नेपाली जनआन्दोलनको इतिहासमा १ पुस २०१७ सालको शाही कदम कठोर कुठाराघात थियो। राणा शाहीका अवशिष्ट शक्ति त्यसपछि ब्युँझिएका र मौलाएका थिए। तर यसको प्रतिरोध पनि उस्तै जबरजस्त थियो। झन्डै सिङ्गो मध्यमवर्ग राजा महेन्द्रको तानाशाही कदमले क्षुब्ध थियो। यसै वर्गको गर्भबाट प्रजातान्त्रिक नेतृत्वको आगामी पुस्ता जन्मियो।
हरिहर विरही यसै पुस्ताका एक सदस्य हुनुहुन्छ ।
२०३६ सालको जनमत सङ्ग्रहमा बहुदलीय पक्ष पराजित भयो। त्यस पराजयपछि हरिहर विरहीले पत्रकारितालाई आफ्नो कार्यक्षेत्र बनाउनुभयो। पत्रकारिताका माध्यमबाट उहाँको सङ्घर्षशील प्रवृत्तिले सृजनात्मक अभिव्यक्ति प्राप्त ग¥यो। तदनुरुप हरिहर विरहीजीले परिष्कृत एवं परिमार्जित शैलीमा आफ्ना संस्मरण प्रस्तुत गर्नुभएको छ।
२०१७ मा राजा महेन्द्रले प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालालाई सैन्य शक्ति प्रयोग गरेर गिरफ्तार गरे। झन्डै आठ वर्षपछि २०२५ कात्तिक १४ का दिन कोइराला कारागारमुक्त हुनुभयो। स्वास्थ्योपचारको अलमल र यताउतिपछि उहाँले सशस्त्र क्रान्तिको अनिवार्यताको आह्वान गर्नुभयो। त्यस आह्वानको राजनीतिक औचित्य के थियो, त्यो बेग्लै कुरा हो। तर त्यस आह्वानले हरिहर विरही र केशव कोइराला जस्ता भावुक स्वप्नदर्शीलाई क्रान्तिकारी बनायो। त्यस दृष्टिले हरिहर विरहीको यो संस्मरण नेपाली क्रान्ति कथाको एउटा अध्याय हो।
संस्मरण वा आत्मकथा खतरनाक विधा हो। समीक्षकले यस विधाको विश्वसनीयताका उपर प्रश्नचिह्न लगाएका छन्। एक त मानिस आफैंलाई चिन्दैन। हाम्रा शास्त्रले अन्तर्मनको दुर्बोध्यतालाई कर्मको बन्धन भन्थे। आधुनिक मनोविज्ञानमा अचेतन र अवचेतनको धारणाले सम्मान पाएको छ। तद्नुरुप हरिहर, केशव वा राम–लक्ष्मण जस्ता युवा आत्मोत्सर्गको बाटोमा किन र कसरी हाम्फाल्छन्, यो प्रश्न सधैं गवेषणीय रहेको छ। त्यस्ता जिज्ञासुका निमित्त यो एक पठनीय कृति हुनेछ।
राजा महेन्द्रको २०१७ सालको शाही कदमले नेपाली काङ्ग्रेससहित सबै पार्टीलाई प्रतिबन्धित गरेको थियो। काङ्ग्रेस मुख्यतः मध्यम वर्गको पार्टी थियो। सिङ्गो मध्यम वर्गले राजा महेन्द्रको शाही कदमको प्रतिरोध गरेको थिएन। एउटै परिवारका दुई सदस्य कोही राजापट्टि थिए भने कोही प्रजासँग लागेका थिए। प्रत्येक वर्ग, जातिसमेत व्यवस्थाको प्रश्नमा विभक्त थियो। दिवानसिंह राई सुन्दरीजल कारावासमा थिए भने उनका पिता पञ्चायत व्यवस्थाको गुणगान गर्दै थिए। हरिहर विरहीको मावली खलक पनि अपवाद थिएन। एक जना मामा जिल्ला पञ्चायत सभापति थिए भने अर्का मामा विरहीका क्रान्तिकारी गुरू थिए।
अद्भुत थिए ती गुरू। उनको नाम बोधप्रसाद उपाध्याय थियो। बोधप्रसादले २००४ सालमा बिपी र किसुनजीलाई काठमाडौंको पहाडी बाटो देखाएका थिए। बोधप्रसाद २०१५ सालको संसद्मा महासभाका सदस्य भए। काङ्ग्रेसको पटना सम्मेलनमा महेन्द्रनारायण निधि र उनले सँगसँगै सशस्त्र सङ्घर्ष नीतिको विरोध गरेका थिए। मौका पाउनै हुँदैनथ्यो, उनी आन्दोलन गर्न कस्सिन्थे। पञ्चायती पुलिसले पनि उनलाई ‘पटके’ मा दर्ता गरेको थियो। वैशाख २०२७ मा नेविसङ्घ स्थापना भयो। स्थापना क्रममा विद्यार्थी नेताहरु पक्राउ परेका थिए। बोधदादाले, (सबैले उहाँलाई यसै नामले बोलाउँथे) हरिहर विरहीलाई धिक्कार्नुभयो–साथीहरु जेल पर्ने, तिमी जनकपुरेहरुचाहिँ रमिता हेरेर बस्ने, धिक्कार छ!
