आइतबार बिहान सिंगापुरको चांगी विमानस्थल। उड्नका निम्ति २० मिनेट मात्रै बाँकी छ। यता म बोर्डिङ पास लिन बसेको लाइनै आधा घन्टाभन्दा बढी लाग्लाजस्तो देखियो। कुरा नबुझेपछि मैले अगाडिको स्क्रीनमा लेखिएका विवरण सर्सती पढेँ। जाने ठाउँ त उही हो, क्वालालम्पुर। विमान पनि उही। तर, यो मलेन्दो एयरको विमान नम्बर किन फरक छ?
छेउमा उभिएका एक कर्मचारीलाई बोलाएर जिज्ञासा राखेँ। उनी मेरो टिकट हेर्न थाले।
‘ओह् माइ गड्, यो प्लेनका यात्रुहरु त अघि नै गइसके,’ उनले लाइन उभ्याउन घेरा लगाएको ठाउँको बेल्ट उघार्दै भने, ‘लौ यताबाट आउनुस्।’
मलाई पछि पछि कुदाउँदै उनले सोझै काउन्टरतर्फ लगे। काउन्टरमा बसेका मानिसले मेरो कुरा सुन्नेबित्तिकै अगाडिका कागजपत्र पल्टाउने र कम्प्यूटरका माउसहरु कुदाउने गर्न थाले।
‘सरी तपाईँको गेट क्लोज भइसक्यो,’ ती युवकले अप्रत्याशित र अत्यन्त नमिठो जवाफ दिए, ‘अब भित्र पठाउन मिल्दैन।’
म खंग्रङ्ग भएँ। अचानक ओठ मुख सुकेर प्याक् प्याक् हुन थाल्यो। सिंगापुर सहरदेखि असाध्यै भारी झोला बोकेर तीनवटा रेल (एमआरटी) परिवर्तन गर्दै त्यहाँसम्म पुग्दा म असिनपसिन भइसकेको थिएँ। त्यसमाथिको यो जवाफले मेरो अस्थिपञ्जर पनि भुइँचालोका बेला लगलग काँपिरहेको घरजस्तै हुनथाल्यो।
‘केही त गर्नुस्,’ मैले विनम्र हुँदै भनेँ, ‘२० मिनेट पो बाँकी छ त।’
यसअघि झनै ब्यस्त विमानस्थलमा केवल दस मिनेट पहिले पुग्दा पनि म विमान चढ्न भ्याएको थिएँ। त्यहाँ नभ्याउने के कुरा थियो? म जतिसुकै पर डिपार्चर लाउन्ज भए पनि केही मिनटमै कुदेर पुगिहाल्थेँ।
‘सरी,’ उनले चस्माको फ्रेम उचालेर मलाई हेर्दै भने, ‘मिल्दैन।’
‘अब के विकल्प छ त?’ मैले सोधेँ, ‘यो अहिले लाइन लाग्दै गरेको तपार्इँहरुकै अर्को प्लेनबाट पठाउन मिल्दैन?’
‘तपाईँको टिकट सस्तो खाले भएकाले मिल्दैन,’ उनले भने, ‘पैसा तिरेर अर्को काट्नु भयो भनेचाहिँ मिल्छ।’
‘म कुनै पनि हालतले तपाईँको अर्को टिकट काटेर उड्दिनँ,’ भएभरको बल जुटाएर अर्कैतिर लम्कँदै भने, ‘धन्यवाद तपाईँको सेवाका निम्ति।’
***
केही मिटर पर सोधपुछ काउन्टर थियो। मैले त्यहाँ गएर क्वालालम्पुर पुग्ने अन्य विकल्पहरु बारे जानकारी मागेँ। फर्किने बेला क्वालालम्पुरमा बस्नका निम्ति चार दिन छुट्याएकोले मलाई खासै हतारो पनि थिएन।
‘विमानस्थलको अन्तिम बिन्दुबाट तल ओर्लिएपछि सोझै फलानो दिशामा जानुस्,’ सोधपुछका कर्मचारीले भने, ‘त्यहाँ मलेशियाको सीमावर्ती सहर जोहार बारु पुग्ने बस भेटिन्छ।’
मैले उनको सुझाव पछ्याएँ र खुरुखुरु बस चढ्ने ठाउँतिर लागेँ।
