प्रसङ्ग दशैं र तिहार नजिकदै गरेको अवस्थाको हो। हरेक साल दशैं नजिकिँदै गर्दा मनमा अनेक कुरा खेलिरहन्छन्। अनि म आमालाई सोध्ने गर्छु, ‘आमा यसपाली त बाबा दशैंलाई आउनु होला नि है?।’ ‘पैसा कमाउन अलि सक्नुभएको छैन रे छोरी, अनि बिदा पनि मिल्दैन भन्नुहुन्थ्यो, अर्को साल त पक्का आउनुहुन्छ रे बाबा।’
आमाको यस्तो उत्तरको फलस्वरुप मैले निराशता पाउँछु तर पनि मनमा भएको थोरै आशा पोख्दै पुनः म आमालाई प्रश्न गर्छु, ‘आमा अनि दाइ र दिदी नि?’ आमाको उत्तर फेरि दोहोरिन्छ, ‘उनीहरुको पनि छुट्टी मिल्दैन रे।’
मेरो बुबा र दाइ/दिदी स्वदेश फर्कने आशा खरानी हुनपुग्छ।
मलाई दुःख त त्यतिबेला लाग्छ जब तिहारमा नेपाली दाजुभाइ र दिदीबहिनी निधारमा सप्तरंगी टीका लगाएर बाटोमा हिँडिरहेका हुन्छन् तर दुर्भाग्यबस! आफ्नो निधार खाली हुन्छ।
कहिलेकाही भावनामा डुब्दै गर्दा वरिपरिको कोही साथीलाई सोध्ने गरेको छु, ‘भोलिपर्सी ब्याचलर सक्काए पछि के गर्छौ?’ अधिकांशको उत्तर यही हुन्छ ‘मलाई उड्ने रहर छ। म त विदेश जाने हो।’
यस्तो सुन्ने बित्तिकै मेरो आङ सिरिङ भएर आउँछ अनि मलाई विदेशिएका मेरा बुबा अनि दाजु दिदीको सम्झनाले पिरोलिएकी मेरी आमाको गहभरिको आँसु झलझलि आउँछ।
प्रत्येक वर्ष नेपालबाट अत्यन्तै ठूलो संख्यामा नेपालीहरु विदेशिन्छन्। कसैको रहर हुन्छ भने कसैको बाध्यता। सायद अहिले घरको एउटा सदस्य पनि विदेश नगएको परिवार औंला भाचेरै गन्न सकिन्छ होला। सदस्य विदेशीएका परिवारको वेदना र पीडा सुन्दा सायद थोरैको आखाँबाट आँसु नझर्ला।
परिवारको सदस्य विदेशीदाको पीडा आफूले भोगेकै भएर होला, कसैले ‘तिमीलाई चाहि उड्ने रहर छैन?’ भनेर सोध्दा, म सधैं यस्तो उत्तर दिन्छु ‘मलाई पनि उड्ने त सारै रहर छ तर हवाईजहाजमा होइन, खुल्ला पन्छी सरि पखेटा फिजाएर केवल निलो आकाशमा उड्ने रहर छ।’