भयो रे।'
म झसङ्ग भएँ। अरू कुरा गर्ने मन नै भएन। एकछिनपछि उहाँले फेरि लेख्नुभयो, 'दान खालिङसँग तपाईंको कुनै संस्मरण छ कि?'
मलाई भावुकताले गम्लङ्ग छोप्यो।
दान खालिङबारे कहाँबाट सम्झन थाल्ने र के के मात्र लेख्ने? म अल्मलिएँ।
भवानी घिमिरे, गणेशबहादुर प्रसाईं, दान खालिङ, बैरागी काइँला, चुडामणि रेग्मी मेरो साहित्यिक जीवनका महत्वपूर्ण गुरूहरू हुन्। उनीहरूकै माया र स्याहार पाएर म हुर्किएको हुँ यस क्षेत्रमा। यी पाँचै जना फरक विचार र धारका व्यक्तिहरू थिए। तर, मैले ती सबैबाट समान माया पाएको थिएँ।
पहिलोपल्ट दान खालिङलाई मैले २०३७ सालमा बिर्तामोडमा आयोजित मेची अञ्चलस्तरीय साहित्य सम्मेलनमा देखेको थिएँ। त्यसपछि २०३८ सालमा कन्काई बोर्डिङमा भएको एक कार्यक्रममा बोलिरहेको सुनेँ। फेरि २०४० सालमा बिर्तामोडमा नै इन्द्रबहादुर राईको उपस्थितिमा भएको कार्यक्रममा साहित्यिक सिद्धान्त विश्लेषण गर्दै गरेको सुनेँ।
अंग्रेजी साहित्यको स्नातकोत्तर उहाँ विश्वसाहित्यको अत्यन्त गहिरो ज्ञान भएको प्राज्ञ हुनुहुन्थ्यो। हिन्दी, अंग्रेजी, बंगाली, उर्दु आदि भाषाको गहिर ज्ञान थियो। उहाँको आश्रममा पुग्दा कहिले उर्दु, कहिले बंगाली लिपिका किताबहरू पढिरहेको देखिन्थ्यो।
फाट्टफुट्ट भेटघाट भइरहे पनि चालिस सालदेखि उहाँसग मेरो सम्बन्ध घनिष्ठ हुँदै गयो। भवानी घिमिरेको नेतृत्वमा झापाली दश युवाहरूले 'भोक कविता आन्दोलन'को थालनी गरेपछि हामी एकाएक चर्चामा आएका थियौं। त्यही चर्चासँगै घिसारिएर धेरैतिर परिचर्चा हुँदैजाँदा म खालिङ सरसँग ठोक्किन पुगेको थिएँ। त्यसबेला उहाँ धेरैवर्ष काठमाडौंमा ठूला स्कुलहरुमा पढाएर झापालाई नै कर्मथलो बनाउने गरी फर्किनुभएको थियो।
आफ्नो जन्मस्थल भारतको दार्जिलिङ भएपनि त्यहाँ उहाँको आफ्नो पैतृक सम्पत्ति नभएकाले उति जानु नपरे पनि दाजुभाइ, दिदीबहिनीसँग नजिक हुने इच्छाले झापा गएको बताउनुहुन्थ्यो। २००७ सालमा २२ वर्षको उमेरमा काँधमा बन्दुक बोकी सुकियापोखरी हुँदै इलामको पशुपतिनगर प्रवेश गर्नुभएका उहाँले क्रान्तिपछि पनि झापामै रहर केही समय राजनीति गर्नुभयो। पछि महानन्द सापकोटाको संगतबाट शिक्षा र साहित्यमा प्रवेश गरेको भन्नुहुन्थ्यो।
२०३८ सालमा नेपाली साहित्य विकास समितिको स्थापनासँगै उहाँ फेरि पूर्णरुपमा साहित्यिक बजारमा प्रवेश गर्नुभयो। हरेक महत्वपूर्ण साहित्यिक समारोहको प्रमुख वक्ता र अतिथिको रुपमा उहाँ एकप्रकारको स्थायी व्यक्तिजस्तै हुनुभएको थियो। उहाँका जुनसुकै भाषणमा पनि गहिरा सैद्धान्तिक विश्लेषणहरू हुन्थे। उहाँ सामान्य साहित्यिक वादविवादबाट सधैं टाढा रहनुहुन्थ्यो।
म उहाँको कवितालाई बुझ्ने शक्तिसँग सधैं प्रभावित हुन्थेँ। देवकोटाको पागल कवितामाथिको उहाँको विश्लेषण म ज्यादै प्रभावित भएको थिएँ। पछि पनि त्यस कवितामाथि नयाँ नयाँ विश्लेषण गरिरहनुभएको हुन्थ्यो। पारिजातको 'पर्खालभित्र र बाहिर' भन्ने उपन्यास माथिको लामो समालोचना पढेर मैले पनि कृति विश्लेषण गर्ने बाटो समातेको समातेको थिएँ।
