किरात एकेडेमी नेपालले २०६७ सालमा सर्वप्रथम किराती सौन्दर्यशास्त्रको आधिकारीक बहस सुरु गरेको थियो, जुन यत्तिखेर नेपालको सांस्कृतिक कित्तामा एउटा जब्बर 'डिस्कोर्स'को रुपमा स्थापित हुँदै गएको छ।
एकेडेमीले जनवरी २०१० मा प्रकाशन गरेको ‘किराती सौन्दर्यशास्त्रको अवधारणा’ र त्यो अवधारणापत्रको आधारमा सम्पन्न तीन/तीन किस्ताको सामुहिक छलफल बहसले बिषयलाई प्राज्ञिक तहसम्म पुर्याउने काम गर्यो। त्यसयता ६ वर्षको अन्तरालमा जेजति बिषय उठान भइरहेका छन्, सौन्दर्यशास्त्र निर्माणको तहमा ती सब पर्याप्त छैनन्। तैपनि बिषयहरु जो उठिरहेका छन्, त्यसको लागि किरात एकेडेमीलाई स्मरण गर्नैपर्छ।
किराती सौन्दर्यशास्त्रको आवश्यकता के कारणले हुन गयो? सौन्दर्यशास्त्रको तहमा किराती सौन्दर्यशास्त्रको निर्माण सम्भव छ कि छैन? यदि छ भने तिनका आधार सर्तहरु के के हुन्? यी प्रश्श्नहरुका बारेमा ‘किराती सौन्दर्यशास्त्रको अवधारणा’मा सुत्रात्मक रुपले छलफल गरिसकिएको छ। यत्ति हो कि कुनै पनि सौन्दर्यशास्त्रको बहुआयामिक पक्षहरु हुन्छन्। ती प्रश्नहरुसँग गाँसिएका सापेक्षित पक्षधरताहरु हुन्छन्। सौन्दर्यको आफ्नै दृष्टिकोण हुन्छ, बोध हुन्छ, चिन्तन र मूल्यमान्यताहरु हुन्छन्। यी सब मिलेर बल्ल बन्दछ, एउटा पृथक सौन्दर्यशास्त्र।
किराती सौन्दर्यशास्त्रको कुरा गर्दा हामीले त्यत्तिखेरैदेखि किराती मूल्य पद्धतिहरुको बारेमा बहस उठाएका हौं। सौन्दर्यशास्त्र निर्माण हेतु किराती बिशेषताहरु के–के हुन्? तिनका बुँदाहरु टिपोट गर्यौं। उनीहरुको जीवनदर्शन, प्रकृतिसँगको उनीहरुको सम्बन्ध, ऐतिहासिक नैरन्तर्यता, पूर्वजप्रतिको आस्था, माटोसँगको अविच्छिन्नता, मुन्दुमी दर्शन, किराती नारी सौन्दर्य आदि बिषय र ती सम्बन्धी सापेक्षित पक्षधरताहरुको बिषयमा बहस गर्यौं। किराती सौन्दर्यशास्त्रका यी यस्ता बलशाली पक्षहरु हुन्, जस्ले सौन्दर्यशास्त्र निर्माणमा सघाउ पुर्याउँछन्। र, आजसम्म जे जत्ति बहसहरु उनीहरूका बारेमा भएका छन् र जे जत्ति बिषयहरु बहसबाट छुटेका छन्, ती सबैलाई दस्तावेजीकरण गर्दै लानु नै सौन्दर्यशास्त्र निर्माणको प्राथमिक कार्य हो भन्ने बुझ्नुपर्छ।
सौन्दर्यशास्त्रका अनेक आयामहरुमध्ये नारी सत्ता एउटा बलशाली आयाम हो। समाजका नारीहरूको अवस्थिति, तिनका सामाजिक मूल्य, समग्रमा तिनका सत्ता र सौन्दर्यको कुराले ठूलो महत्व राख्दछन्। जसको बारेमा संक्षेपमा यहाँ वर्णन गरिन्छ।
किराती सौन्दर्यको सन्दर्भ आउँदा अथवा किराती नारीहरुको रुप विन्याशको बयान गर्दा मलाई अक्सर झन्डै तीन दशक अगाडिको गोपाल योञ्जनको एउटा गीत सम्झना हुने गर्छ। उनले त्यस गीतमा नारी सौन्दर्यको बारेमा आँखाको बयान गर्दा 'बदामी आँखा' भनेर बयान गरेका छन्। कुनै पनि नारीको आँखाको बयान गर्दा 'बदामी' भन्ने सौन्दर्यवाची शब्द प्रयोग भएको र मैले सुनेको सायद त्यो पहिलो शब्द थियो। त्योभन्दा अगाडि त आम रुपले 'मृगनयनी आँखा' प्रयोग भएको सुनिन्थ्यो। जसले प्रत्यक्ष रुपले आर्यन मूलका हिन्दु नारीहरुको सौन्दर्यको बयान गर्थ्यो। मलाई त्यत्तिखेरैदेखि लागेको हो,'मृगनयनी' भन्दा भित्रतिर नगाडिएको, बाहिरी भागमा बीचमा चिरिएको, चिम्सो आकारको 'बदामी आँखा' किराती सौन्दर्यको नजिक छ। हुन पनि गोलो आकारको अझ भनौं बाटुलो कमलमूखी अनुहार, बदामी आँखा, र मध्यम उचाईको सुम्निमा नाक नै स्थापित किराती सौन्दर्यको मापक हो।
