महोत्तरीसहितका मिथिला क्षेत्रमा आज अक्षय नवमी ‘कुष्माण्डा नवमी’ पर्व मनाइँदै छ। वैदिक परम्परामा ‘कुष्माण्डा नवमी’समेत भनिने यो पर्वका दिन आज कात्तिक शुक्ल नवमीमा अमलाको रुखमुनि खाने मैथिल परम्पराअनुसार आज यो पर्व मनाइने गरिएको छ।
आजका दिन हिन्दू धर्मावलम्बीका आराध्यदेव श्री विष्णु् अमलाको रुखमा बास गर्ने विश्वासले सो रुखमुनी बसेर भगवानको सामिप्यमा भोजन गर्ने परम्परा बसेको मैथिल परम्पराका जानकारको भनाइ छ। धातृ नवमीसमेत भनिने यस पर्वमा परिवार, कुलकुटुम्बसहित अमलाको रुखमुनि खानेकुरा पकाएर खानेगरेमा कहिल्यै ननासिने र पुण्यप्राप्त हुने जनविश्वास रहेको मिथिला संस्कृति तथा परम्पराका ज्ञाता जलेश्वर– १४ बखरीका महेश्वर रायले बताए।
यस पर्वमा बनाइने साहाकारी भोजनमा मलाको परिकार अनिवार्य रहने गरेको छ। अत्यन्त स्वास्थ्यवर्धक अमला फल खानयोग्य भएको जाडो बढ्ने मौसममा यसको प्रयोग गर्नुपर्ने सन्देस दिन अमलाकै रुखमुनि खाने चलन बसाइँएको हुनसक्ने संस्कृतिविद्हरु बताउँछन्।
अमलाको रुखमुनि पारेर पकाइएका परिकारमा अमलाका पात झर्ने र खानासँगै यी पात चपाएर खाइँदा स्वास्थ्यलाई फाइदा हुने मटिहानीस्थित यज्ञबल्क्य लक्ष्मीनारायण विद्यापिठका उपप्राध्यापक मनोज झा बताउँछन्।
मिथिलामा यो पर्वसँगै जाडो यामभरी खानेकुरामा अमलाको आलो अचार खाने चलन छ। मानव स्वास्थ्यका लागि अत्यन्त गुणकारी फल अमलाको रुखमुनि बसेर खाना खाँदा शरिरमा उर्जा दिने भएकाले यसको अनिवार्य प्रयोगका लागि पुर्वजहरुले परम्परा बसालेको बर्दिवास अस्पतालका वरिष्ठ स्वास्थ्यकर्मी राधेश्याम झाको भनाइ छ। मिथिलामा अमलाको रुखमुनि खाना खाने यो पर्व अबेर रातिसम्म मनाइने चलन छ। रासस