इन्द्रजात्राको अवसरमा भक्तपुरको धार्मिक तीर्थस्थलका रुपमा रहेको प्रसिद्ध प्राचीन इन्द्र दह (सिद्धपोखरी)मा आज बिहानैदेखि ठूलो मेला लागेको छ।
हरेक वर्ष इन्द्रजात्राका भोलिपल्ट आश्विन कृष्ण द्वितीयाका दिन यहाँ ठूलो मेला लाग्ने गर्दछ । इन्द्र दह (सिद्धपोखरी)को स्नान गरी इन्द्रायणी देवीको पूजाआजा गर्ने भक्तजनको ठूलो घुइँचो लागेको हो।
देवराज इन्द्रले स्नान गरेको दह हुनाले आजको दिन इन्द्रदहको स्नान गरी इन्द्रायणी देवीको पूजा आराधना गरेमा पुण्यप्राप्ति हुनुका साथै पारिवारिक सुःख–समृद्धि मिल्ने जनविश्वास छ। हरेक वर्ष इन्द्रजात्राका दिन भक्तपुरको खौमा टोलस्थित इन्द्रायणी देवीको मूर्तिलाई खटमा राखी जात्रा गरेर सिद्धपोखरीमा ल्याई विराजमान गराई तान्त्रिक विधिपूवक पूजा र भोगबलि चलाउने परम्परा छ। त्यसबेला परम्परागत बाजागाजाका साथ दाफा र भजन गाउने प्रचलन छ।
सिद्धपोखरीमा लिच्छविकालदेखि मल्लकालसम्मका शैव, शक्ति, बौद्ध, वैष्णव, सम्प्रदायका देवीदेवताका मूर्ति छन्। अनावृष्टि हु“दा सिद्धपोखरीमा आई वासुकी नागलाई पूजा गर्ने र जलवृष्टिका लागि तान्त्रिक पूजा गर्ने प्रचलन छ। पोखरीमा रहेको शिवलिङ्गमा जल चढाई पिएमा घाँटी दुखेको रोग निको हुन्छ भन्ने जनविश्वास रहेको स्थानीय बुढापाका बताउँछन्। रासस