संविधान संशोधनबारे सरकार, मधेसी मोर्चा र संघीय गठबन्धनबीच केही दिनभित्रै औपचारिक वार्ता हुने भएको छ। संविधान संशोधनको प्रस्ताव संसद्मा दर्ता गर्ने गरी औपचारिक छलफल हुन लागेको खबर आजको नयाँ पत्रिकामा छापिएको छ।
‘एक–दुई दिनभित्रै औपचारिक छलफल गर्ने भनेर प्रधानमन्त्रीले बोलाउनुभएको छ, सायद अब गम्भीर छलफल होला,’ सद्भावना पार्टी अध्यक्ष राजेन्द्र महतोले नयाँ पत्रिकासँग भने । उनका अनुसार केही निश्चित बुँदामा सरकारसँग अनौपचारिक रूपमा पटकपटक छलफल भएका छन् ।
सरकार र असन्तुष्ट पक्ष अनौपचारिक छलफलमा मुख्य चार विषय सहमतिनजिक पुगेका छन् । त्यसकै आधारमा औपचारिक छलफल हुन लागेको नेताहरूले बताएका छन्। तर, सहमतिको प्रयासका लागि सरकार पक्षबाट गम्भीरतापूर्वक छलफल हुन नसकेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले बताए। ‘केही अनौपचारिक छलफल भएका छन्, तर संशोधन प्रस्ताव तयार गर्ने गरी छलफल हुन सकेको छैन,’ यादवले भने।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । बालुवाटारमा भएको भेटमा देउवाको आसन्न भारत भ्रमण र मधेसी मोर्चासँग वार्ता गरेर संविधान संशोधन गर्ने विषयमा केन्द्रित रहेर छलफल भएको छ।
दुई नेताबीच मधेसी मोर्चासँग पनि केही दिनभित्रै वार्ता गर्ने सहमति भएको छ । देउवा भारत भ्रमणमा जानुअघि मोर्चासँग छलफल गर्ने तयारी छ । देउवा १९ कात्तिकमा भारत भ्रमणमा जादै छन् ।