विद्युत् चुहावट बढेपछि सप्तरीमा विद्युत् ‘हुकिङ’ नियन्त्रण गर्ने अभियानअन्र्तगत आज ११ जना विद्युत् चोरलाई पक्राउ गरिएको छ।
जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले सदरमुकाम राजविराजबाट उनीहरुलाई विद्युत् हुकिङ गर्दागर्दै पक्राउ गरेको प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए।
पक्राउ परेका व्यक्तिमाथि विद्युत् चोरी नियन्त्रण ऐनअन्तर्गत कारबाही हुने प्राधिकरणले जनाएको छ।
यस्तै प्रहरी चौकी फत्तेपुरबाट खटिएको प्रहरी टोलीले चौपाया चोरी मुद्दामा अदालतबाट फरार दुई जनालाई आज पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तकोसी नगरपालिका–२ फतेपुर बस्ने महेन्द्र चौधरी र बहुविवाह मुद्दाका फरार लिल मो मन्सुरी रहेको इप्रका कञ्चपुरले जनाएको छ।
जिल्ला अदालत राजविराजले चौधरीलाई दुई दिन कैद र १२ हजार जरिवाना सजाय तोकेको थियो भने मन्सुरीलाई एक महिना कैद र दुई हजार जरिवाना गरेको थियो। रासस