अमेरिकाको नयाँ राष्ट्रपति पदमा पराजित हिलारी क्लिन्टनले हालैको आश्चर्यजनक हार पछाडि त्यहाँको संघीय जाँच ब्युरो एफबिआईका निर्देशक जेम्स कोमी प्रमुख कारण रहेको आरोप लगाएकी छन्।
चुनावको तीन दिनअघि अर्को घोषणा गर्दै कोमीले क्लिन्टनका इमेलहरुबारे एफबिआईले समीक्षा गर्दा त्यसमा उनको कुनै गल्ती नदेखिएको घोषणा गरेका थिए।
बिबिसीका वीरा डेभिसले भने, ‘क्लिन्टन आफ्ना ठूला दाताहरूसँग सामूहिक टेलिफोन कुराकानीमा थिइन्। र, उनले आफ्नो हारका लागि जेम्स कोमीलाई दोष लगाएको बताइएको छ।’
यसैबीच, अमेरिकामा राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पविरुद्ध गरिएका प्रदर्शनको चौथो दिन पनि न्यूयोर्क, शिकागो र लस एन्जलसमा हजारौं प्रदर्शनकारीहरू विरोधमा भाग लिइरहेका छन्।
न्यूयोर्कमा प्रहरीहरूले युनियन सक्वायरमा पुग्न चाहने प्रदर्शनकारीहरूलाई पछाडि धकेलेका थिए।
अन्य प्रदर्शनकारीहरू भने ट्रम्पको घर, ट्रम्प टावर र उनको कार्यालयतर्फ र्याली गर्दै अगाडि बढेका थिए।
प्रदर्शनका क्रममा ट्रम्पका आलोचक रहेका वृत्तचित्र निर्माता माइकल मोअर क्यामेराको टोलीसहित ट्रम्प टावरको लबीभित्र छिरेर ट्रम्पलाई भेट्न चाहेको बताएका थिए।
तर, उनलाई प्रवेशमा रोक लगाइयो। त्यसको केही क्षणमै युरोपेली संघबाट ब्रिटेन बाहिरिनुपर्छ भन्ने अभियानका प्रमुख व्यक्ति नाइजल फराज त्यहाँ देखा परे।
उनलाई भने भित्र पस्न दिइयो र उनी नै राष्ट्रपति निर्वाचित डोनाल्ड ट्रम्पसँग भेट्ने पहिलो ब्रिटिश नेता भए।