प्रेस काउन्सिल नेपालले ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कृत गरेको छ । काउन्सिलले आफ्नो ४७ औं वार्षिकोत्सवका अवसरमा बिहिबार काठमाडौमा एक समारोहबीच ३२ जना पत्रकार र एउटा संचार माध्यमलाई पुरस्कारस्वरुप ५ लाख ५० हजार रुपैयाँ प्रदान गरेको हो । काउन्सिलले गोपालदास पत्रकारिता पुरस्कार प्रधानमन्त्री पुष्पकमल दाहालका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई दिएको छ।
एक लाख ५ हजार रुपैयाँ राशीको पुरस्कार राष्ट्रपति विद्यादेवी भण्डारी र सूचना तथा संचार मन्त्री राम कार्कीले प्रदान गरे। प्रेस काउन्सिलले संचार मन्त्रालय सम्हालेका मन्त्रीको पार्टीमा आवद्ध पत्रकारलाई गोपालदास पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको छ। यो पुरस्कार गत वर्ष नेपाली काँग्रेसमा आवद्ध उदयपुरका पत्रकार कौशल चेम्जोङलाई प्रदान गरिएको थियो।
यस्तै, १ लाख ५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार परशु घिमिरेलाई प्रदान गरिएको छ। घिमिरे नेपाली काँग्रेसमा आवद्ध पत्रकार हुन्।
२५ हजार रुपैयाँ राशीको प्रेस काउन्सिल आचारसंहिता पुरस्कार बुटवल टुडे दैनिकलाई प्रदान गरिएको छ भने १५ हजार रुपैयाँ राशीको स्तम्भ लेखन पुरस्कार कृष्णमुरारी भण्डारी, गोविन्दप्रसाद भट्टराई र दयाराम डांगीलाई दिइएको छ। १५ हजार रुपैयाँ राशीको साहित्यिक पत्रकारिता पुरस्कार विवश वस्तीलाई तथा त्यति नै राशीको भाषागत पत्रकारिता पुरस्कार गोपाल छाङ्छा राईलाई दिइएको छ।
सशक्त संचारकर्मी पुरस्कार पवन आचार्य, डीआर पन्त, डा. राजेश झा अहिराज र महेश दास तथा समावेशी पत्रकारिता पुरस्कार लक्ष्मीकुमारी चौधरी, सुशील दर्नाल, रोशन सावाँ, माधवप्रसाद चौंलागाईँ विष्णुलाल बुढा र शीतल महतोलाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ।
महिला सशक्तिकरण पत्रकारिता पुरस्कार दुर्गा भण्डारी, मनिषा श्रेष्ठ र कविता थापा, क्रियाशिल पत्रकारिता पुरस्कार विनोद शाही, प्रदीपराज वन्त र शेखर अधिकारी तथा सशक्त लेखन पत्रकारिता पुरस्कार रिषव गौतम, मोतिराम तिमिल्सना, प्रकाशकुमार खतिवडा र गणेश लम्साललाई दिइएको छ। दुवै पुरस्कारको राशी जनही १० हजार रुपैयाँ रहेको छ। १० हजार रुपैयाँ राशीको युवा सशक्तिकरण पत्रकारिता पुरस्कार श्यामसुन्दर यादव, भुवन शर्मा, लेखनाथ न्यौपाने, हेमन्तकुमार पौडेल र उपेन्द्रराज केसीलाई प्रदान गरिएको छ । पुरस्कृत सबैलाई नगद रकम र प्रमाणपत्र प्रदान गरिएको थियो।