मनमा अनेक कुरा खेल्न थाले। अब भने हिजोका दृश्यहरु नाच्न थाले।
पत्रकारितासम्बन्धी एउटा सेमिनारमा भाग लिन म सिंगापुर पुगेको थिएँ। त्यसको समापन शनिबार राति भएको थियो। विदावारी भएर होटलमा पुगेपछि सुतिहाल्न मन लागेन। मैले रक्सीको बोतल निकालेँ।
खासमा मेरा साथीहरुले सिंगापुरमा रक्सी असाध्यै महँगो हुने भएकाले विमानस्थलमै ‘ड्युटी फ्री’बाट आफूलाई चाहिने खुराक लिएर जानु भनेका थिए। यसरी पाँच दिनअघि किनेको त्यो बोतलमा लगभग आधा जस्तै मात्रा बाँकी नै थियो।
मलाई त्यो एक्लैले सिध्याउन सक्छु जस्तो लागेन र केही मित्रहरुलाई उनीहरुको कोठामा फोन गरेर निम्तो दिएँ। प्रायः रात्रीकालीन भ्रमणमा निस्किसकेकाका रहेछन्। भुटानका टासी कोठामा आए पनि पिउँदैन थिए। भियतनामका ने थुइन आउँछु भनेर पनि आएनन्।
मैले एकपछि अर्को पेग लगाउँदै गएँ। बिहान दस बजेर दस मिनेटमा उड्ने प्लेन भएकाले खासै सबेरै उठ्नुपर्ने पनि थिएन। त्यो बोतल कतिबेला सकियो र कति बेला म सुतेँ, याद भएन। होस त त्यतिबेला मात्र तिलमिलाउने गरेर खुल्यो जब हरेक दिनजसो सबेरै उठेर मर्निङ वाक गर्ने मान्छे त्यस बिहान घडी हेर्दा साढे आठ देखाइरहेको थियो। आबुइ... अबको पौने दुई घन्टामा त मेरो प्लेन उड्छ।
एक मन त कुदिहालौं भएको थियो। तर, सोचेँ – यो होटलमा सित्तै मिल्ने यति स्तरिय बिहानी खाजा किन छाड्ने? बरु हतार हतार भ्याइ हाल्छु। यसरी सबै गरेर होटलबाट चेकआउट हुँदा पौने नौ बजिसकेको थियो।
‘यो रक्सीले बडो दुःख दियो’ सिंगापुरका एकपछि अर्का रेलहरु कुद्दै र उफ्रिँदै भ्याउँदा मात्र होइन, प्लेन गुमाएर चांगी विमानस्थलबाट ओर्लदै गर्दा पनि मैले यही सोचिरहेको थिएँ।
***
जे कुरा पनि सर्लक्क मिलेको देखिने सिंगापुर विश्वकै व्यवस्थित सहरमा पर्छ। विमानस्थलबाट बाहिरिएपछिको यो बस (कोच) क्षेत्र पनि त्यत्तिकै रमणीय छ। र, त्यसमा अझ ‘चार चाँद’ लगाइरहेका छन् यी भर्खरका कलकलाउँदा युवा जोडी। उनीहरुको जिस्कने, कुरा गर्ने, हाँस्ने गतिविधिहरु रमाइलो लाग्दै गएपछि मलाई बोल्न मन लाग्यो।
‘हो, जोहार बारु जाने बस यहीँ आउँछ,’ मेरो जिज्ञासामा उनीहरुले भने, ‘हामी पनि त्यतै जाने हो।’
सुरुवात गर्नलाई एउटा गतिलो बहाना मात्र न चाहिन्छ। त्यसपछि त बिस्तारै कुरा अघि बढिहाल्छ।
‘मेरो नाम आरोन हो उनको नाम इस्टर,’ जवाफ दिइसकेपछि आरोनले सोधे, ‘तपाईँ कहाँबाट आउनुभएको?’
‘हँ...’ मेरो जवाफ सुन्नेबित्तिकै उनी दुबै जना झस्के र छेउकी इस्टरतर्फ देखाउँदै भने, ‘उनी गत जुनमा एक साताका लागि नेपाल गएकी थिइन्।’
‘कस्तो लाग्यो त काठमाडौं?’