अनि जुलुस निस्कियो। बोधदादा घोडा चढेर जुलुसको अघिपछि गर्दै हौसला बढाउँदै हुनुहुन्थ्यो। जे हुनु थियो, त्यही भयो। बोधदादा लगायत विद्यार्थी समातिए। पछि बोधदादा लगायत सबै विद्यार्थी काठमाडौं चलान गरिए। केन्द्रीय कारागारमा विश्राम गरिरहनुभएका किसुनजीले बोधदादालाई प्रशंसात्मक शैलीमा भन्नुभयो–यसपटक त जालमा धेरै मछली परेछन्।
निश्चय नै यस्तै मछलीहरुले आफ्नो ज्यान–जवानी उत्सर्ग गरेर २०४७ सालको परिवर्तनलाई सम्भव बनाएका थिए।
मैले बोधदादालाई पहिलो पटक आफ्नै घरमा देखेको थिएँ। २०१५ सालको आम चुनावको तात्तातोमा एउटा जिप हररर हाम्रो सिरहा बस्तीपुरस्थित कचहरी घरमा आएर अडियो। सधैंझैं थोरै गाउँले धेरै केटाकेटी जिपका वरिपरि झुम्मिए। जिपमा विश्वेश्वरप्रसाद कोइराला हुनुहुन्थ्यो। घरमा कोही लोग्ने मानिस थिएनन्। तर विश्वेश्रप्रसाद कोइराला यस घरमा पहिलो पटक आउनुभएको थिएन। दोस्रो, उहाँका सहयात्री बोधप्रसाद उपाध्यायका निमित्त यो आफ्नै छोरीको घर थियो। उहाँकी भतिजी यसै घरकी जेठी बुहारी थिइन्। जिपका यात्री सहज रुपमा आँगनमा पसे, कोठीमा बसे। अलि टाढैबाट मेरी आमाले आगन्तुकमध्ये एकलाई औंल्याउँदै भन्नुभयो–ऊ बोधकाका। काकासँग छोरीको सङ्कोच हुने कुरो भएन। त्यस परिचय मात्रले पनि बिपीको दिवाभोजलाई सजिलो बनाएको थियो।
मैले बोधप्रसाद उपाध्यायलाई पहिलो पटक त्यसै दिन देखेको थिएँ। तर त्यो आखिरी पटक थिएन।
बोधदादाका आँखा सधैं एकाग्र, राता–रसिला रहन्थे। त्यस्ता आँखालाई रक्तवर्णी भनिन्छ। उहाँको बोलीमा निर्भीकता र आवेगको सम्मिश्रण थियो। उहाँ सधैं विद्यार्थी र तन्नेरीसँग सङ्गत गर्नुहुन्थ्यो। साँचो अर्थमा उहाँ छात्र नेता हुनुहुन्थ्यो। भविष्यका प्रति सधैं लापर्वाह–चिरतरूण हुनुहुन्थ्यो। हरिहरजीले बोधप्रसादको व्यक्ति चरित्र प्रस्तुत गर्नुभएको छ। त्यो पढेर म रोमाञ्चित भएँ। यस चरित्रका निमित्त हरिहरजीले पर्याप्त शब्द खर्चनुभएको छैन। उहाँले अझ केही लेख्नुभएको भए राम्रै हुन्थ्यो। बोधदादा उपर लेखिनुपर्ने धेरै पक्ष र प्रसङ्ग छन्।
बिपी कोइराला आधुनिक नेपालको इतिहासका सर्वश्रेष्ठ पुरूषका रुपमा प्रतिष्ठित भइसक्नुभएको छ। उहाँको व्यक्तित्व राजनीतिमा मात्र अटाएको थिएन। राजनीतिक दृष्टिले उहाँको व्यक्तित्वको मूल्याङ्कन गर्दा उठ्नैपर्ने थुप्रा प्रश्न छन्। आफ्ना घटना बहुल राजनीतिको उत्तरार्धमा बिपी अनेकन बाङ्गाटिङ्गा, उज्याला–अँध्यारा गोरेटोबाट हिँड्न बाध्य हुनुभएको थियो। सशस्त्र क्रान्तिको आह्वान गरेर करिब आठ वर्ष हिन्दुस्तान रहनुभएका बिपी कोइरालाले हठात् नेपाल फर्कने निर्णय गर्नुभएको थियो।
