स्वास्थ्यमन्त्री गगनकुमार थापा पेटको समस्याका कारण अस्पताल भर्ना भएका छन्। बुधबार साँझ आमा बुबालाई अमेरिका पठाउन त्रिभुवन विमानस्थल पुगेर घर फर्कदा मन्त्री थापाले पेट दुखेको भन्दै असहज महसुस गरेका थिए। त्यसपछि साँझको खाना खाएर सुतेका थापा दुखाई बढेपछि राती दुई बजे राजधानीको एक अस्पतालमा गएर जचाएको थापा निकट स्रोतले सेतोपाटीलाई बतायो।
डाक्टरले खानपिनमा समय नमिल्दा समस्या देखिएको भन्दै सामान्य उपचार गरी घर फर्काइदिएका थिए। त्यसपछि बिहीबार बिहान आठ बजे नै थापा पुनः परीक्षणका लागि राजधानीको सरकारी अस्पतालमा गएका छन्।
उनी कुन अस्पतालमा स्वास्थ्य उपचार गराइरहेका छन् भन्ने जानकारी सञ्चारमाध्यममा आएमा उनका शुभचिन्तकको भीड लाग्न सक्ने भन्दै थापाले अस्पतालको नाम बाहिर नल्याउन आफ्ना सहयोगीहरुलाई निर्देशन दिएको स्रोतले बतायो।
मन्त्री थापा बुधबार नेपालगञ्जमा आयोजित एक कार्यक्रममा सहभागी भएर साँझै राजधानी फर्केका थिए।