‘काठमाडौं त कहाँ घुम्न पाएँ र?’ इस्टरले भनिन्, ‘विमानबाट ओर्लने बित्तिकै हामीलाई चन्द्रनिगाहपुर लगियो। एक साता त्यहीँ बसेर फक्र्यौं।’
अब झस्किने पालो मेरो थियो। पर्यटकहरु चन्द्रनिगाहपुर के गर्न जान्छन्? तर, मैले अर्कै किसिमले सोधेँ।
‘हाम्रोतिर मानिसलाई सबैभन्दा रमाइलो मामाघर लाग्छ,’ मैले भनेँ, ‘मेरो मामाघर तपाईलाई कस्तो लाग्यो त?’
‘म घुम्न कहाँ गएकी थिएँ र? म त मेरो चर्चको कार्यक्रममा गएकी थिएँ,’ उनले थपिन्, ‘तर, असाध्यै रमाइलो ठाउँ।’
‘ए भनेपछि तपाई चर्चमा काम गर्नुहुन्छ?’
‘होइन,’ भनिन्, ‘म पेसाले भेटेनेरी डाक्टर हुँ। मैले प्रार्थना गर्ने चर्चको कार्यक्रम त्यहाँ भएकाले सहभागी मात्र भएकी थिएँ।’
अष्ट्रेलियाको मेलबोर्नमा पढ्दै गर्दा सिंगापुरकी इस्टर र सीमावर्ती मलेसियाली सहर जोहार बारुका आरोनको भेट भएको रहेछ। इस्टर भेटनरी र आरोन इन्स्योरेन्सका विद्यार्थी। दुबैको पिरती बसेछ। पढाइ सकिएपछि तीन वर्षअघि इस्टर स्वदेश फर्केर जागिर गर्न थालेछिन् भने आरोन उतै मेलबोर्नमा एउटा इन्स्योरेन्स कम्पनीका जागिरे छन्।
‘म भर्खरै मेलबोर्नबाट आइपुगेको हुँ,’ आरोनले इस्टरलाई सुम्सुम्याउँदै भने, ‘यीनलाई बा आमासँग भेट गराउन जोहार बारु लैजाँदै छु।’
भावी सासू ससुरा भेट्न जाँदै गरेकी इस्टरले जिन्सको हाफपाइन्ट लगाएकी थिइन्। कम्मरभन्दा मुनिको ९५ प्रतिशत भाग देखिने पहिरनलाई हाफपाइन्ट पनि भन्न नमिल्ला सायद। र, त्यही देखिएको भागमा आरोनका हत्केलाले निरन्तर सुम्सुम्याइरहेका थिए। अनि इस्टर पनि घरि घरि आरोनलाई चुम्बन गरिरहेकी थिइन्।
वास्तवमा तन्नेरीहरु बीचको सामिप्यता त यस्तो पो हुनुपर्छ। हामी विश्वका धेरै प्रतिशत मानिसले माया गर्नै जान्दैनौं। हामीले त राम्ररी माया गरेको देख्न पनि कहाँ पाउँछौं र? हिन्दी सिनेमाका चालु निर्देशकले अह्राएको आदेश पालना गर्ने नायक र नायिकाका गतिविधि नै हाम्रो प्रेमालाप देखिने मुख्य श्रोत हो। केटाकेटीमा चुरोट र पिसाब गन्हाउने सिनेमा हलको पर्दामा जितेन्द्रले श्रीदेवीलाई नाच्दानाच्दै स्पर्श गर्दा पनि कम्ता उत्तेजित हुन्थ्यौं हामी?
