नेपाली काँग्रेसको भगिनी संस्था नेपाल महिला संघमा नयाँ नेतृत्व चयनका लागि मतदान भएको छ ।
काठमाडौंमा जारी तेस्रो राष्ट्रिय महाधिवेशनअन्र्तगत अध्यक्ष, महासचिव, कोषाध्यक्ष र सदस्यमा आवश्यक पद संख्याभन्दा बढीको उम्मेद्वारी परेपछि शुक्रबार अपरान्ह १२ बजे मतदान सुरु भएको हो।
बिहान साढे ९ बजे सुरु हुने भनिएको मतदान एजेन्ट जुटाउन भएको ढिलाइका कारण निर्धारित समयभन्दा अढाइ घण्टा ढिला सुरु भएको थियो।
महाधिवेशनमा करिब २ सय २ सय प्रतिनिधि रहेकामा मतदान चाँडो सक्नका लागि ३५ वटा भोटिङ मेसिनको व्यवस्था गरिएको थियो। मतदान निर्धारित समयभन्दा ढिला सुरु भएपनि रातीसम्म मत परिणाम सार्वजनिक गर्ने निर्वाचन समितिका संयोजक यदुनाथ खनालले बताए।
अध्यक्षका लागि पार्टी सभापति शेरबहादुर देउवा पक्षबाट उमा रेग्मी तथा रामचन्द्र पौडेल पक्षबाट मीना पाण्डे चुनावी प्रतिस्पर्धामा छन्। यस्तै देउवा र पौडेल पक्षले महासचिव र कोषाध्यक्षमा पनि अलग अलग उम्मेद्वार उठाएका छन्। पदाधिकारीका अलावा २२ जना खुला केन्द्रीय सदस्य, २१ जना प्रदेश सदस्य, ३ जना दलित सदस्य, ३ जना आदिवासी जनजाति सदस्य, ३ जना मधेशी सदस्य र १ जना मुस्लिम सदस्यका लागि १ सय ३३ उम्मेद्वार प्रतिस्पर्धामा छन्। निर्वाचनबाट ५६ जना चुनिनेछन् भने बाँकि ९ सदस्य मनोनित गरिने महिला संघले जनाएको छ।