‘भाइसाहेब, आपको पता हेँ ए कटिङ चिया कहाँ मिल्ते हेँ? हामने इसके बारेमा बहुत सुना हे?’ दिल्लीको लाल किल्लाको गेटमा उभिएर एक व्यक्तिलाई कटिङ चियाको बारेमा जानीनजानी हिन्दीमा बोलेर सोधिहालेँ।
‘म्यामसाहेब, आइए मेरे रिक्सामा बठिए, अभि आपको ले चल्ते हे, चाँदनी चोकके फेमस कटिङ चिया पिलाने,’ उसले मलाई बोलाउँदै रिक्सा पार्किङतिर लग्यो।
लाल किल्लाको ठ्याक्कै पारिपट्टी चाँदनी चोक घुम्दै हामी कटिङ चिया पिउन गयौँ।
राजीव, रिक्सावालाको नाम।
घरमा श्रीमती, तीन छोरी, एक छोरा। वर्ण सबै गोरा।
फुर्तिलोसँग रिक्सा चलाउँदै गर्दा घरीघरी राजीव पछाडि फर्केर सब ठिक हेँ म्याम भन्थ्यो। त्यसरी उसले पछाडि फर्केर अगाडिको दुई वटा भाँचिएको सेतो दाँत देखाउँदै मुसुक्क हाँस्दा मलाई एउटा गीत याद आएको थियो।
‘हम काले हो तो क्या हुँया दिलवाले हेँ ...।’
रातको सात बजिसकेको थियो। उसले रिक्सामा मलाई चाँदनी चोकको एक राउण्ड लगाउँदै थियो। चाँदनी चोक मलाई ठ्याक्कै नेपालको असन, इन्द्रचोकजस्तो लाग्यो। किनमेल गर्न आउने मान्छेको भीड,साना गल्लीहरू, त्यही सानो गल्लीलाई पनि मान्छेको भीड, मोटरसाइकल, रिक्साले गरेको जाम, सामानहरू सेल सेल भन्दै बेचिरहेका र मन्दिरको घण्टीका आवाजहरू।
यीबाहेक मलाई अझ विशेष मन परेको चाँदनी चोकको विशेषता भनेको चाँदनी चोकको चौघेरामा हिन्दुको विशााल हनुमान मन्दिर पनि अटाएको छ, मुस्लिमहरूको ऐतिहासिक विशेषता बोकेको विशाल जामा मज्जिद पनि शिर ठाडो पारेर बसेको छ, इसाई धर्मको पूज्यस्थल चर्चदेखि शिखधर्मको विशाल गुरुद्वारा समेत त्यही रहेको छ। त्यस साँझ मैले हिन्दुभजन र कबली एकैचोटि सुन्ने मौका पाएँ। त्यो पल मेरो लागि उत्कट आनन्दले भरिएको थियो।
मैले यो अन्तरमनदेखि यो सुख अनूभुति गरिरहेको बेला राजीवले ठ्याक्क रिक्सा साइड लगाउँछ र चाँदनी चोकको फेमस कटिङ चिया स्टेशन आयो भन्दै मलाई रिक्सामा नै बस्न आग्रह गर्छ। रात भइसक्यो चिया पसलभित्र थरीथरीका मान्छे छन्। हामी बाहिर बसेर नै चिया खाउँ भनेर ऊ दुई कटिङ चिया लिन जान्छ। दिल्ली महिलाहरूको लागि सुरक्षित छैन भन्ने सुनिरहेकोले होला मलाई पनि रिक्साबाट झरेर त्यहाँभित्र जान मन लागेन। बाटोमा हिँडिरहेका मान्छेले मलाई नै घुरिरहेका छन् कि भन्ने भान पनि भइरहेको थियो मलाई।
राजीव र म कटिङ चिया पिउँदै गफ गर्न थाल्यांै। म रिक्सामा थिएँ। ऊ भित्रबाट एउटा कुर्सी ल्याएर मेरो नजिककै बस्यो। उसको र मेरो बसाइले प्रष्ट झल्काउँथ्यो कि राजीव आफ्नो ग्राहकको राम्ररी हेरविचार गर्दैछ र नराम्रा नजरहरूबाट सुरक्षा दिँदैछ।
