चोरीको अभियोगमा थुना परेको इरफान अलीलाई आठ नम्बर चौकीमा लगियो भन्ने खबर सुकेको खर डढेझैं सम्पूर्ण जेलभरि एक्कासी फैलियो।
‘त्यसो हो भने आज पनि अनिष्ट हुँदै छ,’ जेलभित्रको चौबाटामा बसेको बूढो कैदीले भन्यो।
‘साले मुसल्टेलाई साढे सातको दशा लागेको थियो कि?,’ अर्काले थप्यो।
दिउँसो चार बजेतिर यो घटना घटेको थियो। चैतको आखिरी दिन भएकाले जाडो निकै घटिसकेको थियो। इरफान अलीले फूलबारीको छेउबाट आल्मुनियमको थोत्रो डेक्चीमा माटो उठायो र आफ्नो कोठातिर लाग्यो। चुलो बनाउने सोच थियो उसको। हिजो मात्र उसलाई वीरगन्जबाट महानगरको यो जेलमा सारिएको थियो। आइपुग्दा राति अबेर भएकाले हिजो र आज बिहान उसले चौकीदारहरुकै भान्सामा खाएको थियो।
इरफान अली भर्याङको तीन खुड्किला मात्र उक्लेको थियो, कोठा नाइके दलसिङले पछाडिबाट कठालो समात्यो। दलसिङको श्वासप्रश्वास निकै गतिमान थियो। यसबाट बुझिन्थ्यो, उसले निकै टाढाबाट इरफान अलीको यो काम देखिरहेको थियो र तेज रफ्तारमा कुदेर उसको कठालो समात्न आइपुगेको थियो।
‘साला मुसल्टे, चौकीमा हिँड्,’ दलसिङले घचेट्दै आदेश दियो।
इरफान अली एक छिन अक्क न बक्क भयो। उसले दलसिङको कुरा बुझेन।
‘अझै कुरा बुझिनस्, साला! चौकीमा हिँड्।’
त्यसपछि दलसिङले इरफान अलीलाई आठ नम्बर चौकीमा छिरायो।
आठ नम्बर चौकी कुनै पनि कैदीका निम्ति आतङ्कको नाम थियो। यो नम्बरमा कुनै कैदीलाई लानु भनेको दुर्भाग्यपूर्ण घटनाको थालनी मानिन्थ्यो। यहाँबाट कुनै कैदी कहिल्यै सग्लो रुपमा फर्किन पाउँदैनथ्यो। पाकेटमारदेखि चोर, डाका, हत्यारा वा राजनेताहरुलाई ठीक ठाउँमा ल्याउनुपर्यो भने जेल प्रशासनले यहीँ ल्याउँथ्यो। यहाँ ल्याएपछि शारीरिक यातनाको असह्य सिलसिला चलाइन्थ्यो। र, यस्तो यातनाबाट कैयौंले ज्यान पनि गुमाएका थिए।
यो जेलको सनातन र वैधानिक नियम यही थियो। जबकि, कुनै पनि कैदीलाई कुटेर मार्न पाइने व्यवस्था राज्यले पारित गरेका कानुनका पोथीहरुमा थिएन।
इरफान अलीलाई मूल चौकीदारका अगाडि उभ्याइयो। ऊ डरले थरथर कामिरहेको थियो।
‘मालिक फूलबारीको माटो चोर्ने मुसल्टे यही हो।’
‘वीरगन्ज जेलमा साम्प्रदायिक दङ्गा भएर यहाँ सारिएको कैदी होइन यो?,’ मूल चौकीदारले सोध्यो।
‘हो मालिक, यसलाई हिजो मात्र यहाँ ल्याइएको हो,’ दलसिङले भन्यो।
‘ए, त्यसो भए यसलाई त्यहाँ कुनामा लगेर बाँध्,’ मूल चौकीदारले आदेश दियो।
मूल चौकीदार आफ्नै स्वास्नी मारेको अभियोगमा बीस वर्षे जेल सजाय काटिरहेको थियो। झन्डै चौध वर्ष काटिसकेकाले ऊ जेल र व्यवस्थाप्रति बफादार थियो। किनकि, राजाको आगामी शुभ जन्मोत्सवको आममाफीमा छुट्ने उसको लालसा थियो।
इरफान अलीले आफूलाई यहाँ किन ल्याइयो र किन डोरीले बाँधियो भन्ने पटक्कै बुझ्न सकेन। उसको विचारमा, उसले कुनै गलत काम गरेको थिएन। हिजो यहाँ पसेदेखि नै उसले कसैसित एक शब्द पनि बोलेको थिएन। पहिलो कुरा त ऊ नयाँ थियो। दोस्रो, देहाती भाषा मात्र बोल्न अभ्यस्त थियो। त्यसले पनि उसलाई कठिनाइ उत्पन्न भएको थियो।
बिहानै उठेदेखि कसैसित एक शब्द पनि नबोल्ने हुनाले उसको कसैसित झगडा हुने प्रश्न नै उत्पन्न हुँदैनथ्यो। फेरि, ऊ झगडालु स्वभावको मानिस पनि थिएन।
त्यसो भए उसलाई यो नर्कमा किन ल्याइयो? के अपराध थियो उसको?