यसरी सामाजिक बन्धनहरुले घेरिएको निर्देशित मायाका दृश्यबाट निस्केर आरोन र इस्टरहरुलाई देख्नुको पनि आफ्नै आनन्द हुन्छ।
‘नेपालमा बाबुआमाले हेरेपछि बल्ल केटाकेटीको बिहे हुन्छ होइन?’ इस्टरले सोधिन्।
‘हाम्रो समाज बेग्लै हो र हाम्रा प्रेम अनि सन्तुष्टिका मानक पनि अलिक बेग्लै छन्,’ मैले जसोतसो कुरा मिलाउने गरेर जवाफ दिन खोजेँ। इस्टरले यसमा सहमति जनाइन् र आफूलाई नेपाली केटाहरु मन पर्ने जवाफ दिइन्। खोई, के भयो थाहा छैन, अचानक आरोन वीरता प्रकट गर्न थाले।
‘तपाईलाई थाहा छ, म सगरमाथा चढ्न सक्छु नि,’ उनले भने, ‘हाम्रो मेलबोर्नमा सगरमाथा चढाउन लैजानुअघि साइकलमा लामो र कठिन यात्रा गराउने गरिन्छ जसमा उत्तीर्ण हुनैपर्छ।’ यस्तो अनौठो प्रतिस्पर्धामा आरोन कहिले हो सफल भएका रहेछन् र ठाउँको ठाउँ उनकी प्रेमिका र मेरा अघिल्तिर बहादुरी प्रकट गरिहाले।
‘बधाई छ आरोन,’ मैले भनेँ, ‘तर, सगरमाथा चढ्न साइकल लिएरचाहिँ नआउनु नि। त्यता लड्ने ठाउँ धेरै छन्।’ हामी सबै हाँस्यौं।
कुरा गर्दागर्दै वुडल्याण्ड आइसकेको थियो। अर्थात् सिंगापुरको अध्यागमन। रक्सौल र वीरगन्जको सीमानामा हुर्केको मजस्तो मानिसका निम्ति त्यो भन्सार र अध्यागमनको भव्यता बेग्लै थियो। अनि व्यवस्थित पनि। जोहार बारुबाट दैनिक धेरै मानिस सिंगापुर काम गर्न जाँदा रहेछन्। कहिलेकाहीँ त यो बाटोमा लामै जाम लाग्ने गरेको आरोन सुनाइरहेका थिए। केही अघि मात्र छुट्टिएका यी दुबै मुलुकका नागरिकलाई एकअर्काको देश जान भिसा नलाग्ने रहेछ। वुडल्याण्डको अध्यागमन पार गरेपछि हामीलाई ल्याएको बसले फेरि चढायो र अबको यात्रा थियो विशाल जोहार नदीतर्फको। सिर्सिया नदी तरेर रक्सौल पस्दै आएको मनलाई जोहारको विशाल र व्यवस्थितताले पनि उत्तिकै लोभ्याइरहेको थियो। नदी तर्नेबित्तिकै मलेशिया आइपुग्यो।
...
नेपालबाट आएको मानिसलाई त जोहारबारुको यो लार्किन बस टर्मिनल पनि ‘अच्छा’ लाग्दो हो। तर, सिंगापुरबाट पस्नेहरुले भने पक्कै पनि माछाबजारजस्तो भद्रगोल देखेर नाक खुम्च्याउँदा हुन्। सिटी बसबाट ओर्लनेबित्तिकै दलालहरुको ओइरो लाग्न थाल्यो। जता जता गयो त्यतै पछ्याउन पनि थाले। आरोनले उनका पितासँग मोबाइलमा जानकारी मागेपछि मलाई यस बसपार्कका दलालहरुसँग बच्ने सल्लाह दिइसकेका थिए। अब, म किन यी दलालले भनेको मान्थेँ?
आफ्नै सुरले खोज्दै हिँडे। ‘कजवे लिंक’ कम्पनीको एउटा सुविधायुक्त दुई तल्ले बस हिँड्नै लागेको थियो। मैले भित्रै पसेर सोधपुछ गरेँ।
‘सिट सिट सिट,’ त्यसका पोशाक लगाएका चालक र कण्डक्टरले मलाई माथि गएर बस्ने आदेश दिँदै भने, ‘टिकट इन सिट।’
