भारतीय राष्ट्रपति प्रणव मुखर्जीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वागत गर्ने भएकी छन् । बुधबार मध्याहन १२ बजे चार्टर विशेष विमानमा काठमाडौं उत्रन लागेका राष्ट्रपति मुखर्जीलाई विमानस्थलको अति विशिष्ट कक्षमा राष्ट्रपति भण्डारी नेतृत्वको टोलीले विशेष स्वागत गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
भारतको विदेश मन्त्रालयले नेपाल भ्रमणको कार्यतालिका सार्वजनिक गरेको भोलिपल्ट परराष्ट्र मन्त्रालयले समेत भ्रमण कार्यक्रम सार्वजनिक गरेको हो । १८ वर्षपछि भारतबाट यो स्तरको भ्रमण हुन लागेकाले सरकारले प्राथमिकता दिएर विमानस्थलमा राष्ट्रपतिलाई नै स्वागतका लागि पठाउने भएको हो । बुधबार सरकारले मुखर्जीको सम्मानमा राष्ट्रिय बिदासमेत घोषणा गरेको छ ।आजको कान्तिपुरमा खबर छापिएको छ ।
राष्ट्रपति भण्डारीको निमन्त्रणामा राजकीय भ्रमणका लागि नेपाल आउन लागेका मुखर्जीको सुरक्षा व्यवस्था र कार्यक्रमबारे उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले स्थलगत अवलोकन गर्दै वस्तुस्थिति जानकारी लिएका छन् । उनको भ्रमणको सुरक्षाको विशेष व्यवस्था गरिएको पनि जनाइएको छ । भारत र पाकिस्तानबीच पछिल्लो समय देखा परेको चिसो सम्बन्धका कारण सुरक्षा व्यवस्थालाई विशेष ध्यान दिइएको गृह मन्त्रालयका अधिकारीहरूले बताएका छन् । भारत९पाकबीचको चिसो सम्बन्ध र नेपाल–भारत खुला सिमानाका कारण पनि राष्ट्रपतिको भ्रमणमा विशेष सुरक्षा संवेदनशीलता अपनाइएको अधिकारीहरूले बताए ।