तर, त्यो समय मुलुकमा तानाशाही व्यवस्थाको दबदबा थियो र त्यो अवस्थामा कुनै पनि प्रश्नको उत्तर पाइँदैनथ्यो।
इरफान अलीले यो प्रश्न आफ्नै आत्मालाई सोध्यो। आत्मामा अल्लाह बसेका हुन्छन् भन्ने उसको विश्वास थियो। कुरान उसले पढेको थिएन। तर, पढ्नेहरुले उसलाई त्यही भनेका थिए।
धेरै समयसम्म प्रश्नको प्यासले छटपटिएको इरफान अलीमाथि एक्कासि दलसिङका लात, घुस्सा र डन्डा वर्षन थाले। उसको अनुहार क्रमशः रङ्गहीन हुन थाल्यो। यसरी श्याम वर्णको त्यो सज्जन मुसलमानको अनुहारको आकृति पीडा र भयले गर्दा नराम्रोसित खजमजियो।
‘मालिक, दया करी! हमर कुछो भूल नैखे,’ उसले भन्यो।
‘अझ भूल छैन भन्छ ए रण्डीको छोरो त!,’ मूल चौकीदार कड्कियो।
‘जेल परेपछि जेलको काइदा-कानून पालन गर्नुपर्छ भन्ने थाहा छैन, गधा!,’ मूल चौकीदारकै आवाजमा लय थप्दै दलसिङ पनि गर्जियो।
आवाजको विस्फोट हुन थालेपछि इरफान अलीले फेरि आफ्नो आत्माको ईश्वरलाई सोध्यो, ‘अल्लाह, मबाट के गल्ती भयो? कुनै गल्ती गरे जस्तो त लाग्दैन!’
अनि प्रकटमा मूल चौकीदारतिर फर्केर भन्यो, ‘मालिक, हमरा से जे भइल, अनजानमा भइल। हमर कुछो भूल नैखे, दया करी!’
उसले जतिसुकै विनम्र भावमा माफी मागे पनि मूल चौकीदारको मन पग्लेन। उसको मन मैनझैं कमलो पनि थिएन। दयावन्त हुँदो हो त मूल चौकीदारको पद कसरी प्राप्त गर्न सक्थ्यो? किनकि, जेलको अलिखित विधान अनुसार त्यस्तो व्यक्ति मात्रै मूल चौकीदार बन्न सक्थ्यो, जो अत्यन्त क्रूर र कुटिल हुन्छ।
नक्खु घटनापछि जेल अरु बढी कडा भएको थियो।
उपत्यकामा रहेको अर्को जेल नक्खुमा झापा आन्दोलनका राजबन्दीहरू पैँतालीस मिटर लामो सुरूङ खनेर फरार भएपछि गृह मन्त्रालयले जेल प्रशासनहरुलाई अझ बढी कडिकडाउ गर्न आदेश दिएको थियो। त्यसै अनुरुप जेलभित्र कुनै पनि प्रयोजनका निम्ति माटो खन्न निषेध गरिएको थियो। सेन्ट्रल जेलका सबै कैदीलाई यो कुरा थाहा थियो। बिचरा इरफान अलीलाई मात्र थाहा भएन।
‘होइन ए गाँठे, यसले यस्तो कडा कानूनलाई कसरी चुनौती दिने आँट गर्यो, हँ!,’ मूल चौकीदारले उदेक मान्दै प्रश्नको ओथारो हाल्यो।
‘यो पनि अराष्ट्रिय तङ्खवकै एउटा मतियार होला, मालिक! नत्र कसरी यत्रो जोखिम मोल्न सक्छ?,’ दलसिङले आफ्नो हाकिमको समर्थनमा केही शब्द थुपार्यो।
समय बित्दै गयो। आठ नम्बर चौकीमा सुत्ने मूल चौकीदारको पल्टन विभिन्न कामबाट फर्कियो। अब त्यो सुरूङ जस्तो लामो कोठामा झन्डै एक दर्जनजति शासक कैदीहरू उपस्थित थिए।
त्यसपछि अझ बढी जङ्गली यातनाको पटकथा आरम्भ भयो। त्यहाँ प्रदर्शित बर्बरताको दृश्यावली कुनै पनि भलादमीले आफ्नै आँखाले हेर्न सक्दैनथ्यो।
सबैभन्दा पहिले इरफान अलीमाथि एक घैंटो पानी खन्याइयो। त्यसपछि उसको चिसो कपाल भुत्ल्याउँदै मुखैमुखमा प्रहार गरियो। मुखबाट रगतको तातो झोल बग्न थाल्यो अनि यातनाको असह्य पीडाले बटारिँदै उसले फेरि प्रार्थना गर्यो, ‘हे अल्लाह, हमर कुछो भूल नैखे, दया करी!’