राजीव आधा कपको कटिङ चिया सुरुप्प तान्दै मुसुक्क हाँस्छ। रंग र चिनी कडा बनाएर आधा कपमा बाक्लो र स्पेसल तरिकाले उमालेको दुधलाई चिया बनाएर दिनेलाई नै कटिङ चिया भनिँदो रहेछ।
कटिङ चियाको मजा लिँदै थिएँ। त्यतिकैमा उसले मलाई ‘म्याम आप काश्मिर, हिमाञ्चल से हो?’ भनेर सोध्यो।
‘नही मे नेपालसे हुँ, क्यू?’ भनेर सोध्दा ऊ फेरि मुसुक्क हाँस्दै भन्छ– आपका हिन्दीके टोन अलग से हे, आपकी हिन्दी काफी काश्मिर हिमाञ्चलके लोगो से मिल्ते हे।’ मलाई मेरो हिन्दी बोलाइमा लाज लाग्यो, काश्मिरको मान्छेको बोलीसँग दाँजेर झन् खिस्साएको जस्तो लाग्यो। तर, हामी दुबै मेरो हिन्दीको टोनमा दिल खोलेर हास्यौं।
राजीव भन्थ्यो, जीवनमा एउटा केटीमाथि मात्रै आँखा लगाइयो। अनि उनीसँग नै विवाह गरेँ रे।
कटिङ चियालाई दुबै हातले मोल्दै ऊ भन्छ, ‘म्यामसाहेब मेने यही मिना बजारमे उनको पहिली बार देखा था और मेने साइड हान्ना भी सुरू किया।’ अलि लजाउँदै ऊ आफ्नो प्रेम कहानी सुनाउँदै थियो। एकदमै खुसी छ रे, उसलाई पनि त्यही साइड हानेको केटीले मन परायो र विवाह गरेकोमा। उसलाई त्यतिखेर लाग्थ्यो रे कि उसकी ती प्रेमिका हिँडेर नै यो चाँदनी चोक उज्यालो भइरहेछ। उनी आएपछि चाँदनी चोकमा बल्ल चाँदनी आएको र सही मात्रमा चाँदनी चोकको मतलब भएको महसुस गथ्र्यो रे ऊ।
राजीव यो अनुभव सुनाउँदै हाँस्दै भन्छ, ‘म्यामसाहेब मेरे पत्नी बहुत गोरा हे, बच्चेभी गोरे, जन्मे मे बहुत खुस हुँ,’ ऊ यो कुरा मलाई भनिरहँदा एकदमै गर्व महसुस गर्दै थियो। ऊ मुस्कुराइरहेको थियो। मानौँ श्रीमती गोरो पाउनु र छोराछोरी पनि गोरो जन्मिनु उसको लागि संसारकै ठूलो वरदान थियो। मैले महसुस गरेँ, मनमा कति गह्रौं चोट लिएर ऊ हाँसिरहेको छ। उसले आफ्नो रंगको बारेमा केही नभने पनि उसको कुराबाट स्पष्ट हुन्थ्यो कि उसलाई आफू कालो हुनुमा कति खेद रहेछ। ऊ बाँचेको परिवेशले उसलाई पलपलमा कालो भनेकै नराम्रो भनेर आभाष दिँदोरहेछ। त्यही परिवेशले उसलाई गोरो छालामा नै समस्त खुसी छ भनेर सोच्न बाध्य बनाएछ। उसको आफ्नो अस्तित्वमा मानिसहरूले बाँच्नै दिएन छन्। उसको गोरोप्रतिको मोहले यो सबैकुरा झल्काउँथ्यो।