तर, सौन्दर्यशास्त्रको दृष्टिकोणले किराती नारीहरुको सौन्दर्यको कुरा गर्दा तिनीहरुको नाक, नक्सा, आँखाको वर्णनले मात्र पर्याप्त हुँदैन, बरु समाजमा तिनीहरुको स्थान, उत्पादनका साधनहरुसँगको तिनीहरुको सम्बन्ध, तिनीहरुको सापेक्षमा जोडिएको सामाजिक पक्षधरता जस्ता कुरा नै प्रधान कुरा हुन्, जसले समस्त किराती समाज बुझ्नमा सघाउ पुर्याउँछन्। यसले नै किराती सौन्दर्यशास्त्र निर्माणमा आफ्नो विशिष्ट स्थान ग्रहण गर्दछन्।
मुन्दुम अनुसन्धाता भोगीराज चाम्लिङको खोज अनुसार सबभन्दा पुरानो मुन्दुमी रिसियामा केवल किराती नारी पात्र (पूर्खा) हरुको मात्र वर्णन भेटिन्छ। त्यसपछिको रिसियामा मात्र पुरुषहरुको आधिक्यता पाइन्छ। यसबाट के पुष्टि हुन्छ भने संसारका सबै मानव समुदायको विकासक्रम सँगसँगै किराती समाजको पनि सबभन्दा प्रथम र पुरानो सत्ता मातृ सत्ता थियो र जो अत्यन्तै बलशाली थियो। त्यसैले पुरानो मुन्दुममा केवल मातृसत्ताको बखान स्वभाविक हुन गयो। र, त्यस्तै स्वभाविक यो पनि हुन गयो कि पितृसत्ताको प्रादुर्भावपछि मातृसत्ताको बखान मुन्दुममा न्युन देखियो।
तर, किरातीहरुको हकमा एउटा चाख लाग्दो बिषय के छ भने पितृसत्ताको त्यो प्रभाव मुन्दुममा बाहेक किराती व्यवहारिक समाजमा उस्तो बलशाली देखिदैँन। आधुनिक पितृसत्तात्मक परिवारको समानान्तर प्राचीन मातृसत्तात्मक प्रभाव पनि किराती समाजमा सँगसँगै बाँचिराखेको देखिन्छ। आखिर पितृसत्ताको त्यो बलशाली कडि किराती समाजमा कहाँनिर टुट्न गयो? जसले अरु समाजलाई जकडिराखेको छ। सायद यो खोजको बिषय हो। के मुन्दुम श्रुतिमा आधारित एक अप्राप्य र सर्वसाधारणका लागि दुर्लभ दस्तावेज भएर हो? अथवा हिन्दु सौन्दर्यशास्त्रका मनुस्मृति, पुराण र अनेक महाकाव्यहरूजस्ता समाजलाई नियमन गर्ने लेख्य इतिहास नभएर हो? जुनसुकै कारणले होस्, किराती समाजका नारीहरू अरु समाजका नारीहरूभन्दा तुलनात्मक रुपले पितृसत्ताको कम दवाबमा छन्।
समाज व्यवस्थाले निर्माण गरेको वर्गभेद किराती समाजमा पनि छ, तर लिङ्गभेद किराती समाजमा कम छ। उत्पादनको साधनसँग आधुनिक किराती नारीहरूको प्रत्यक्ष सम्बन्ध नदेखिएला, तर त्यसको व्यवस्थापकिय घुमाउरो सम्बन्ध अझै पनि तिनीहरूकै हातमा छ। यसले गर्दा अरु समुदायभन्दा खासगरी हिन्दु समुदायका नारीभन्दा किराती नारीहरू तुलनात्मक रुपले बढी स्वतन्त्र छन्। उनीहरुको सामाजिक र सांस्कृतिक मूल्य तुलनात्मक रुपले बढी छ। समाजमा उनीहरुको हैसियत समानान्तर छ। त्यसैले गर्दा उनीहरु अरुभन्दा अलिक बिशिष्ट छन्। यसो हुनुको पछाडि मूल तीन कारणहरु रहेका छन्। जुन निम्न प्रकार छन्ः
१. मातृसत्ताको अवशेषको कारणः