जब उहाँ तेस्रो आयामबारे कुरा गर्न थाल्नु हुन्थ्यो, हामी अचम्मित भएर सुन्थ्यौं। बैरागी काइँलाका कविताका गाँठो फुकाउन उहाँले नै सिकाउनु भएको हो। पछि 'तेस्रो आयाम र बैरागी काइँला' भन्ने समालोचनाको किताब तयार गरेर उहाँलाई नै पहिलोपल्ट देखाएको थिएँ।
किताब हेरेर उहाँले भन्नुभयो, 'यदि मैले पहिले नै तपाईंका शराणार्थी र लीलालेखन किताबहरूमा भूमिका लेखिनसकेको भए सबैभन्दा बढी रमाएर म यसैमा लेख्ने थिएँ।'
उसो त उहाँले लेखेका ती दुवै भूमिका चर्चित र महत्वपूर्ण छन्।
खालिङ सरको पछिल्लोकाल झापाली साहित्यिक तथा शैक्षिक गतिविधिमा बित्यो। उहाँलाई झापामा स्थापना हुँदै गरेका प्रायः निजी विद्यालयहरूले आफ्नो स्कुलको इज्जतसँग जोडेर हेरे। पूर्वी झापाका स्कुल र कलेजहरू खालिङ सरका लागि सधैं कार्पेट ओछ्याइरहन्थे।
पटक्कै नरिसाउने, नझर्किने, हाँसिरहने सदा सकारात्मक सोच भएका र नानीहरुसँग खुबै रमाउने उहाँ बच्चादेखि बुढासम्मका साथी हुनुहुन्थ्यो। न त खालिङ सरले नराम्रो टिप्पणी गरेको सुनियो, न अरुले नै उहाँको आलोचना गरेको सुनियो। थोरैमा रमाउने, चित्त बुझाउने, अनावश्यक खर्च नगर्ने तर संचयका निम्ति तनाव पनि नलिने अनौठो व्यक्तित्व थियो। एकप्रकारले व्यवहारिक दार्शनिक हुनुहुन्थ्यो उहाँ।
शान्त स्वभाव, सकारात्मक स्वभाव र मिलनसारिता खालिङ सरबाट सिक्नु पर्ने कुरा थिए। एक्लै बस्ने घरलाई पनि अत्यन्त सफा र सुन्दर प्रकारले सजाइएको हुन्थ्यो। खालिङ सरको कोठामा जान खै किन हो कहिल्यै अप्ठ्यारो लागेन। भेट्न आइरहने विद्यार्थीहरूले नै उहाँको घर सफासुग्गर बनाइदिन्थे।
झर्को नमानी हरेक विषयमा बुझाउने अनौठो कला थियो उहाँमा। बिदाको बेला खालिङ सरको डेरा सधैं भरिएकै हुन्थ्यो। भेट्न आउने प्रत्येकलाई केही न केही नखाइ जान दिनुहुन्नथ्यो।
धेरैपल्ट मैले बुझ्ने प्रयत्न गरेँ, तर उहाँले कहिल्यै एक्लोपनको निरस कुरा गुर्नभएन।
एकदिन मैले डराउँदै सोधेँ,'सरलाई धेरैदिनदेखि एउटा प्रश्न सोध्न मन छ, के गरुँ?'
सजिलै हाँसेर उहाँले भन्नुभयो, 'सोध्नोस्। निर्धक्क सोध्नोस्।'
मैले हाँस्दै, अलिक असजिलो हुँदै सोधेँ, 'वास्तवमा सरले विवाह चाहिँ किन नगर्नुभएको होला?'
सायद यस्तो प्रश्नको आशा थिएन कि! एकछिन घोरिएजस्तो गरेर बोल्नु भयो, 'तपाईंजत्तिको मान्छेलाई भन्दा हुन्छ, ठीक छ।'
त्यसपछि निकै यताउताको लामो भूमिका बाँधेर भन्नुभयो, 'म दार्जिलिङमा हुँदै बाइस वर्षको भइसकेको थिएँ। मेरो एकजना केटीसाथी पनि थिइन्। म नेपाल नपसेको भए तिनैसँग बिहे हुन्थ्यो पनि कि! तर, क्रान्तिमा लागेपछि सब कुरा भुलिदोरहेछ। यता आएपछि म धेरै वर्ष फर्केर गइनँ। पछि सुनेँ, उनको अन्तै कतै बिहे भएछ। त्यसपछि मलाई अरु कसैसँग बिहे वा प्रेम गर्ने इच्छै भएन।'
मैले अनुमान नगरेको तर एउटा लामै आख्यान हुनसक्ने विषयको उत्खनन् भएको थियो। यो कुरा मैले धेरैसँग गरिनँ। सायद कृष्ण बराललाई भनेँ कि!
