काभ्रेपलाञ्चोकको दुर्गम क्षेत्र मानिने महाभारत शृङ्खला डाँडापारि गाविसका बासिन्दाले उमेर बढाएर राहदानी बनाउन थालेका छन्।
आर्थिक अवस्था कमजोर भएका परिवारले वैदेशिक रोजगारीका लागि त्यसरी राहदानी बनाएको डाँडापारि गाविस मिल्चेका प्रेम तिमल्सिनाले जानकारी दिए। “विद्यालय गए पनि शैक्षिक योग्यताको प्रमाणपत्र पेस नगरी जन्मदर्ता सच्याएर बनाउने र त्यसकै आधारमा नागरिकता लिएर राहदानी बनाउने परम्परा जस्तै भएको छ” उनले भने।
डाडाँपारिस्थित गोकुले गाविसका सचिव नुमानन्द अधिकारीले काठमाडौँमा इँटाभट्टामा काम गर्न र वैदेशिक रोजगारीका लागि १४ वर्षमुनिका युवा नागरिकता तथा राहदानीका लागि गाविसमा धाउने गरेको स्वीकार गरे । उनले एक युवकलाई दुई वर्षपछि आउनू भन्दै फर्काइएको जानकारी दिँदै अझै पनि अधिकांश साना साना देखिन्छन् तर पहिले नै जन्म दर्ता गरेर आएका हुन्छन् भने।
जिल्ला प्रशासन कार्यालय, धुलिखेलका अनुसार आव २०७२÷०७३ मा राहदानी बनाउन ११ हजार ५८१ जनाले फाराम भरेका छन् भने द्रुत सिफारिस लिनेको सङ्ख्या पाँच हजार २३० छ । राहदानी बनाउनेमध्ये ९० प्रतिशत मात्रै युवा छन् । रासस