सडकपेटीमा कष्टकर जीवन जिउँदै आएका असहाय, मानसिक रोगी तथा पीडितको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय र मानवसेव आश्रमले ‘रात्रि सडक सेवा’ अभियान सुरु गरेको छ।
चितवन र नारायणगण्को सडक पेटी तथा यात्रु प्रतिक्षालयमा पुगेर संयुक्तरुपमा थालिएको अभियानमा तीन जना असहायको उद्धार समेत गरिएको तर पहिचान नखुलेका उनीहरुमध्ये एकजना भारतीय नागरिक छन्।
उनीहरुको उद्धारपछि अहिले भरतपुर बाइपास रोडस्थित मानवसेवा आश्रममा राखेर मनोविमर्श सेवासहित उपचार सुरु गरिएको आश्रमका अभिभावक केशव अधिकारीले जानकारी दिए। उपचारपछि उनीहरुको विवरण लिएर पुनः परिवारमै स्थापित गर्ने अभियानमा आश्रम लागेको छ।
चितवनका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा गएराति खटिएको सो टोलीमा आश्रमकी संयोजक रुपा केसीलगायतका स्वयंसेवी सहभागी थिए।
गएराति ८ बजेदेखि मध्यरात १२ बजेसम्म गरिएको अभियानमा सडकपेटी तथा प्रतिक्षालयमा बसेका असहाय तथा मानसिक समसया भएकाको खोजी गरिएको आश्रमका संयोजक रुपा केसीले जानकारी दिए।
यस्ता काम प्रहरी एक्लैले पनि नसक्ने र कुनै सङ्घ संस्थाले पनि नसक्ने भएकाले संयुक्तरुपमा अभियान थालिएको चितवनका प्रहरी प्रमुख एवम् प्रहरी उपरीक्षक वसन्त कुँवरले बताए।
स्थानीयबासी सचेत र जागरुक भए यस्ता असहायलाई सडकपेटीबाट मुक्त गर्न सकिने भए पनि अझै चेतना नभएको पाइएको छ। अहिले वास्तविक पीडित कम देखिएको र मदिरा पिएर बस्ने बढी देखिएको स्थानीय अभिभावक प्रेमप्रभा अधिकारीको भनाइ छ।
सडकमा कष्टकर जीवन जिउन बाध्य हुने स्थिति अन्त्य गर्न अभियान थालेको मानव सेवा आश्रमले अहिलेसम्म झन्डै १०० जनाको उद्धार गरेकामा ३२ जनालाई परिवारमा पुनर्मिलन गराइसकेको छ। हाल आश्रममा ५० जनाको उपचार भइरहेको छ। रासस