नेपाल इन्जिनियर्स एसोसिएसनको ३१औँ कार्यकारिणी समिति तथा नेपाल इन्जिनियरिङ परिषद्का सदस्यको आज नयाँ नेतृत्वका लागि निर्वाचन हुँदैछ।
नयाँ नेतृत्वका लागि अहिले बिहान ८ बजेदेखि काठमाडौँसहित देशभरिका जनकपुर, विराटनगर, हेटौँडा, भरतपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढीमा एकै दिन निर्वाचन हुँदैछ । काठमाडौमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा बिहान ८ बजेदेखि निर्वाचन भईरहेको निर्वाचन समितिका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी गराए।
उनका अनुसार निर्वाचनको समय अहिले बिहान ८ देखि बेलुका ६ बजेसम्म राखिएको छ। तीन वर्षका लागि हुन थालेको निर्वाचनमा अध्यक्षका लागि प्रगतिशील तथा पेसागत इन्जिनियर्स समूहबाट डा सुमित्रा अमात्य, लोकतान्त्रिक इन्जिनियर्स समूह हरेराम श्रेष्ठ र नेपाल राष्ट्रिय इन्जिनियर्स समूह डा जगतकुमार श्रेष्ठ तथा अन्य समूहबाट लक्ष्मीप्रसाद देवकोटा र रवीन्द्र फुर्जु नयाँ नेतृत्वका लागि चुनावी मैदानमा छन्।
अध्यक्ष, उपाध्यक्ष, महासचिव, उपमहासचिव, कोषाध्यक्ष र १० जना सदस्य तथा परिषद्मा पाँच गरी कुल २० जनाको निर्वाचन हुँदैछ। निर्वाचनमा कार्यकारणी समितिमा ७५ र परिषद् सदस्यका लागि २२ जनाले उम्मेदवारी दिएका छन्।
विसं २०१९ मा स्थापित एसोसिएसनमा अहिले करिब १२ हजार १३५ मतदाता रहेको निर्वाचन समितिका अध्यक्ष पौडेलले बताए। उनले निर्वाचन सम्पन्न भइसकेपछि मतगणना आजै हुने जानकारी गराए। रासस