नेकपा एमालेका केन्द्रीय सचिव प्रदीप ज्ञवालीले देशमा तीनै तहका निर्वाचन गर्नुपर्ने बताएका छन्।
प्रेस चौतारी, पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार सम्मेलनमा ज्ञवालीले जनताको हित, आवश्यकता र समयको माग अनुसार नै संविधान संशोधनको लागि आफ्नो पार्टीले सहयोग गर्ने बताए।
उनले संविधान संशोधन, अङ्गिकृत नागरिकता, सीमाङ्न हेरफेर वास्तविक मधेसी जनताको हितको लागि भन्दा मधेसवादी दलहरुको स्वार्थको लागि मात्र भएको विचार राखे।
अङ्गिकृत नागरिकलाई राज्यका सबै तहमा पुग्ने अधिकार दिने, वर्तमान सात प्रदेशको सीमाङ्कन हेरफेर गर्ने र ५ नम्बर प्रदेशलाई विभाजन गर्नेलगायतका विषयमा नेकपा एमालेको लागि संविधान संशोधनको स्वीकार्य नभएको सचिव ज्ञवालीले स्पष्ट पारे।
सरकारबाट संविधान संशोधन गर्ने बारेमा नेकपा एमालेलाई कुनै आधिकारिक धारणा नआएको नेता ज्ञवालीले बताए। रासस