पहिले टिकट देऊ भनेर मागेपछि उनीहरु दुबै एकअर्काको मुखामुख हेर्न थाले। कण्डक्टर त अझै पनि मलाई गएर बस्न अह्राउँदै थियो। तर, चालकले भने परको काउन्टर देखाउँदै ‘टिकट देयर’ भन्यो। अर्थात्, एक पछि अर्को घटनाले अब मलेशियाको बसाइँमा सिंगापुरभन्दा बढी सतर्क हुनुपर्छ भनेर मलाई बुझाइरहेको थियो।
वीरगन्ज–काठमाडौंभन्दा लामो दुरीको यात्रा गर्दैछु। अत्यन्त सफा र आधुनिक बस छ। एयर कण्डिसनको त कुरै भएन। सोफामा बसेको जस्तो सिट पनि एकातिर दुई वटा र एकातिर एउटा मात्र अटाएको छ। अनि यस्तो बसको यात्रा भाडादरचाहिँ वीरगन्ज –काठमाडौंभन्दा पनि सस्तो छ। यो कसरी हुन्छ? नेपाल त्यस्तो गरिब भइकन पनि त्यहाँ उपभोक्तामाथि किन यतिधेरै लुटपाट भइरहेको छ भन्ने कुरा कहिल्यै बुझ्न सकिएन।
जे होस्, बस गुड्न सुरु भयो। झट्ट हेर्दा सिंगापुर र मलेसिया उस्तै उस्तै लाग्छन्। बाटाघाटादेखि छेउका घरसम्म। तर, अलिक गहिरिएर हेर्ने हो भने चाहिँ सिंगापुरजस्तो कालै नभइकन अलिक रंग खुइलिएको पिच, कताकति बाटैमा फालिएको देखिने खाली बोतल र छेउछाउमा नछाँटिएको घाँसलेचाहिँ अन्तर बताइहाल्छ। घरहरु पनि सिंगापुरजस्ता सरक्क छैनन्।
बस एउटा अग्लो पुलजस्तो ठाउँमा पुगेपछि पर क्षितिजमा अग्ला घरहरुको लहर देखियो। मैले आँखैबाट सिंगापुरलाई अन्तिम अभिवादन गरेँ।
मेरो छेउछाउमा अनौठा यात्रीहरु बसेका छन्। मसँगैको सिटमा बस्ने युवकले त जिन्दगीको ९५ प्रतिशत समय मोबाइललाई नै सुम्पेको छ कि क्या हो? छेउमा को आयो? बस्यो? के गर्दैछ? कुनै कुराको मतलबै छैन। त्यही मोबाइल हेरेर घरी हाँस्छ, घरी ठुस्स पर्छ। अनि थाकेपछि फुस्स सुत्छ। उठेपछि फेरि मोबाइलै हेर्छ।
ह्या, उसका छेवैमा बस्ने नेपालबाट आएको मान्छे भर्खर कस्तो भोगाइबाट गुज्रिएको छ। म यतिन्जेल क्वालालम्पुर पुगिसक्नुपर्ने, किन सीमावर्ती जोहारबारु आइपुगेँ? ती सबै कुरा सुनाउन पाए म कस्तो स्वादले भन्थेँ होला। तर, उसलाई के मतलब? ऊ त त्यो मोबाइलको सीमितता भित्रै दंग परेर बसेको छ। हैट्...
बीचको प्यासेजभन्दा ठीक उताको सिटमा चाहिँ एउटी अनौठो पहिरनले छोपिएकी युवती बसेकी छिन्। उनी अत्यन्त भद्र छिन् र चुपचाप बसेकी छिन्। अलिक डल्लो डल्लो ज्यानको र असाध्यै गोरो। उनको शरीरको लगभग सबैजसो भाग छोपिएकै छन्। घाँटी, कान, निधार, कपाल त सर्लक्कै कालो पछ्यौराले छोपेकै थियो। हुँदा हुँदा स्याण्डल भित्रको पैतालामा पनि मोजा पो लगाएकी छिन्। छाला देखिएको भाग भनेकै हातका पन्जा र अनुहारको सानो घेरा। त्यही अनुहारमा पनि चश्मा लगाएकी छिन्। यति थोरै देखिएको भाग यति सेतो छ, लाग्छ उनका नशाहरुमा पनि रगत होइन दुध बग्ने गरेका छन्। अझ छोपिएका ठाउँले जीवनभर घाम नदेखेर कति सेतोपन साँचेर राखेका होलान्...