त्यस अवधिमा एक होइन, अनेकन नेपाली युवाले बिपीको क्रान्ति आह्वानको बाटोमा ज्यान बलिदान गरेका थिए। त्यस्ता बलिदानीमध्ये हरिहर विरहीका अभिन्न मित्र केशव कोइराला अग्रगण्य थिए। बिपी कोइरालाको प्रत्यागमनको निर्णय प्रक्रियासमेतले विरही र गणेश नेपाली जस्ता आदर्शवादी अनुयायीलाई स्तब्ध बनाएको थियो। विरहीले त्यस परिघटनाको सङ्क्षिप्त तर मार्मिक झल्को पेस गर्नुभएको छ।
त्योभन्दा आठ वर्षअघिको कुरा हो, हामीले बनारसमा प्रजातान्त्रिक समाजवादी युवा दल स्थापना गरेका थियौं। नेपाली काङ्ग्रेसको सहयोगीका रुपमा स्थापना भएको त्यो संस्थाको सङ्गठन र प्रकाशनको काम हामी जोडदार ढङ्गले गरिरहेका थियौं। त्यही अवस्थामा स्वयं म र मेरो पुस्ताले यस्तै विस्मय र विसादका साथ १५ मई १९६८ (२०२५ जेठ २) को सुवर्णशमशेरको वक्तव्य सुनेका थियौं। यी दुवै घटनाले तत्कालीन नेपाली काङ्ग्रेस पार्टीको निर्णय प्रक्रियाको दिग्दर्शन गर्छ।
प्रतिबन्धित कालमा काङ्ग्रेस हाकाहाकी नेतावादी पार्टी भएको थियो। यता आएर यस पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुँदैछ। तर पनि अतीतको अवशेष अझै बाँकी छ। त्यसका प्रति काङ्ग्रेसको युवा पुस्ताले सचेत हुनुपर्छ भन्ने सन्देश बोकेको छ हरिहरको विरहले।
बिपी कोइरालाले सशस्त्र क्रान्तिको आह्वान गर्नु र ओखलढुङ्गा काण्डसँग संलग्न हुनु उहाँको व्यक्तित्वको एउटा दुर्बोध्य पक्ष रहेको छ। तिनताका हामी लाटाबाठा सबैथरिका भावुक युवक उहाँका उपर अगाध विश्वास राख्थ्यौं। हामी उहाँको आह्वानमा कुद्यौं। केशव कोइराला सहिद हुनुभयो, हरिहरजीलाई त्यसको ईष्र्या भइरह्यो। भूपि शेरचनले सहिदलाई सम्बोधन गरेर लेखेका छन् ः मरेर जानुभन्दा बाँच्नु ज्यादा कठिन छ। बाँच्नुभएका विरहीजीले आफ्ना कठिनाइहरुको ज्यादा वर्णन गर्नुभएको छैन। विरहीजीले प्रकारान्तर बिपीको क्रान्ति आह्वानको औचित्यका उपर गम्भीर प्रश्नचिह्न लगाउनुभएको छ।
यताका वर्षहरुमा आएर बिपी र सुवर्णका केही पत्राचार फेला परेका छन्। त्यस्ता केही चिठी यज्ञराज आचार्यले सुवर्ण शमसेरको अप्रकाशित दस्तावेजमा सङ्कलन गरेका छन्। त्योबाहेक बिपीको त्यो कालावधिलाई भोला चटर्जीले आफ्ना अन्तर्वार्ताहरुमा सविस्तार अगाडि ल्याउनुभएको छ। हरिहर विरहीजीले त्यस्ता सामग्री अध्ययन गर्न भ्याउनुभएको छ/छैन, थाहा भएन। सुवर्णजीलाई लेख्नुभएको चिठी र भोलासितको कुराकानीले एउटा कुरो प्रस्ट पारेको छ ः निर्वासित बिपीले विभक्त मानसिकताका साथ क्रान्तिको कुरा गर्नुभएको थियो। तर एउटा सिङ्गो पुस्ता त्यसको भूमरीमा अल्मलियो। इतिहासकारले ढिलोचाँडो त्यसको गहन अध्ययन गर्नेछन्। त्यस्तो कुनै पनि अध्ययनका निमित्त विरहीजीको यो पुस्तक अनिवार्य सन्दर्भ ग्रन्थ हुनेछ।
