नेकपा एमाले प्रदेश न. ४ को बैठक तथा भेला आइतबारदेखि नवलपुर क्षेत्रको अमलटारीमा सुरु हुँदैछ।
नवलपरासीको दाउन्ने पूर्व भागलाई संविधानले प्रदेश नं ४ मा कायम गरेपछि एमालेले पहिलो पटक थारु होमस्टे गाउँ अमलटारीमा बैठक गर्न लागेको हो।
एमालेका केन्द्रीय सदस्य तिलक महतका अनुसार दुई दिने सो बैठक तथा भेलामा प्रदेश नं ४ का ११ जिल्लाका पार्टी अध्यक्ष, पूर्व अध्यक्ष, केन्द्रीय सदस्य, पूर्व राष्ट्रिय प्रतिनिधि परिषद्का सदस्यसहित यो प्रदेशका पोलिटब्युरो सदस्य र स्थायी समितिका सदस्यको सहभागिता रहने छ।
मनाङ, मुस्ताङ, गोर्खा, म्याग्दी, पर्वत, बागलुङ, कास्की, तनहुँ, स्याङ्जा, लमजुङ र नवलपरासी जिल्लाको दाउन्ने पूर्वको भाग प्रदेश चारमा पर्दछ।
प्रदेश न. ४ मा नवलपरासीको भूभाग सानो हो भन्ने भ्रमलाई चिर्न पनि भेला महत्वपूर्ण हुने एमाले जिल्ला अध्यक्ष रोशनबहादुर गाहाले बताए।
निर्वाचन क्षेत्र नं १, २, ३ र ६ को त्रिवेणीसुस्ता प्रदेश नम्बर ४ मा पर्छ अध्यक्ष गाहाले भने– “जनसङ्ख्याका आधारमा हामी यो प्रदेशको पहिलो जिल्ला हुन सक्छौं त्यो सन्देश प्रदेशभरि पु¥याउँछ ।” चितवन राष्ट्रिय निकुञ्जका आधा भाग नवलपुर क्षेत्रमा पर्छ।
यो पर्यटकीय हवको प्रदेश हो भन्ने सन्देश पनि बैठकले दिने केन्द्रीय सदस्य महतले बताए।
एक सय ५० प्रतिनिधि सहभागी हुने कार्यक्रममा गैँडाकोटदेखि दाउन्नेसम्म तुल र ब्यानरले सजाइएको छ। बैठकमा भाग लिन प्रतिनिधिहरु आउने क्रम आजदेखि सुरु भएको छ। रासस