म एक पुरुष
पुरुषहरुको पनि प्रेमी पुरुष !
सत्य हो, नारीभन्दा धेरै छन्, पुरुष
मेरा प्रेमीहरु !
जीवनको डायरीमा मेरै दैनिकी लेख्छन्
मनको नोटबुकभरी मेरै नाउँ कोर्छन्
मस्तिष्कका कुनाकाप्चा मेरै तस्बिर भुण्ड्याउँछन्
चिन्ताको सघन अँध्यारोमा पीडको कालोघर बनाउँछन्
चिन्तैचिन्ताले ढाकिएको चाकूजस्तो अनुहार लिएर हिड्छन्
सधैं कति चिन्तित छन्
मेरा प्रेमीहरु !
न उज्याला बन्छन् दिन
न मधूर हुन्छन् रात
चिन्तैचिन्ताले भरिएको आफ्नौ भारी टाउकाको बोझ बोकेका छन्
चिन्तैचिन्ताले विथोलिएका आँखाले हेर्छन्
सधैं मलाई तीनै आँखाको नानीमा राख्छन्
चिन्तैचिन्ताको काढेँदार ओछ्यानमा सुत्छन्
चिन्तैचिन्तामा खल्लो मधुमास मनाउँछन्
चिन्तैचिन्ताले सिँगारिएका सपना देख्छन्
आफ्नै खुसी आफैं खोसेर पीडामा पनि रमाउँछन्
मेरै चिन्तामा दिन–रात बिताउँछन्
मेरा प्रेमीहरु !
चिन्ता खान्छन्
चिन्ता निल्छन्
चिन्ता निको पार्ने चिन्ताको दवाई चढाउँछन्
दारु अखडामा चिन्तासँगै सहवास गर्छन्
कुवाभित्रको साम्राज्यमा पालैपालो चिन्ता ओकल्छन्, चिन्ता पिउँछन्
चिन्तामाथि चिन्ता बनेर चढ्छन्
चिन्ताको बिस्तरा बनेर चिन्तामुनी सुत्छन्
चिन्तासँगै सम्भोग गर्छन्
चिन्ता जन्माउछन्
मेरै चर्चा, चिन्ता र गुनगानका गीत गाउँछन्
झन्–झन् चिन्तित हुन्छन्
मेरा प्रेमीहरु !
कहाँ गए ?
के खाएँ, के लाएँ ?
कसलाई भटेँ, कोसँग हिँडे ?
कोसँग सुतेँ, कतिबेला उठेँ ?
भलाकुसारी के भए, कानुखुसी के गरेँ ?
मस्तिष्कमा चौबीसै घण्टा चिन्ताको भारी जाँतो घुमाउँछन्
मनमा सधैं चासोको भरभराउँदो आगो बाल्छन्
चिन्ता र चासो नै प्रेमको नासो हो भन्ठान्छन्
आहा...! मेरो कति ख्याल गर्छन्
मेरा प्रेमीहरु !
सायद, मेरै चिन्ता लिएर आएका थिए
मेरै चिन्तामा जीवनको नेटो काट्नेछन्
मेरै चिन्ताको भारी बोकेर जीवनभर आभारी बन्नेछन्
अन्ततः अन्त कतै अनन्ततिर जानेछन्
चिन्तैचिन्ताको उल्कापुञ्ज बनेर कुनै दिन गुमनाम हुनेछन्
मेरा प्रेमीहरु !
सधैं मेरै चिन्ता र चासो
एकबारको जीवन समर्पित गरेका छन्
अनवरत छ, अटूट छ, प्रगाढ छ हाम्रो प्रेम
तर मलाई घृणा गर्छन्
मेरा प्रेमीहरु !
घृणायोग्य छु म,
निरपेक्ष छु, स्वार्थी छु
पल्पल् मेरो परवाह गर्ने मेरा प्रेमीहरुप्रति
सधैं वेपरवाह छु, विन्दास छु
जायज छ मप्रतिको घृणा
तर पनि मेरा लागि प्रिय छन्
मेरा प्रेमीहरु !
क्षमा चाहन्छु,
कसैको खुसीमा दुःखी हुन सकिन
कसैको हाँसोमा उदास हुन सिकिन
मनको सुन्दर ‘दिवार’मा
ईष्र्याको अँगारले कसैको नाउँ लेख्न जानिन
गुरुले पनि सिकाएनन्
किताबमा पनि भेटिन
प्रिय लाग्छन्
मेरा प्रेमीहरु !
कसरी बिर्सु ?
मेरा प्रेमीका अनमोल ती उपहार
जसले जीवनको बाटो देखाउँछन्
जीवन बाँच्न सिकाउँछन्
जीवनमा हाँस्न सिकाउँछन्
सधैं छोऽटो चोरबाटो हिडेर
मान्छे–मान्छेबीचको जीवनयात्राको विभेद बुझाउँछन्
सबैभन्दा बढी आफूलाई चिन्न सिकाउँछन्
त्यसैले झन् प्रिय लाग्छन्,
मेरा प्रेमीहरु !
ती सबै मेरा प्रेमी हुन्, जसलाई म प्रेम गर्छु
ती सबै मेरा प्रिय छन्, जसले मलाई घृणा गर्छन् ।
सधैं उस्तै छु,
रित्तो छु
खाली भित्तो जस्तो छु
जीवनमा दिनसक्ने आर्जन केही भएन
जे छ, हृदय खोलेर दिदैछु
सधैं पुरा हुन् तिम्रा ती सबै सुन्दर चाहाना
मेरा प्रिय प्रेमीहरु, सबैलाई दशैंको शुभकामना !