मलाई यिनीसँग कुरा गर्न मन लाग्यो। तर, के कुरा गर्ने? यस्तो बेलामा अत्यन्तै सतर्क हुनुपर्छ। कुरा यस्तो होस् कि त्यसमा झल्किने अबोधपनाले मप्रति सहानुभूति जागोस्।
‘हैन सिंगापुर र मलेसियाको समयमा यति ठूलो अन्तर छ र भन्या?’ साढे १२ बजे पनि बसको घडीले ३ बजेको संकेत देखाएको प्रति इशारा गर्दै मैले उनलाई सोधेँ।
उनी यस्तरी झसंग झस्किइन् कि मानौ भर्खरै अप्रत्याशित रूपमा कुनै डर लाग्दो कुरा देखेकी छिन्। त्यो अनुहारमा एकसाथ देखिएको त्रास, भद्रता र सेतोपनाबाट रातोतर्फको संक्रमण असाध्यै लोभलाग्दो थियो। एक मन त बिगार पो गरेँ कि जस्तो लाग्यो। त्यसैले ‘सरी’ भन्दै चुप लागेर बसेँ। तर, लगत्तै उनले त्यो दुधालु अनुहारबाट मायालु नजर मतर्फ फालिन्। मैले फेरि सकेसम्म उनीजस्तै विनम्र हुने कोशिश गर्दै अघिको प्रश्न दोहो¥याएँ। घडीतर्फ हेर्दै उनी पनि हाँसिन्।
‘सिंगापुर र मलेशियाको समयमा फरक छैन,’ उनले भनिन्, ‘त्यो घडी बिग्रेको छ।’
घडी बिग्रेको त मलाई पनि थाहै थियो। तै पनि मैले बल्ल जानकारी पाएको जस्तै गरेर हाँसे। उनी फेरि पूर्ववत् बाँकी कुनै कुराको मतलब नराखेर झ्यालतर्फ हेर्दै एकाग्र भइन्।
उनको ठीक पछाडि बसेको केटा अलिक आदिवासी प्रकारको अनुहार बोकेका छन्। ती मलाई घोरिएर हेर्दै छन्। नसिरुद्दीन शाहको नाकलाई गिलो पिठो थिचेजस्तो थेप्च्यायो भने झण्डै यस्तै अनुहार देखिन्छ होला। सायद यी लजालु युवतीसँग मैले बात मारेको यी युवकलाई त्यति चित्त बुझेको पो छैन कि?
के मतलब...
म बस गुज्रँदै गरेको स्थानको दृश्यमा रमाउन थालेँ। ताडका रुखहरुको जंगल सुरु भएको थियो। बिस्तारै उँचो र होचो भूभाग सुरु हुन थाले। पहाड त नभनौं, किनभने ती चुरेभन्दा पनि निकै साना थिए। त्यो सुस्तरी उक्लेको भुइँसँगै उकालो लागेका ताडका रुखहरु विछट्टै सुन्दर देखिँदै थिए। कताकता चारआलीबाट इलामतर्फ उक्लँदा देखिने साइज मिलेका चियाका बुट्यान जस्ता। अनि त्यतैतिर कतै कतै नदी बगेका पनि देखिन्थे।
सुन्दरता दृश्यमा मात्र हुँदो हो त यसभन्दा सायद नेपालका दृश्य कम छैनन् भन्दो हुँ। तर, यति अत्याधुनिक राजमार्गमा अत्याधुनिक बसबाट यात्रा गर्दा कुरै बेग्लै हुँदोरहेछ। ढुँगा गिट्टी टेकेर हिँडिरहेको मान्छे अचानक कपास टेक्न थालेजस्तो।
मलाई फेरि छेउकी युवतीसँग कुरा गर्न मन लाग्यो। तर, गर्ने कसरी? ‘नसिरुद्दीन शाह’ हेरिरहेकै छ। नाजुक चिजहरु चलाउन खुबै होशियारी अपनाउनु पर्छ। तर, चलाइसकेपछि त्यसको आनन्द अरु केहीसँग तुलनै हुँदैन। म रहरबाट मुक्त हुन सकिनँ।
मैले झ्यालबाहिरका रमणीय भूभाग हेर्दै घुमाएको नजर ‘नसिरुद्दीन’को आँखामा लगेर टक्क अड्याएँ र दृश्यबाट प्रभावित हुँदाको हँसिलो मुस्कान फ्याँकेँ। ‘नसिरुद्दीन’ले एकछिन त बडो संकोच माने र अप्ठ्यारोसँग जवाफी मुस्कान फर्काए। मेरो निम्ति यो अचुक मौका थियो।
‘यी नरिवलका रुखहरु गजबको देखिँदा रहेछन्,’ मैले युवतीतर्फ झुक्दै भनेँ, ‘यत्रा धेरै नरिवल यहाँ कसले खान्छ?’
