सम्माननीय प्रधानमन्त्री प्रचण्डज्यू,
नमस्कार,
बेला बेलामा तपाईंलाई खुला पत्र लेखिरहन्छु। तपाईलाई मात्र हैन, नेपालका धेरै शीर्ष नेताहलाई खुला पत्र लेखिसकेको छु। यसो गर्नु मेरो रहर हैन बाध्यता मात्र हो। नागरिकले गर्ने खबरदारी हो, किनकि लोकतन्त्र पछि नागरिकले पाएको यही एउटा लेख्न र बोल्न न हो। त्यही अधिकारको शालीन उपयोग गरिरहेको छु।
म तपाईंहरुले रचेको जनयुद्दको चर्चा गर्दिन।
जनयुद्द जे जस्तो भएपनि गणतन्त्र पश्चातको यो नेपाली आकासमा छाएको शान्तिका मधुर किरण प्रति अझै पनि आशावादी छु। अझै पनि राजनीतिले नै देश बनाउँछ भन्ने विश्वास छ मलाई।
सम्माननीय प्रधानमन्त्रीज्यू,
नेपाली राजनीतिमा तपाईंको योगदानलाई म नजर अन्दाज गर्न चाहन्न। घर डढाएपछिको खरानीको त काम लाग्छ भने तपाईं त जनताका प्रतिनिधिले पत्याएको प्रधानमन्त्री। त्यो पनि देशको कार्यकारी प्रमुख। तपाईंबाट तपाईंका विरोधीले त धेरै कुरा सिक्न सकेका छन् भने म त तपाईंको व्यक्तित्वको फ्यान नै हो। आफूले मन पराउने मान्छेले भरसक कमजोरी नगरोस् भन्ने लाग्ने रहेछ। मलाई पनि त्यस्तै लाग्यो अनि खुला पत्र लेखेँ।
तपाईं कुन परिस्थितिमा प्रधानमन्त्री हुनु भयो, त्यो कुरा मैले कोट्याउन जरुरी ठान्दिन। तपाईंले के के कुरा पूरा गर्ने प्रतिवद्दता गर्नुभयो, त्यो पनि म महत्वपूर्ण ठान्दिन। तर, तमाम अनपढ र गरीब भएको हाम्रो देशका साधारण जनताले समेत खुट्याउन सक्ने एउटै कुरा मलाई पनि चित्त बुझेन, जसलाई म तपसीलमा लेख्न चाहन्छु।
म बिषय वस्तुमा प्रवेश गर्न चाहन्छु: तपाई प्रधानमन्त्री हुनुभयो र सपथ ग्रहणमा जानुभयो। ईश्वरका नाममा तपाईंले सपथ खानुभएन। ठिकै छ तपाईं भौतिकवादी नै हुनुहुँदो रहेछ।
रह्यो कुरा जनताको नाममा कसम खाने: त्यो त आफ्नो छातीमा हात राखेर सोच्नुहोला जनताका लागि के के गर्नु भो भनेर!
यी कुरा अहिलेको विषयवस्तु होइन। अहिलेको मेरो प्रमुख चासोको विषय भनेको तपाईंको पहिरन हो। दौरा सुरुवाललाई सामन्तीको पोशाक भनेर तपाईंले सपथ ग्रहणमा त लगाउनु नै भएन र भारत भ्रमणमा पनि लगाएको देखिएन।
तपाईं १२५ जनाभन्दा बढीको जम्बो टोली लिएर भ्रमणमा जानुभएको रहेछ। सबैको चित्त बुझाउन राज्यकोषबाट २२ करोड बढी खर्च गर्नुपर्यो होला। अरु प्रधानमन्त्रीले पनि गरेकै हुन्। तपाईं मात्रै किन पछि पर्ने? तर त्यति धेरै भ्रमणदल जाँदा पनि म खुशीले गदगद् भएँ, किन थाहा छ? तपाईंकै पछि पछि जानेमध्ये धेरैले दौरा सुरुवाल लगाएका थिए। तर, मेरो आशाको केन्द्रविन्दु राष्ट्रको कार्यकारी, जनताले सबैभन्दा नजर राखिरहने तपाईं जस्तो शालीन मान्छे सुटबुटमा सजिएर हाँसको बथानमा बकुल्लो देखिँदा मन भत्भति पोलेर आयो। अझ तपाईंको सुटमा भादगाउँले टोपीको कम्बीनेसन हेर्न लायक देखिएको छ।
अर्को पट्टि हेरेँ भारतीय प्रधानमन्त्री मोदी कुर्ता पाईजामामा थिए। मैले बुझ्न सकिन: त्यो विदेशी सुट पाईन्टमा भादगाउँले टोपी के को पहिचान हो? कस्तो फ्यूजन या क्रम भंग हो?
हुन त सामाजिक संजालमा प्रधानमन्त्रीको भन्दा प्रधानमन्त्री पत्नीले बस्दा उठ्दा र अन्य गतिविधिमा समेत आफ्नो ईज्जत राख्न सकिनन् भन्ने टिप्पणी आइरहेका छन्।
तर मेरो गुनासोको केन्द्रबिन्दु भनेको तपाईंको पहिचान बिनाको पहिरन हो। तपाईंको पोशाकमा न पहिचान छ, न त आर्थिकरुपमा मितव्ययीता, न नेपालको प्रतिनिधित्व गर्ने कुनै अंश। मलाई तपाईं नै बुझाइदिनुहोस् यो कस्तो पहिचान हो प्रधानमन्त्रीज्यू ?
नेपालका सबै प्रधानमन्त्री दिल्ली जाने कारण सबै जनताले जानिसकेका छन्। देशलाई अर्थदेखि राजनीतिसम्म अस्थिर र परनिर्भर बनाउँदै सधैँभरि हिरा दिने र फलाम लिने होडबाजीमा तपाईंले के लिनुहुन्छ र के दिनुहुन्छ हेर्दै गरौँला।
तर पहिचानको नाममा विदेशीको पोशाक लगाएर नेपाल र नेपालीको अपमान नगर्नुस्। तपाईंलाई दौरा सुरुवाल लगाउन मन नलागे मधेसमा लगाईने धोती र कुर्ता वा हिमालमा लगाउने बख्खु लगाउन सक्नुहुन्छ नि। पूरा नेपालको नहोला तर नेपालको एउटा क्षेत्रको पहिचान त हो।
अन्तमा,
तपाईंको भारत भ्रमण फलदायी रहोस्। देशलाई अहित हुने सन्धि सम्झौता गरेको सुन्न नपरोस्। तर यी सबैका बीच नेपाली पोशाक लगाउँदा तपाईंको उचाई घट्ने छैन बरु बढ्ने छ।