बागमती अभियन्ता लीलामणी पौडेलले यो सफाइ अभियान अहिलेसम्मकै सबैभन्दा लामो स्वयंसेवी अभियान भएको बताएका छन्। शनिबार काठमाडौंको गोठाटारमा पुडासैनी समाजको सम्मान ग्रहण गर्दै अभियन्ता पौडेलले सम्मान, पद र प्रतिष्ठाका लागि नभइ निस्वार्थ रुपमा बागमती सफाइ अभियानमा लागेकाले यसले एक सय ८२ औं हप्तासम्म पनि निरन्तरता पाएको बताए।
उनले सामाजिक चेतनाको भावना, स्वाभिमान जगाउन र हामी गर्न सक्छौं भन्ने भावनाले मात्र आफूले सफाइ अभियानको नेतृत्व गरेको बताए। उनले बागमतीलगायत उपत्यकामा रहेका नदीको सरसफाइ र व्यवस्थापनमा ध्यान दिनुपर्ने अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास आयोजनालगायत विभिन्न नदी करिडोर आयोजनाले प्रभावकारीरुपमा काम गर्न नसक्दा अझै पनि बागमतीबाहेकका अरु प्रदुषित नै रहेको बताए।
पूर्व मुख्यसचिवसमेत रहेका पौडेलले जिम्मेवार निकायले प्रभावकारी काम नगर्दा अझै पनि नदी किनारमा ढल बिछ्याउने काम सम्पन्न नभएको टिप्पणी गरे। नदि किनारा अत्याधिक रुपमा अतिक्रमित हुँदा पनि प्रदुषण भएकाले सरकारले ति क्षेत्रको संरक्षण गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा शहरी विकासमन्त्री अर्जुननरसिंह केसीले सरकारी संयन्त्र र स्थानीय जनतासँग समन्वय नभएसम्म विकास निर्माणले गति लिन नसक्ने बताए। उनले काम नगर्ने बागमती सभ्यता परियोजनाका कर्मचारीलाई कारवाही गर्ने पनि बताए।