नेपाली काङ्ग्रेसको इतिहासमा १९६८ देखि १९९० सम्मको कालखण्ड अपेक्षाकृत कम अध्ययन गरिएको विषय छ। अझ त्यसमाथि पनि कोइरालाको क्रान्ति आह्वानको यथार्थ र निहितार्थका तर्फ कसैको ध्यान गएकै छैन। सामयिक नेपाली राजनीतिका पात्रलाई ती पुराना घटना सम्झना छ÷छैन? सम्झना भएकालाई पनि ती घटना महवपूर्ण लाग्दैन होला। तर त्यो होइन। इतिहासले जानीनजानी हामी सबैलाई पछ्याइरहेको हुन्छ। हामीमा यथेष्ट चेत हुँदैन। यताका दिनमा भेटेका–पढेका कृतिमा मैले यत्तिको वस्तुनिष्ठ संस्मरण अद्यावधि पढेको छैन। त्यसो हुँदा त्यस कालखण्डको भावी अध्येतालाई यस पुस्तकले विश्वसनीय पाराले डो¥याउनेछ।
प्रत्यागमनपछिको बिपीको अभिव्यक्ति र क्रियाकलापका प्रति हरिहर विरही ज्यादा मुखर हुनुहुन्न। एकातिर उहाँ मोहभङ्गको मनस्थितिमा हुनुहुन्थ्यो। अर्कातिर बिपीप्रतिको श्रद्धा तुरिएको थिएन। २०३६ सालको जनमत सङ्ग्रहको दर्मियान भएका घटनाहरुका थोरै विवरण यहाँ उपलब्ध छ। त्यस सिलसिलामा विरहीजीले इन्द्रदेव सिंहको लाठी प्रसङ्गबाट बिपीको मनस्थितिको राम्रो परिचय दिनुभएको छ, थोरै शब्दमा तर घटनाका माध्यमबाट हाम्रा राष्ट्रिय व्यक्तित्वको उद्घाटन गर्नुभएको छ।
प्रसिद्ध कलाकार नन्दलाल वसुले मुस्किलले तीनचार वटा रेखा प्रयोग गरेर गान्धीको अनुपम चित्र बनाएका थिए। मात्र तीनचार वटा घटना उल्लेख गरेर विरहीजीले बिपी र किसुनजीको व्यक्तिगत पाटा प्रस्ट्याउनुभएको छ। पुस्तकमा केही अनुकरणीय व्यक्तिचित्र छन्। विरहीजीले किसुनजीको व्यक्तित्वको कतिपय पाटा उद्घाटन गर्नुभएको छ। जेलभित्र भएको नाइके विद्रोहमा किसुनजीको पहिलो चिनारी आउँछ। त्यसबखत पार्टी सञ्चालनको विधि, गिरिजाबाबुका मन्त्रीहरु नियुक्ति, सिन्धुली जिल्लाको पार्टी सभापतिको मनोनयन आदिमा किसुनजी पुनः प्रकट हुनुहुन्छ। राजा वीरेन्द्र तथा मनमोहन अधिकारीको व्यक्तिचित्र त्यस्तै मार्मिक छ।
२०३६ सालको पूर्वसन्ध्यामा विरहीजी थुनिनुभएको एउटा घटना छ। यज्ञबहादुर थापा र भीमनारायण श्रेष्ठको फाँसीको पृष्ठभूमिमा नेपाल विद्यार्थी संघ तातेको रहेछ। प्रचारबाजी र हड्ताल गरौं भन्दाभन्दैमा विरहीजी समातिनुभएछ। बिपीलाई विद्यार्थीले हडताल गरेको कहिल्यै मन पर्दैनथ्यो। बिपीसमेतको सम्झाइबुझाइले विद्यार्थी आन्दोलन तातेन। पछि भुट्टो फाँसीको सन्दर्भमा विद्यार्थी र आमजनताको समवेत आक्रोशको विस्फोट भयो। त्यस विस्फोटले जनमत सङ्ग्रहको बाटो सहज बनाइदियो। आन्दोलनका क्रममा थुनिएका विद्यार्थी एकएक गरेर छुट्न थाले।