प्रेमको यस्तो साँच्चैको तपस्या पनि हुने रैछ भन्ने पछिसम्म लागिरह्यो। सायद, त्यसैले पनि हुनसक्छ, 'राधा' उपन्यासलाई उहाँले मेरा किताबमध्ये सबैभन्दा धेरै मन पराउनु भएको थियो।
नेपाली साहित्य विकास समिति अन्तर्गत रहने गरी २०४३ सालमा महानन्द परस्कारको स्थापना भएदेखि नै उहाँ त्यो संस्थाको सल्लाहकार रहनुभयो। हरेकपल्टको पुरस्कार छनोट समितिमा अविच्छिन्न रुपमा उहाँ रहनुभयो। मेची अंचलमा रही साहित्यिक योगदान दिन तथा सिर्जनात्मक लेखन गर्ने मध्येबाट पुरस्कृत हुने क्रममा दर्जनौं अग्रजहरू सम्मानित भइरहे। तिनीहरूलाई सम्मान गर्ने उहाँ आफैं भने त्यसबाट सम्मानित हुन सल्लाकारको पक्षमै रहेको अलमलका कारण धेरै वर्ष पछाडिनु पर्यो। पछि उहाँलाई सम्मान गर्नकै लागि सल्लाहकार र छनौट समितिबाट हटाइएको थियो। खालिङ सरले उस्ता ठूलाठूला पुरस्कार त पाउनु भएन तर धेरैलाई पुरस्कृत चाहिँ गराउन सक्नुभयो।
पचासको दशकपछिको झापाली साहित्य एकप्रकारले राष्ट्रियस्तरमै हस्तक्षेपकारी ढङ्गबाट आइरहेको थियो। झापाबाट भवानी घिमिरे, बैरागी काइँला र गणेशबहादुर प्रसाईं काठमाडौं पसेपछि झापाली नयाँ पुस्ताका लागि एकमात्र अभिभावकका रुपमा खालिङ सर नै रहनु भयो।
२०४६ सालको जनआन्दोलनको परिणामपछि उहाँ साह्रै नै खुसी हुनुभएको थियो। सातसालदेखि प्रजातन्त्रको लागि लडेको आफ्नो इच्छा बल्ल पुुरा भएकोमा रमाउनु भएको थियो। तर, गिरिजाप्रसाद कोइरालाले पहिलो बहुमतको संसदलाई नै विघटन गरेपछि भने फेरि साह्रै निराश हुनुभयो। गिरिजाप्रसाद कोइरालाप्रति उहाँको विश्वास पहिल्यैदेखि रहनेछ। कहिलेकाहीँ पुराना राजनीतिक जीवनलाई सम्झेर भावकु बन्नुहुन्थ्यो। बीपी कोइरालाजस्तो मान्छे यो देशले अब कहिल्यै जन्माउन सक्दैन, जसरी बुद्धजस्तो जन्माउन सकिन्न, भनिरहनु हुन्थ्यो।
प्रधानमन्त्री भएपछि झापा आउँदा गिरिजाप्रसाद कोइरालाले खालिङ सरलाई भेटेर के सहयोग गर्नुपर्छ भनी सोध्नुभएको रहेछ। उहाँले यो देशमा यत्रो वर्षपछि आएको यो प्रजातन्त्रलाई जोगाइ मात्र दिनुहोस्, त्यतिभए पुग्छ भन्नुभएछ।
बैरागी काइँला प्राज्ञ भइसकेपछि होला, नेपाल प्रज्ञा प्रतिष्ठाले उहाँलाई विश्वेश्वरप्रसाद कोइरालाको उपन्यास 'सुम्निमा' अंग्रेजीमा अनुवाद गर्ने प्रस्ताव गरेको रहेछ। निकै काम अघि बढिसकेको थियो तर एकाएक बढ्दै आएको जातिय आक्रोस र दबावका कारण त्ययो काम उहाँले अधुरै छोड्नुभयो।
एकदिन चित्त दुखाउँदै भन्नुभयो– के गर्नु कृष्णजी! जेलाई पनि राजनीतिकरण गरेर यो देशलाई प्रजातन्त्र फेरि अल्पायु हुने भो।'
जनजातिले कुरै नबुझी कोइराला निवासअगाडि सुम्निमा डढाएको उहाँको गुनासो थियो।
