वर्षकै सबैभन्दा बढी विद्युत् खपत हुने लक्ष्मीपूजाको दिन विद्युत् माग १ हजार ४ सय ४४ मेगावाट पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार सम्भवतः यो वर्षकै सबैभन्दा उच्च माग भएको समाचार आजको कारोबार दैनिकमा प्रकाशित भएको छ।
प्राधिकरणले गत वर्षको तिहारमा वर्षकै सबैभन्दा बढी १३ सय ८५ मेगावाट पुगेको जनाएको थियो । विद्युत् प्राधिकरण भारप्रेषण केन्द्रका प्रमुख विष्णु श्रेष्ठ लक्ष्मीपूजाको दिन विद्युत्को माग लक्ष्मीपूजाको दिन १ हजार ४ सय ४४ मेगावाट पुगेको र यो वर्षकै सबैभन्दा उच्च माग हुन सक्ने बताउँछन् ।
लक्ष्मीपूजाको दिन विद्युत्को माग १५ सय मेगावाटको हाराहारीमा पुग्ने अनुमान प्राधिकरणको थियो । प्रतिवर्ष १० प्रतिशतका दरले विद्युत्को माग बढ्ने विज्ञहरूले बताउँदै आए पनि यसपालि भने ५ प्रतिशतभन्दा पनि कम माग बढेको छ ।
लोडसेडिङ नभएको तथा झिलिमिलीका लागि समेत बिजुली कम खपत गर्ने एलईडी लगायतका चिमहरूको प्रयोगको कारण बिजुलीको माग कम भएको अनुमान प्राधिकरणका अधिकारीहरूको छ ।