अमेरिकाको संघीय जाँच ब्यूरो ‘एफबीआइ’ले राष्ट्रपति उम्मेद्वार हिलारी क्लिन्टनलाई चर्चित इमेल प्रकरणमा सफाई दिएको छ।
अनुसन्धान गरिएका हिलारिका थप इमेलमा पुराना कुरा दोहोरिएको र नयाँ कुरा नभेटिएको भन्दै एफबीआइले आज उनलाई सफाई दिएको हो।
यसअघि पनि एफबीआइले महिनौं लामो अनुसन्धान पछी हिलारी क्लिन्टनलाई इमेल प्रकरणमा सफाई दिएको थियो। एफबीआइले भनेको थियो – हिलारीले विदेशमन्त्री हुँदा व्यक्तिगत सर्भरबाट इमेल आदान-प्रदान गरेर अत्यन्त लापरबाही गरेकी हुन्, तर उनलाई अपराधिक मुद्दा नै चलाउनु पर्ने आधार भेटिएन।
राज्यका अधिकारीले व्यक्तिगत सर्भरबाट इमेल आदान प्रदान गर्दा राज्यका अत्यन्त गोप्य सूचना चुहावहको सम्भावना हुन्छ र त्यसलाई अमेरिकामा बर्जित गरिएको छ। केही महिना अघि एफबीआइको घोषणा पछि इमेल प्रकरण सकिएको अनुमान गरिएको थियो।
तर केही दिनअघि हिलारीले आदान प्रदान गरेका थप इमेल प्राप्त गरेको र त्यसमा थप अनुसन्धान गर्नुपर्ने भन्दै एफबिआइले अमेरिकी कांग्रेसलाई पत्र पठाएपछि उक्त प्रकरणले नयाँ मोड लियो।
चुनावको मुखमा आएर हिलारी विरुद्ध कुनै गतिलो प्रामाण बिना नै थप छानविन गर्ने कुरा सार्वजनिक गरेपछि एफबीआई निर्देशक जेम्स कोमेको चर्को आलोचना भयो।
अमेरिकी कानुन अनुसार कुनै पनि सरकारी निकायले चुनावको नतिजालाई प्रभावित गर्ने किसिमले छानविनको चरणमा रहेको कुनै मुद्दा सार्वजनिक गर्न पाइँदैन।
एफबिआइको उक्त कदमले हिलारीको चुनावी अभियानलाई ठूलो धक्का पुगेको बताइन्छ।
केही साता अघिसम्म चुनावी सर्वेक्षणमा हिलारी क्लिन्टनले आफ्ना प्रतिद्वन्दी रिपब्लिकन पार्टी उमेद्वार डोनाल्ड ट्रंम्पलाई १० प्रतिशत भन्दा बढी मत अन्तरले पछी पर्न सफल भएकी थिइन्। तर, एफबिआइले थप अनुसन्धान गर्ने भन्ने कुरा सार्वजनिक गरेपछि उनको अग्रता करिव ३ प्रतिशतमा झरेको थियो।
तर चुनावको दुई दिन अघि एफबिआइले फेरि हिलारीलाई सफाई दिए पछि घटनाले नयाँ मोड लिएको छ। एफबिआई निर्देशक कोमेले हिलारीको इमेल सम्वन्धी नयाँ कुरा नभेटेको र थप अनुसन्धान गर्नु नपर्ने बताएका छन्।
क्लिन्टन पक्षधारले एफबिआइको नयाँ घोषणाको स्वागत गरेको छन्। तर हिलारी क्लिन्टनले त्यस सम्वन्धमा अझै कुनै प्रतिक्रिया जनाएकी छैनन्।
तर रिपब्लिकन उमेद्वार ट्रंम्पले भने एफबिआइको नयाँ कदमको विरोध गरेका छन्। झन्डै साढे ६ लाखको संख्यामा रहेको इमेल बारेको अनुसन्धान केही दिनमा नै कसरी सकियो भनेर उनले प्रश्न गरेका छन्।
‘अमेरिकी प्रणाली धाँधलीयुक्त छ र त्यही धाँधलीयुक्त प्रणालीले हिलारीलाई अहिले जोगाइरहेको छ। यो कुरा म पहिलेदेखि नै भन्दै आएको छु,’ ट्रंम्पले चुनावी भाषणमा भनेका छन्, ‘हिलारी क्लिन्टन दोषि छन्, उनलाई यो कुरा थाहा छ, एफबीआइलाई थाहा छ, जनतालाई थाहा छ, र अब अमेरिकी जनताले नोभेम्बर ८ मा मतदान मार्फत न्यायको फैसला गर्नुपर्छ।’
पछिल्लो समयमा हिलारी र ट्रंम्पबीचको प्रतिष्पर्धा तिब्र भएको छ। हिलारीका समर्थक चिन्तित भएका छन्। तर, सर्वेक्षण अनुसार पछिल्लो समयमा हिलारीले २-३ प्रतिशतको अन्तर आफ्नो अग्रता कायम राखेकी छन्। धेरै विश्लेषक र डेमोक्र्याटहरुले ट्रंम्पले पछिल्लो समयमा गरेको प्रगति र हिलारीको खस्कँदो अवस्थाको दोष एफबीआइलाई दिएका छन्।