तर, इरफान अलीको यो प्रार्थना कसैले सुनेन। लगभग आधा घण्टासम्म यातनाको सिलसिला जारी भएपछि आक्रोश र घृणा मिसिएको स्वरमा उसले जेल प्रशासनका मानिसहरुतिर फर्केर भन्यो, ‘हाय अल्लाह! शैतान के हात से हम असहाय के रक्षा करी!’
उसको गाली मूल चौकीदारले राम्ररी सुन्यो। आफूलाई शैतान भनिएकामा उसको रिसको तह अचानक उकालो चढ्यो।
‘के भनिस्? कसलाई भनिस्, ए रण्डीका छोरा? तिमीहरुले सुन्यौ, यसले के भन्यो? अब म ठोकेर भन्छु, यो अराष्ट्रिय तत्व नै हो। यो सामान्य कैदी हुनै सक्दैन।’
‘ठीक मर्जी भो, मालिक! यो अराष्ट्रिय तत्व नहुँदो हो त यसलाई किन जेल सरूवा गर्नुपर्थ्यो?,’ दलसिङले भन्यो।
‘ओहो, यो त निकै डरलाग्दो विषय हो,’ मूल चौकीदार निकै चिन्तित देखियो। उसले आफ्नो पल्टनतिर हेरेर फेरि भन्यो, ‘अब तिमीहरु नै भन, यदि यो जेल जेल जस्तो भएन भने व्यवस्था कसरी चल्छ? अनि व्यवस्था भएन भने?’
‘ठीक भन्नुभो, मालिक!,’ कैदी पल्टनका तीन-चार जना एकैस्वरमा कराए।
इरफान अलीको पछिल्लो भनाइपछि उनीहरु विभिन्न कोणबाट उसको जीवन चरित्रबारे आआफ्नो ज्ञान र बुद्धि अनुसार विचार मन्थनमा सामेल भए। उता, इरफान अलीको पूरै शरीर रगतले लतपत भइसकेको थियो।
‘भन् ए मुसल्टे, तँ कुन उग्रवादीको दलाल होस्? कुन एम्बेसीको पैसा खान्छस्, भन्?,’ मूल चौकीदार आफ्नो खाटबाट उठ्यो र आफैं इरफान अलीतिर जोतियो।
तर, इरफान अलीले मूल चौकीदारको प्रश्नको जवाफ दिएन। पहिलो कुरा त यो प्रश्न नै उसका निम्ति अमूर्त चित्रकला जस्तो क्लिष्ट थियो। दोस्रो, लगातारको पिटाइले ऊ यति क्लान्त भैसकेको थियो, अब आवाज भन्ने चीज उसको जिब्रोबाट धेरै टाढा भैसकेको थियो।
जेलको विधान अनुसार यातनाको दोस्रो परिच्छेद आरम्भ भयो। सामान्य शिक्षादीक्षाले नपुग्ने कैदीलाई यो परिच्छेदमा गहकिलो व्यवहार गरिन्थ्यो। नङमा पिन घुसार्ने, पैतालामा तातो फलामको रडले पोल्ने र उँधो मुन्टो पारेर झुन्ड्याउने आदि कर्महरु यो प्रकरणमा पर्थे।
दोस्रो परिच्छेद आरम्भ भएको एकै छिनमा इरफान अलीको मुखबाट मानिसको कान र हृदयले सुन्नै नसक्ने चीत्कार निस्किन थाल्यो। यसपटक आठ नम्बर चौकीमा उत्पन्न भएको चीत्कार त्यसका भित्ता र प्वालहरू नाघेर जेलका अरु कोठासम्म पनि पुग्यो। त्यसपछि ऊ अनन्त-अनन्तसम्मका निम्ति बेहोस् भयो।
जेलको नियम अनुसार साँझ छ बज्दा-नबज्दा सबैले खाना खाइसक्नुपर्थ्यो। जेलको आन्तरिक प्रशासनलाई पनि यो नियम लागू हुन्थ्यो। त्यसैले उनीहरु डोरीले बाँधेर लडाइएको मृत इरफान अलीलाई त्यहीँ छोडेर भान्साकोठातिर हिँडे। त्यस दिन साँझको भान्सामा सबैले खानेकुराको भन्दा पनि उही अभागी कैदीले माटो खनेको विषयलाई लिएर अनेक किसिमका व्याख्यान र तर्कहरु पेश गरे।