माथि पनि भनिसकियो कि किराती समाजमा पितृसत्ताको दवाब कम छ। मुन्दुम केवल मौखिक परम्परामा केही सिमीत व्यक्तिसँग मात्रै जिवीत दर्शन हुनाले त्यसभित्र वर्णित ऐतिहासिक तथ्यहरु ओझेलमा परेर हो वा मुन्दुममै लिङ्गीय विभेद नभएर हो आज पनि समाजमा केवल मातृसत्तात्मक पात्रहरु नै बढी शक्तिशाली र बढि मुखर छन्। आज पनि पारुहाङभन्दा सुम्निमालाई बढि सम्झना गरिन्छ। हेत्छाकुप्पाभन्दा तायामा–खियामालाई नै बढि महत्व दिइन्छ। निनाम्मा, हेन्खामा कोही पनि पुरुष सत्ता हैनन्, जसलाई सांस्कृतिक जीवनको अभिन्न अंश बनाइएको छ।
किराती समाजको आस्थाको केन्द्रमा कोही पनि त्यस्ता पुरुष पात्र छैनन्, जसले मातृसत्ताको वर्चस्वलाई तोड्न सकुन्। किराती राई जातिको 'तीन चुल्हा' जसलाई आस्थाको सर्वोच्च स्थानको रुपमा हेरिन्छ, ती मध्य प्रमुख एक चुल्हा पुरै मातृसत्ताको लागि छुट्याइएको हुन्छ। जसलाई अन्य चुल्हाहरुसँगै समान रुपले पुज्ने गरिन्छ। किरातीहरुको पुरानो समाजतिर फर्केर हेरौं, त्यहाँ लोग्ने मान्छे केवल 'बारको घोचा' हुन्, जसको बाह्य सुरक्षा प्रदान गर्ने बाहेक अर्को व्यवस्थापकीय र निर्णयक काम केही छैन। जुन काम घरको मूली मातृसत्ताको निर्णयमा सञ्चालित हुन्छ।
यसको प्रभाव आजको आधुनिक किराती परिवारमा पनि प्रष्टै देख्न सकिन्छ। कतिपय चेलीहरु विहे गरेर दुलाहाको घर प्रवेश गर्दा आफ्नो कुल देवीसँगै प्रवेश गर्छिन्। कारणवस घर छोडेर सदाको लागि माइती फर्कनुपर्यो भने पुरानै सदस्यको हैसियतमा फर्किन सक्छिन् र माइतीको व्यवस्थापकीय कार्यभार सम्हाल्न सक्छिन्। किराती बालबच्चाको न्वारानको दिन नाम राख्ने काम त अद्यावधि बुढी बोज्युहरुले नै गर्दै आइरहेकै छन्, जसले मातृसत्ताको नैरन्तर्यतालाई कायम गरिरहेको छ। यी यस्ता केही उदाहरणहरू हुन्, जसले मातृसत्ताको अवशेषलाई जीवित राख्दै आइरहेका छन्।
आज पनि किराती परिवारमा अक्सर माइतीहरु चेलीद्वारा निर्देशित हुने गरेको देख्दा तायामा–खियामा र हेत्छाकुप्पाको पुरा कथा दोहोरिए झैँ लाग्छ। आधुनिक किराती परिवार अनेक ढङ्गले चलेको होला, तर आम किराती समाजले समाज विकासको प्रक्रियासँगै अनेक चरणहरु पार गर्दै आए पनि मातृसत्ताको शक्तिशाली अवशेषलाई भने जोगाइरहेकै छ। यो कुरालाई अनके उदाहरणहरुद्वारा पुष्टि गर्न सकिन्छ। र, यही कारणले किराती नारीहरु तुलनात्मक रुपले अरुभन्दा केही स्वतन्त्र, केही पृथक र केही विशिष्ट लाग्छन्।
२. स्वाधीन इतिहासको कारणः
केही झिना मसिना ऐतिहासिक घटना, परम्परागत समाजका केही जटिलता र आधुनिक जातीय/लिङ्गीय विभेद बाहेक युनानी वीरकाल र भारतीय युद्धकालका नारीहरुजस्तै रखैल र यौनदासी बन्नु परेको फोहोरी इतिहास किराती नारीहरुको छैन। न हिन्दु धर्मशास्त्र र मनुस्मृतिकोजस्तो चर्को विभेद खप्नुपर्यो उनीहरूले। न त धार्मिक अन्धताको कारण देउताको नाममा चढाइएको कुनै देउकीजस्तो देवदासी हुनु परेको कथा छ, किराती समाजमा। न कुमारी प्रथा छ, न बुर्का। न संसारमा प्रचलित धर्मले खाने बालिका भोग खान्छ किराती धर्मले। न यी सब कुराको वर्णन छ, मुन्दुममा।
