नेपालका लागि युएइका राजदूत सइद हमदान अल नाक्वीले संयुक्त अरब इमिरेट्स (दुबई)मा हुन गइरहेको ‘वल्र्ड फ्युचर इनर्जी समिट’मा भाग लिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई निमन्त्रणा गरेका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आज प्रधानमन्त्री दाहालसँगको भेटमा राजदूत नाक्वीले सन् २०१७ को जनवरी १६ मा हुने उक्त सम्मेलनबाट नेपालले ऊर्जाको क्षेत्रमा प्रशस्त लाभ लिन सक्ने बताए। उनका अनुसार यो सम्मेलनमा नेपाललाई पहिलोपटक निमन्त्रणा गरिएको हो ।
प्रधानमन्त्री दाहालले निमन्त्रणाका लागि धन्यवाद दिँदै सम्मेलनमा सहभागी हुन आफू इच्छुक रहेको बताएका प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा नेपाल र युएइबीचको सम्बन्ध र द्विपक्षीय हितका विषयमा छलफल भएको थियो ।
प्रधानमन्त्री दाहालले दुबईको अदालतद्वारा मृत्युदण्डको सजाय सुनाइएका दार्चुलाका अमर बमलाई आममाफीको व्यवस्था गर्न राजदूत नाक्वीको ध्यानाकर्षण गराएका थिए।
प्रधानमन्त्रीले दुबईमा कार्यरत नेपाली मजदुरको सेवा र सुरक्षाका विषयमा समेत राजदूतको ध्यानाकर्षण गराएका थिए।
राजदूत नाक्वीले दुई देशको सम्बन्धका बारेमा प्रधानमन्त्री दाहालले राखेका चासोबारे आफ्नो सरकारलाई जानकारी गराउने वचन दिएका थिए। रासस