उहाँ भन्नुहुन्थ्यो, 'अस्ति भर्खर दुईचार जना राईहरु मलाई भेट्न आएका थिए। त्यो किताब अनुवाद नगर्नु भनेर गए। वास्तवमा सुम्निमा किताब किराँतीहरुले होइन, बाहुनहरुले जलाउनु पर्ने हो। तर, हाम्रा मान्छे कुरै बुझ्दैनन्।'
अनुवादका कामहरु पनि प्रशस्त गर्नुभएको थियो तर धेरै छापिएनन्। उहाँका आफ्नै कविताका डायरी पनि थिए। डेरा सर्दासर्दै कति हराए हराए भनेर चित्त दुखाइरहनु हुन्थ्यो।
२०५८ सालतिरको कुरा हो। एकपकट मैले उहाँलाई भनेँ, 'सरका पूर्वप्रकाशित सामग्रीहरु के कति छन्? कता छन्? तपाईंसँग संकलित भएका दिनु। नभएका पत्रिकाका नाम भनिदिनु म खोज्छु। सम्पादन गरौंला। साझा, प्रज्ञा कतैबाट छपाउन सकिएला।'
उहाँले भन्नुभयो, 'मसँग भएका सबै मैले सिक्किम पठाइसकेँ। मुख्यमन्त्री चाम्लिङ (पवन चाम्लिङ)ले छपाइदिने कुरा भएको छ।'
उहाँको कुरा सुनेर खुसी लागेको थियो। तर, गतवर्ष माघमा फेरि सोध्दा भन्नुभयो, 'खै! ती सबै कता पुगे कता? कसले लगेको थियो भन्ने नै बिर्सिएँ।'
मन खिन्न भयो मेरो।
खालिङ सरको हामीले धेरै उपयोग गर्यौं तर केही अभिलेख राख्न सकेनौं।
२०६० सालतिर उहाँ फेरि काठमाडौं सर्ने हुनुभयो। काठमाडौंमा अलिक सजिलो काम भेटिएको र स्कुलमा पढाइरहन गाह्रो हुँदै गएको सुनाउनु भएको थियो।
त्यसैबेला मैले एउटा लेखेँ, 'हे काठमाडौं! खालिङ सरलाई माया गर' शीर्षकमा। यो लेख नेपाल समाचारपत्रमा छापिएपछि काठमाडौंमा उहाँको निकै खोजि पनि भएछ। तर, उहाँ काठमाडौं लामो समय बस्नसक्नु भएन। हामी बिदाई गर्नेहरूले नै झापामा उहाँलाई तुरुन्तै स्वागत गर्यौं। यसपछि भने क्रमशः झापा छोड्दै सिलगडी, दार्जिलिङ गर्न थाल्नुभयो। र, एकदिन साँच्चै नै नेपाललाई त्यागेर दार्जिलिङ फर्किनुभयो। नेपाल छोडेर गएपनि उहाँले मनमा नेपालप्रति कुनै गुनासो बोक्नुभएको थिएन।
गत वर्षको भेटमा विष्णु कुमार भट्टराई, यादव भट्टराई, मञ्जुजी र मलाई भावपूर्ण स्वागत गर्दै भन्नुभएको थियो– 'यो तपाईंहरुसँगको अन्तिम भेट हो। अब आइरहने दुःख पनि नगुर्न होला। मेरो छोराछोरी भनेको तपाईंहरु नै हो, माया पनि कहिल्यै नमार्नु होला। यत्रो लामो जीवन बाँचिसकेँ। कसैसँग गुनासो छैन। परमात्मालाई धन्यवाद दिइरहेको छु।'
उहाँको यो भनाईले साँच्चै नै भावुक बनाएको थियो हामीलाई। मेरो देशको प्रजातन्त्रले धेरै सहिद र योद्धाहरुको ऋण खाएको छ। आज विगततिर फर्केर हेर्ने कसैको फुर्सद छैन।
बाइस वर्षको उमेरमा आफ्नो पैतृक देशमा प्रजातन्त्र ल्याउन बन्दुक बोकेर सुकेपोखरीबाट मेची तरेको एक युवक दानियल खालिङ त्यसको ६७ वर्षपछि ८९ वर्षको लास बोकेर आज फेरि सुकियापोखरी फर्किनु भएको छ। तर, उहाँको यात्रा सफल भएको छ।
खालिङ सर! मेरो देशको तर्फबाट श्रद्धाञ्जली!!