मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यलाई जिल्ला निर्वाचन कार्यालय गोरखाले गाउँ गाउँमा टोली परिचालन गरी तीव्र रुपमा अघि बढाएको छ।
आठ टोलीले आजदेखि मतदान केन्द्रमा पुगेर मतदाता नामावली सङ्कलन सुरु गरेको कार्यालयका प्रमुख राजेन्द्रप्रसाद पोखरेलले जानकारी दिए। आउँदो मङ्सिर २५ गतेभित्र तस्बिर सहितको मतदाता नामावलीका लागि नामावली सङ्कलन गरिसक्ने उनको भनाइ छ।
गोरखामा अहिलेसम्म एक लाख ६८ हजार ९०२ जनाले मतदाता नामावलीका लागि तस्बिर खिचिसकेका छन्। तीमध्ये एक जना तेस्रोलिङ्गी, ८२ हजार २९६ पुरुष र ८६ हजार ६०५ महिला छन्। आउँदो असोज मसान्तसम्म १८ वर्ष पुग्ने व्यक्तिले मतदाता नामावलीका लागि तस्बिर खिंचाउन पाउँछन्। मतदाता नामावली सङ्कलन टोली मतदान केन्द्रमा बस्ने बताइएको छ। रासस