मैले पनि उसँग जिस्किएर भनिहालेँ, ‘किन गोरो अनुहारमा यति धेरै खुसी भेटेको, म पनि त काली छु तर मलाई त आफ्नै छाला राम्रो लाग्छ।’ कटिङ्ग चियाको कप रबिस विनमा राख्दै कर्के नजर लगाउँदै फेरि आधी भाँचिएको दाँत देखाउँदै मुसुक्क हाँस्दै भन्छ, ‘म्यामसाहेब, आपभी गोरा बन्नेके लिए क्रिम नही लगाती? मुझे पता हे यस चाँदनी चोकमे कटिङ चिया से भी ज्यादा गोरा बनाने क्रिम चल्ते हेँ। गोरे छाले सबको पसन्द हे इसलिए सब गोरे बन्नेके चक्करमा हेँ।’
राजीवको कुराले म ठ्याक्कै चुप भएँ। उसले जस्तै म पनि मुसुक्क हाँसे। तर, उसको कुरामा यथार्थ पनि त थियो, त्यही दिन पनि त मैले गोरो हुने क्रिम लगाएर नै त उसको रिक्सामा चढेर चाँदनी चोक घुमेर कटिङ चिया खाएकी थिएँ।
रातको ८ बजिसकेको थियो। दिल्ली महिलाहरूको लागि सुरक्षित छैन भन्ने सुनिरहेकोले होला बाटोमा हिँडिरहेको मान्छेले मलाई नै घुरिरहेको छ कि भन्ने भान पनि परिरहेको थियो। चाँदनी चोकको एउटा गल्लीमा राजीव र म गफिदै थियौँ। बाटोमा हिँड्ने व्यक्तिदेखि कटिङ चिया बनाउने साहुजी समेतले हामीलाई हेर्दै थिए। राजीवसँग त्यसरी गफ गर्दै जाँदा मलाई आफू असुरक्षित छु भन्ने पनि महसुस भएन। के दिल्लीमा सबै केटा मान्छे खराब हुन्छ त? के दिल्लीमा सबै केटा बलात्कारी हुन्छ त? दिल्लीमा के सबै केटा मान्छे केटी देख्नवित्तिक्कै घुरिहाल्छन् त? के दिल्लीमा राजीव जस्तो व्यक्तिहरू पनि बस्दैनन् र? केही व्यक्तिहरूको गल्ती र राक्षसीपनको मूल्याङ्कन राजीवजस्तो व्यक्तित्वमाथि गरिनु पनि सरासर गलत होइन र? हो दिल्लीमा राजीवले मलाई प्रोटेक्ट गरेर रिक्सामा राखेजसरी हरेक महिलालाई सम्मान र इज्जतको दृष्टिकोणले हेरियोस् भन्ने मेरो चाहना हो।
मलाई होटल जान ढिलो भए पनि उसको लभ स्टोरी सुन्न मन लाग्यो। मैले उसलाई सोधेँ फेरि, ‘अर्को कटिङ चिया खाने?’ उसले भयो भन्यो। तर, पनि मैले फोर्स गरेर उसलाई अर्को कटिङ चिया पिलाइदिएँ।
राजीवको लभ स्टोरी सुरू हुन्छ।
उनको नाम सुपर्णा रे। सुपर्णा कलकतामा जन्मेकी रहेछ। तर, पछि आमा–बुबासँग दिल्ली बसाइँ सरेकी रहिछ। राजीव राजिस्थानको रे। मजदुरी गर्न दिल्ली आएको रहेछ बीस वर्ष अगाडि। उसलाई लाग्दो रहेछ, आफ्नो गाउँमा मात्रै होइन यो भारतमा नै आफूजस्तो कालो मान्छे कोही छैन र उसलाई गोरी केटी विवाह गर्ने ठूलो रहर पनि रहेछ। चाँदनी चोकमा एक दिन उसले सुवर्णालाई साथीहरूसँग कटिङ चिया खाइरहेको देखेछ। उसलाई सुवर्णा देख्नेवित्तिक्कै एकदमै मन पर्यो रे।
ऊ हाँसो गर्दै भन्छ, ‘म्यामसाहेब व खुवसूरत और गोरा तो थी, जब हँस्ती थी तो मेरे से भी ज्यादा सेते दाँत देख्थेते।’ उसलाई अमिताभ र ऋषि कपुर एकदमै मन पर्ने रे। उनीहरूकै फिल्म हेरेर लभ गर्न, साइड हान्न सिकेको रे। ऊ भन्थ्यो, यस चाँदनी चोकबाट आफ्नो प्रेमिकालाई कसैले बढी किनेको छ भने मैले हो। उसको गोरो नाडीमा हरेक चुरा सुहाउँथ्यो र अझ पनि म किनेर लान्छ रे।