सात बजेको समाचार आयो। जेलभरिका कैदीहरु विभिन्न कोठाबाट रेडियो सुन्न जेलको माझको चौतारामा आए। तर, आज कसैले पनि समाचारमा कान लगाएन। सबैका निम्ति इरफान अली नै त्यस दिनको चर्चित र ठूलो समाचार थियो।
‘अभागी मुसल्टे! काम गर्नुअघि हामीसित सोधेको भए कम से कम यस्तो दुर्भाग्यमा त फस्ने थिएन!,’ समाचार सुन्ने निहुँमा त्यहाँ उभिएको एउटा कैदीले नजिकैको अर्को कैदीसित भन्यो।
‘त्यो अलि कपटी खालकै रहेछ। कम से कम आएपछि कसैसित मित्रभाव पनि राख्न सकिन्थ्यो,’ साथी कैदीको कुरामा अर्काले थप्यो।
‘आएदेखि निकै उदास-उदास देखिन्थ्यो। जेल परेपछि त्यसको घर-व्यवहार चौपट भएर पीर गरेको थियो कि?,’ अर्काले दुःख व्यक्त गर्यो।
‘त्यसलाई किन त्यति विधि शङ्का गरियो? कुनै राजनीतिक पार्टीतिर लागेकै थियो कि त्यो?’
समाचार सकिएपछि सबै कैदी आआफ्ना कोठातिर लागे। बाहिर सहरमा आवाजहरुको कोलाहल अझै मत्थर भएको थिएन, तापनि जेल चाँडै शान्तिपूर्वक सुतेको अजिङ्गरझैं देखियो। त्यसपछि पहरेदारको …खबरदार! खबरदार! कर्कश आवाजमा मुखर हुन थाल्यो।
उता, आठ नम्बर चौकी भने अझै आफ्ना गलत र अमानवीय कर्तुतहरुका निम्ति सक्रिय र जागरुक थियो। यी सबै गतिविधिले दर्शाउँथे- तत्कालीन नेपालको प्रतिविम्ब यहाँ प्रदर्शित छ। अर्थात्, राजधानीको जेलको त्यो कोठा एउटा दर्पण हो जहाँ सिङ्गै नेपालको छाया हेर्न सकिन्छ, जहाँ देशको अन्याय र अत्याचार हेर्न सकिन्छ। इरफान अलीमाथि नाहकमा भएको अत्याचार पनि त सिङ्गै मुलुकमा हुने अत्याचारको एउटा बोन्साई रुप न थियो!
रातको दश बजेसम्ममा मूल चौकीदारको पल्टन रक्सीले टिल्ल परिसकेको थियो। जेलभित्र यही एउटा वर्गलाई मात्र रक्सी खाने छूट थियो।
त्यसैबेला अघिपछि बन्दुक बोकेका गार्डहरु लिएर जेलर आइपुग्यो। सामान्यतया जेलर आउने समय पनि त्यही थियो। आउन साथ उसले सोध्यो, ‘के छ यसको हालखबर?’
‘एकदमै ठीक छ, सर!,’ मूल चौकीदारले भन्यो।
‘शिक्षादीक्षा पायो कि पाएन अधमले?,’ पुनः जेलरले सोध्यो।
‘शिक्षादीक्षा मात्र होइन सर, त्यसले त पूरै मुक्ति पाइसक्यो!,’ मूल चौकीदारले भन्यो।
आन्तरिक प्रशासनका कैदीहरुको उत्साह बढाएर चौकीबाट जेलर हिँडेपछि इरफान अलीको शरीरको लुगा फुकालियो। त्यसैबीच मूल चौकीदारले दलसिङलाई भन्यो, ‘ए दले, हेर्हेर यो असली मुसलमान हो कि नक्कली?’
