जिल्लामा नौ स्थानीय तह बनाउने प्रारम्भिक सहमति भएको छ।
स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगको पछिल्लो परिपत्रानुसार जिल्लामा पाँचदेखि नौ वटासम्म स्थानीय तह बनाउन निर्देशन आएको र सोही निर्देशनानुसार राजनीतिक दल सहितको सर्वपक्षीय भेलामा प्रारम्भिक छलफल सम्पन्न गरिएको स्थानीय विकास अधिकारी भानुभक्त न्यौपानेले जानकारी दिए।
सीमाङ्कन लगायतका विषयमा थप छलफल गरी यही कात्तिक २० गतेसम्ममा अन्तिम टुङ्गोमा पुगिने स्थानीय विकास अधिकारी न्यौपानेको भनाइ छ। पुनःसंरचनाका विषयमा जिल्लाका दलबीच ठूलो विवाद नभएको हुनाले आपसी सहमतिबाट टुङ्गोमा पुग्ने बताइएको हो। नौ स्थानीय तह बनाउने विषयमा दलहरु सहमत छन्। यसअघि राजनीतिक दलले १३ स्थानीय तहको माग राख्दै आएका थिए। आयोगले मुलुकभरि पाँच सय ६५ स्थानीय निकाय बनाउने प्रारम्भिक प्रतिवेदन सार्वजनिक गरेको थियो। रासस