एक अत्यन्तै निक व्यक्ति, सतकर्मी ब्रह्मचारीको निधन भयो। गाउँ, टोल, छरछिमेक का सबै मानिसहरु अन्तिम बिदाइ दिन उर्लिएर आए, पूरै गाउँमा खैलाबैला, रुवाबासी चल्यो।
शवयात्रामा सहभागी सबै मलामीहरुले उनको महिमा गाए। उनको जयजयकार गरे, भगवानको उपमा दिए। पार्थिव शरीर हेर्दाहेर्दै आगोको फिलुङ्गोमा परिणत भयो। आर्यघाटबाट खरानी भएको उनको आत्मा, सिधै लिएर पुगे यमराज अब स्वर्ग नगरीमा।
अलिसान जग्गा, चारैतिर सुसज्जित वालको कर्नरमा नाइट क्लब, हिपहप म्युजिकको आवाज जोरले फुत्किएर कानैनेर गएर ठोक्कियो। स्लिप लेस टुपिस मिनिस्कर्ट युनिफर्ममा अप्सराहरु, एकसा एक स्मार्ट्फोनको हेड्फोनमा म्युजिक सुन्दै मस्त सल्बलाइरहेका देखे।
तीन छक्क परेर आम्बो! स्वर्ग पनि यस्तो ड्रास्टिकली मोडिफाइ भएको? भनी दुमु मात्र राखेको आफ्नै जुँगा एकोहोरो चलाइरहे। अब भने ओंठ तालु सुक्यो र खोज्न थाल्यो साथ ल्याउने यमराजलाई।
‘एकछिन यहाँ आराम गर है मनुखे, मेरो मोबाइलको ब्याट्री डाउन भएछ रिचार्ज गरेर आउँछु’ भनी गएका यमराज फर्केर अझै आएनन्।
रिसेप्सनमा बसेकी अप्सरा अघिदेखि यमराजले दिएको फाइल घोरिएर पढिरहेकी थिइन्। ओ हेल्लो! यता एकछिन आउनुहोस् त भनेर बोलाइन्। हत्तपत्त उठेर गए ती ब्रम्हचारी। सुन्नुस त! यहाँ स्वर्गमा पनि हाम्रो तीन वटा कम्पार्ट्मेन्ट हुन्छ। तपाईंको बायोडेटामा एउटा पनि खोट भेट्टाइएन, पहिलो कम्पार्ट्मेन्टमा बस्नलाई पनि कमसेकम मानिसले गर्ने भुल, कबुल हुनपर्यो। तपाईंको क्राइटेरिया पुगेन, हाम माफी चाहन्छौं भनी तिनले। यत्तिकैमा फर्केर आइपुगे यमराज, हातमा निलो फाइल बोकेर।
हेर मनुखे! बाँचुन्जेल स्वर्ग जाने आशमा आफ्नो आँत मार्न हुन्न, इच्छा लागेको कुरा सबै गर्न सक्नुपर्छ। तबमात्र मान्छेले मोक्ष प्राप्त गर्छ। आवश्यकताभन्दा बढी सहनु माहा पाप हो।
तिमीलाई तीन घन्टाको समय दिन्छौं, धर्तीमा गएर आफ्नो असाइनमेन्ट पूरा गरेर आऊ। यमराजले भन्न नपाउँदै आफूलाई सधैं सितल छहारी दिने पिपलको रुखमुनि पायो। त्यहाँ बसेर घन्टौं घोत्लिए, आफू बाँचुञ्जेलको समयलाई दोहोर्याई तेहर्याई रिवाइन फर्वड गरेर अड्कलबाजी लागाइरहे।
सोच्दासोच्दै १/२ घन्टा बितेको पत्तै पाएनन्। अब उनको मन अत्तालिन थाल्यो, कन्चटमा चिट्चिट पसिना आउन लाग्यो।
उनको आँखा अचानक खेतका गर्हागर्हा हुँदै आलीआलीमा पर्न गयो। छेवैमा पुरानो इनार थियो, गाउँलेहरु सबै त्यै इनारको पानी चलाउँथे।
ओहो! साँच्ची चमेली छे नि मेरा लागि मरिहत्ते गर्थिन्। सोच्न नपाउँदै हस्याङफस्याङ गर्दै पुगे चमेलीको ढोका ढ्क्ढकाउन।
भित्रबाट चुक्कुल खोलेर चमेलीले घाँटी बाहिर तन्काइन्। सामुन्नेमा ब्रह्मचारीलाई देखेर उनको हातखुट्टा लगलग काम्न थाल्यो, आफूलाई सम्हान सकिन। भक्कानिएर ब्रह्मचारीलाई गर्ल्याम्मै अंगालो मारिन्। दुई आत्माको समागम् भयो। चमेलीले आफूलाई पूर्ण भएको महसुस गरी भने ब्रम्हचारी आफ्नो असाइन्मेन्ट पूरा भएकोमा दंग परे।
हत्तपत्त घडी हेर्दै आफू जसरी पनि जान पर्ने कुरो चमेलीलाई बताउँदै ढोकातिर हान्निए।
चमेलीले बाटो छेक्दै भनिन्, ‘औ यता सुन्नुस् न! तपाईंले आज ठूलो धर्म गर्नुभयो। म आजदेखि तपाईंकी अर्धाङ्गिनी भएँ।’ बाहिर यमराज मुसुमुसु हाँसेर कुरिरहेका थिए।
‘लेट्स गो स्ट्रेट टु ह्याबेन्’ भनेको आवाज गुन्जिरह्यो।