खै कुन हो फिल्ममा हिरोले आफ्नो हिरोइनलाई चुरा गिफ्ट दिएको देखेको थियो रे। र, त्यसपछि गिफ्ट त चुरा नै दिनुपर्छ भन्ने उनलाई लागेछ। एक दिन गर्वाचौथमा उनलाई चुरा दिन लालकिल्लाको बगैँचामा गएको थियो रे। उनले बगैँचामा आफूलाई कुरेर बसेको देखेपछि एकदमै एक्साइटेट भएर चुरा दिन दौडिरहेको थियो रे। उसको खुट्टा एउटा ढुङ्गामा ठेस लागेर लडेर त्यसदिनै उसको अगाडिको दुई वटा दाँत पनि आधी भाँचिएछ, चुरा पनि फुटेछ। त्यस घटनापछि उसलाई सुर्वर्णाले झन् माया गर्न थालिछिन् र पछि उनीहरूले भागेर विवाह गरेछन्।
ऊ आफ्नो भाँचिएको अगाडिको सेता दाँत देखाउँदै भन्छ, ‘म्याम साहेब यस आधा दाँत मेरा पहेले प्यारकी निशानी हे, यस दाँत पे तरस खाके सुवर्णा ने मुझ्से सादी किइथी।’
राजीवले मलाई ट्याक्सी स्टेसनतिर लाँदैथियो। ऊ मौन भएर रिक्सामा मलाई तानिरहेको थियो। विचरा दिनभरि कति मानिसहरूलाई यसरी तानिरह्यो होला। यो दिल्लीको प्रचण्ड घाममा पसिना पुछ्दै कति मानिसहरूलाई उनीहरूको गन्तव्यमा पुर्याइदियो होला। विवाह गरेको १५ वर्ष भएछ, पन्ध्र वर्षमा चार वटा छोराछोरी, आफू यो गर्मीमा दलिएर अझ कालो हुन मञ्जुर छ उसलाई। तर, आफ्नो सुवर्णालाई कालो हुन्छ कि भनेर घाममा ननिस्कन आग्रह गर्छ ऊ। ऊ भन्छ, ‘यो चाँदनी चोक नहुँदो हो त, यो कटिङ चिया त्यो नपिउँदो हो त आज मैले पाएको खुसी कहाँ सम्भव हुन्थ्यो र?’ गफ गर्दै गर्दा ऊ अलि भावुक हुँदै भन्यो, ‘यो चाँदनी चोक र कटिङ चिया पिलाउन म कति लड्की ल्याउँछु। तर, आजसम्म पनि उसले जति जुन मीठो तरिकाले कटिङ चिया खान्छ त्यो कसैले पनि खाँदैन, उसमे बात हि खुबसुरत हे।
म ट्याक्सी स्टेसनमा उसको रिक्साबाट झर्छु। उसले आफैँले मलाई एउटा ट्याक्सी रोकिदिन्छ। यतिमा पुर्याइदेऊ भन्दै ड्राइभरसँग मिलाउँछ। ट्याक्सीको पछाडि नम्बर पढ्दै उसले भन्छ, ‘म्यामसाहेब मेने ट्याक्सीका नम्बर याद करलिहे आप आराम से जाओँ। मे भी घर जाउँगा, आपको कलभी घुम्ना हे तो आप इस नम्बरमे कल किजिए।’ उसले आफ्नो मोबाइल नम्बर दिएर जान्छ।
रिक्सा चलाउदैँ गएको राजीवलाई परसम्म मैले नियालिरहेँ। गोरो छाला भएको श्रीमतीमा उसले सर्वस्व गुण देखिरहेको छ। तर, उसले आफ्नो कालो छालाभित्र लुकेको त्यो सफापन, निर्दोषपन कहिल्यै महसुस गर्न नै पाएको छैन।