‘कसरी थाहा हुन्छ मालिक यो कुरा?’
‘त्यति पनि थाहा छैन, गधा! त्यो असली मुसलमान हो भने त्यसको गुप्ताङ्गको छाला काटिएको हुन्छ।’
त्यसपछि मूल चौकीदार ठूलो स्वरमा हाँस्यो र पछि त्यो हाँसोलाई नेता मानेर कोठाभित्रका सबै कैदी अट्टहास छोड्न थाले।
रातको एघार बजेतिर नाङ्गो इरफान अलीलाई ओल्टाइपल्टाइ पारियो। उसको छातीमा मुटु र फोक्सो चलेको छ कि छैन भनेर दलसिङले विभिन्न ठाउँमा घोचपेच गर्यो। रक्सीले रन्थनिएर होला, एक छिनसम्म उसले ठम्याउन सकेन त्यहाँ जीवन छ या मृत्यु। तर, केही समयमै थाहा भयो- उसको शरीरमा कतै तातो छैन। त्यो हिउँको डल्लोमा परिवर्तन भैसकेको छ।
‘यसले सिलटिम्मुर खाइसक्यो, मालिक!,’ निकै समयको खोजपछि दलसिङले घोषणा गर्यो।
त्यसपछि जेलको धर्म-परम्परा अनुसार उसको देहलाई जेलबाट बाहिर रहेको अस्पतालतिर लगियो। यो त्यो अस्पताल थियो, जसले मानिसको हत्यालाई सहज दुर्घटना भनेर प्रमाणपत्र लेख्ने गर्थ्यो। त्यो घटनामा पनि त्यस्तै गरियो।
भोलिपल्ट।
बिहानैदेखि घाम राम्रो लागेन। जेलमाथिको आकाश उदास बादलका काला पत्रहरुले ढाकियो। मध्याह्न बाह्र बजेतिर सिधा थाप्ने ठाउँमा सबै कैदी जम्मा भए। त्यसैबेला मूल चौकीदारले अन्य कैदीलाई सम्बोधन गर्दै भन्यो, ‘सुन ए कैदीहरू, जेलभित्र नियम नमान्नेहरुले इरफान अली नामको मुसल्टेलेझैं आफ्नो जीवनको अन्त्य रोज्नुपर्छ। त्यसैले म तिमीहरुलाई भन्छु, कसैले पनि त्यसले जस्तो नीच काम नगरोस्। सरकारले सबैलाई दुई छाक खान दिएकै छ। बिरामी पर्दा ओखतीमूलोको बन्दोबस्त पनि गरेकै छ। यहाँ बस्दा सकभर कुनै तकलिफ नहोस् भनेर हर वर्ष बजेटको रकम वृद्धि गरिएको छ। त्यसैले सबले सरकारको जय मनाउनुपर्छ। सरकारको द्रोह गर्नेलाई देशद्रोही, उग्रवादी वा अराष्ट्रिय तङ्खव भनिन्छ। तिमीहरुले मैले भन्न खोजेको कुरा त बुझ्यौ, होइन?’
‘बुझ्यौं!,’ विद्यालयका बालबालिकाझैं केही कैदी एकैस्वरमा चिच्याए। साथसाथै त्यसरी जवाफ दिँदा उनीहरूका आँखाबाट आँसुका ससाना गेडाहरु तलतिर गुडे।
(यसरी इरफान अली नामको एउटा सीधासादा नेपाली मुसलमानको जीवनको इतिहास समाप्त भयो। त्यसबेला अखबार वा कुनै पनि सञ्चारमाध्यममा नआएको यो करूण घटना अघिल्लो पुस्ताका कमै मानिसहरुलाई मात्र थाहा भएकाले पुरानो समयका कथाहरुको सूचीमा यसलाई पनि समावेश गरिएको हो।)
२०४३
(‘इरफान अली’ कथा यही नामको कथा संग्रहमा संकलित छ। ‘इरफान अली’सहित ढकालका छानिएका कथाहरूको संग्रह ‘नारायण ढकालका कथा’ फिनिक्स बुक्सले हालसालै बजारमा ल्याएको छ।)