उनी मुसुक्क हाँसिन्।
‘नरिवल कहाँ हो र?’ भनिन्, ‘यि त पाम (ताड)का रुख पो हुन्।’
कत्ति न थाहा नपाएको जस्तै गरेर मैले ‘ओह्’ भन्दै मुसुक्क हाँसे।
नजरका लाख भाषा हुन्छन्। मायालाग्दो अनुहारकी ती युवतीले मतिर हेर्दै ‘कस्तो मुर्ख रहेछ विचरा’ भनेर मुसुक्क हाँस्दा त्यो नजरले एउटा अर्को विशिष्ट भाषा बोलिरहेको थियो। मचाहिँ त्यसैमा रमाइरहेको थिएँ।
हाम्रो बस केही क्षण विश्रामको निम्ति रोकियो। सुविधाजनक शौचालयहरु र खानपिनका पसलहरुले भरिएको ठाउँ थियो। म सरासर शौचालय गएँ। ‘नसिरुद्दीन’ पनि मेरो पछिपछि आए। उनी केही नबोले पनि अनौठा व्यवहार गरिरहेका थिए। जस्तो कि पिसाब फेर्दाफेर्दै पनि यसो यताउता अरुहरुको ‘भेग’ तिर चियाउने। केही थाहा नपाएजस्तो गरेर मैले सुसेल्दै आफ्नो काम सिध्याएँ र बसतिर लागेँ।
बस फेरि कुद्यो। ठाउँ ठाउँमा रमणीय बस्तीहरु देखिन्थे। घरहरु पनि रिसोर्ट जस्ता। कतै कतै भने एउटै आकारमा बनाइएका सयौं घरहरुको कोलोनी पनि देखिन्थ्यो।
‘तपाईँ यता कता नि?’ मैले ती युवतीलाई बिस्तारै जिज्ञासा राखेँ।
‘मेरो घर जोहारबारु हो, कामचाहिँ क्वालालम्पुरस्थित दृष्टिविहिनहरु पढाउने स्कुलमा सहायिकाको गर्छु,’ उनले भनिन्, ‘सप्ताहान्तको बेला बाआमा भेट्न आएकी थिएँ।’
मलेशिया र सिंगापुरमा धेरै किसिमका जातिहरुको बसोबास रहेको र आफू मलेय समुदायको रहेको उनले जनाइन्। यो समुदायका महिलाहरुले नै यस्तो ढाक्ने किसिमको पोशाक लगाउने गरेको पनि उनले जानकारी दिइन्। सबैजना आफ्नो रुचीको पहिरन र जीवनशैलीमा अभ्यस्त रहेकाले एकै ठाउँमा पनि असाध्यै विविधता बोकेका मानिसहरु देखिन्छन् यहाँ।
मलाई उनको तस्बिर खिच्न मन लाग्यो। अनुमति माग्दै मोबाइल उठाएँ।
‘नो, नो फोटो प्लीज...’ उनले भनिन् र मैले भद्रतापूर्वक मोबाइल गोजीमा राखेँ।
बस क्वालालम्पुरको टर्मिनलमा अडिसकेको थियो। हामी सबै धमाधम ओर्लियौं। ‘नसिरुद्दीन’ पनि आफ्नै सुरमा हिँडिसकेपछि म ती युवतीको नजिक पुगेँ।
‘यत्रो कुराकानी गर्यौं, तपाईको नाम पनि थाहा भएन हगी?’ मैले भने।
‘मेरो नाम अजिरा राम्बी हो,’ उनले मुस्काउँदै जवाफ दिइन्।
‘ओह्...म गिरीश, नेपालबाट घुम्न आएको...’ मैले मिलाउनका निम्ति हात अघि बढाउँदै भनेँ।
उनले मेरो उठेका हाततर्फ हेर्दै अप्ठेरो मानिन्। एकछिन के गर्ने र कसो गर्नेको दोसाँधमा पुगिन्। मेरो हात उठेकै थियो। उनी पनि अर्कोतर्फको रेल चढ्नका निम्ति मोडिनै लागेकी थिइन्। हतारोकै बीचमा उनले लजाउँदै हात उठाइन्। मैले च्याप्प मिलाएँ। हात जति सेतो थियो त्यत्तिकै कमलो पनि रहेछ।
त्यसको प्रभावचाहिँ अनुहारमा देखिँदै थियो। हो, नशामा दुध होइन रगत नै बगेको रहेछ। असाध्यै धेरै रगत...
च्याप्प पारेको माछो एकैछिन फट्फटाएर उम्केजस्तो त्यो हात लगत्तै अलग भयो। हामी फरक गन्तब्यका निम्ति छुट्टियौं।