किराती मिथकालदेखि आजसम्मकै इतिहासमा पूरै स्वाधीन छ, किराती नारी समाज। यसै कारणले किराती नारीहरु अरुभन्दा स्वाधीन छन्, अरुभन्दा केही पृथक छन्। ऐतिहासिक र धार्मिक कारणले दासत्व भोग्न नपरेको हुनाले किराती नारीहरु विद्रोही कम छन्, तर स्वाभीमानी बढि छन्।
अर्कोतिर हिन्दु पुराण र धर्मशास्त्रका देवी देवताहरु जस्ता चमत्कारले भरिएका स्वैरकाल्पनिक पात्रहरु किरातीहरूसँग छैनन्। किराती मिथमा भेटिने तायामा–खियामाजस्ता नारी पात्रहरु हिन्दु पुराणका जस्ता देवी हैनन्। उनीहरु आजकै नारीहरूजस्ता सामान्य भौतिक जीवन बाँच्दछन्। बाँच्नका लागि प्रकृति र तात्कालीक परिवेशसँग संघर्ष गर्दछन्। यसरी पनि ती नारीहरू तुलनात्मक रुपले अलि बढि भौतिक र अलि बढि विशिष्ट लाग्छन्।
३. भाषिक समानताको कारणः
टिवेटो-वर्मिज समुहमा पर्ने किराती नेपाली भाषा खस नेपाली भाषाभन्दा कम विभेदकारी भएको कुरा पुष्टि गर्न सकिन्छ। साधारणतया मान्छेले आफ्नो चिन्तन प्रकृया भाषबाटै सुरु गर्ने र, जीवन जगतसम्बन्धी आधारभूत धारणा भाषाबाटै निर्माण गर्ने र स्वअस्तित्वको बोध पनि भाषाबाटै गर्ने भएकोले भाषाको महत्व ठूलो छ। यदि भाषामै विभेद भयो भने के व्यक्तित्व निर्माण समान रुपले हुन सक्छ? अवश्य सक्तैन। एउटा व्यक्तिले जे कर्म सम्पन्न गर्छ, त्यसबाटै उसको व्यक्तित्व निर्माण हुने हुनाले कतिपय भाषामा यहिँनिर विभेद कोरिएको हुन्छ।
जस्तो खस नेपाली भाषामा कुनै पुरुष 'आउँछ' भने त्यहिँनिर एउटा महिला 'आउँछे' हुन्छ। पुरुषले 'खान्छ' भने महिलाले 'खान्छे'। पुरुषले 'गर्छ' भने महिलाले 'गर्छे'। यसरी नेपालमा स्थापित हिन्दु सौन्दर्यशास्त्रको राज्यभाषा खस नेपाली भाषाले सुरुदेखि नै (घरबाटै) एउटा महिलालाई महिला हुन सिकाउँछ। मान्छेको क्रिया विशेषलाई अभिव्यक्त गर्ने विभेदकारी भाषिक पदावली नै एउटी महिलालाई आजन्म महिला भइरहन प्रेरित गर्छ। तर, यस्तो विभेद किराती भाषामै नभएको हुनाले किराती नारीहरुले सुरुदेखि नै आफूलाई समान महशुस गर्छन्। यो कारणले पनि हिन्दु समुदायका नारीहरुभन्दा किराती नारीहरु तुलनात्मक रुपले समान छन्। त्यसैले अलि बढि स्वतन्त्र र पृथक पनि छन्।
किराती सौन्दर्यशास्त्र र यसबारेको बहस कसैको विरुद्धमा लक्षित छैन। बढिमा नेपालमा स्थापित हिन्दु धर्ममा आधारित हिन्दु सौन्दर्यशास्त्रले यहाँका रैथाने सौन्दर्यहरुमाथि गरेको अतिक्रमणको कारण प्रकट हुन पुगेको आफ्नै मूल्यको खोज हो, यो। यसको लागि अथवा किराती सौन्दर्यशास्त्र निर्माणको लागि अनेक आयाम र पक्षहरु स्थापित सौन्दर्यको मानकभन्दा कुन आधार र सर्तमा विशेष छन्! यही खोजको कारणले यहाँनिर किराती नारी सौन्दर्यको विशेष पक्षहरुको बहस हुन पुगेको हो। यद्यपि, यो पर्याप्त छैन। तथापि एउटा नयाँ सौन्दर्यशास्त्र निर्माणको लागि गरिएको सानो, तर विशिष्ट सोच भने अवश्य हो।
(कवि भूपाल राईको यो लेख गणेशकुमार राईको संयोजन र सम्पादनमा तयार भएको प्रकाशोन्मुख पुस्तक 'किराती सौन्दर्यशास्त्र'बाट लिइएको हो।)