तर प्रशासनले विरहीजीलाई भने बिर्सिएछ। यो विरहीजीको आफ्नै शब्द हो। यो पढ्दा गुन्दा पाठकलाई आश्चर्य लाग्न सक्छ, प्रशासनले आफ्नो कैदीलाई कसरी बिर्सन सक्छ? तर यो एक संयोग मात्र थिएन। तत्कालीन राजनीतिक परिस्थितिको यो विशेषता थियो। मैले आफ्नो कारावासका दर्मियान यस्ता धेरै कैदीलाई भेटेको थिएँ। तर त्यो सब कुरा त कुनै दिन मैले आफ्नो संस्मरणमा लेख्नुपर्ला। अहिले बस् यत्ति भनौं, त्यो खासमा सुरक्षा कानुनको प्रताप तथा सूचना प्रवाहको टीठलाग्दो अवस्थाको सङ्केत हो।
प्रत्यागमनपछिका बिपी कोइराला मुलुकमा कुनै पनि किसिमको कलह आमन्त्रित गर्ने पक्षमा हुनुहुन्नथ्यो। त्यसका निमित्त उहाँका आफ्नै तर्क थिए। ती तर्कका औचित्यबारे विरहीजी मौन हुनुहुन्छ। विरहीजी अरु पनि धेरै कुरामा मौन हुनुहुन्छ। तर त्यस्तो मौनले संस्मरण विधालाई मर्यादित राख्छ। विरहीजीको प्रस्तुत कृतिमा वैचारिक जोरन हाल्न गाह्रो छैन। विरहीजीले आफूलाई त्यस्तो मोहबाट जोगाउनुभएको छ। मैले भूमिकामा त्यसतर्फ केही गर्ने कुरै भएन। विरहीजीको आफ्नो प्रत्यागमनले भने कस्तो आश्चर्यजनक पाराले उहाँलाई फेरि मावलबाट ‘मामाघर’ पु¥याएको थियो भन्ने कुराको रोचक वर्णन छ यहाँ।
पुस्तकमा वर्णित घटनाक्रमबारे म विस्तारमा जान चाहन्नँ। आफू उभिएको ठाउँबाट मान्छेले घटना र परिस्थितिलाई हेर्छ, जे देख्छ त्यही लेख्छ। तर त्यसरी देख्ने र लेख्ने क्रममा लेखकको व्यक्तित्व पनि अभिव्यक्त हुन्छ। हरिहरजीले सिङ्गो लेखनमा आफ्नो निश्छल र निष्पाप व्यक्तित्वको परिचय दिनुभएको छ। प्रस्तुत कृति एक होइन अनेक धरातलमा अमूल्य भएको छ।
अन्तमा, पुस्तकको शीर्षक छ, ‘आगो निभेको छैन’। आगो एउटा जोडदार विम्ब हो। पश्चिमको पुरानो कथामा प्रोमिथेसले आगो चोरेर मनुष्यलाई दिए। देवताहरुले प्रमैथ्युलाई दुःखद दण्ड दिए। आगोको प्राप्तिसाथ मानव सभ्यता अस्तित्वमा आएको हो। तसर्थ आगो प्रगतिको प्रतीक हो। साहित्यमा थुप्रा किसिमको आगाका वर्णन छन्। जस्तै, बढवाग्नि (समुद्रभित्रको आगो), जठराग्नि (पेटभित्रको आगो), दावाग्नि (जङ्गलको आगो) इत्यादि। तर हरिहर विरहीको आगोको सङ्केत नेपालीका एउटै कविले मात्रै गरेका छन्ः
यो माटोको बल हो
तरनको अनल हो
निभ्दैन सजिलै
मनको जलन हो।
(वरिष्ठ पत्रकार ह्रिहर विरहीको आत्मकथा ‘आगो निभेको छैन’मा चिन्तक प्रदीप गिरीको भूमिका। पुस्तक यसै साता फाइनप्रिन्टले सार्वजनिक गरेको छ।)