यहाँका आगलागीपीडितलाई सामूहिक बसोबासको व्यवस्था गर्ने निर्णय गरिएकोे छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति, भोजपुरको आज बिहान बसेको आपतत्कालीन बैठकले प्रारम्भिक राहतअन्तर्गत प्रतिघर तत्काल १३ हजार रुपैयाँ राहत दिने र सामूहिक बसोबासकोे लागि जस्तापाता हालेर घरको व्यवस्था गर्ने निर्णय गरेको छ ।
बैठकमा जोखिममा रहेका संरचनालाई तत्काल व्यवस्थापन, सञ्चार सम्पर्क स्थापनाको पहल र राजनीतिक दल, नागरिक समाज, पत्रकार, उद्योग वाणिज्य सङ्घलगायतले आर्थिक सहयोग सङ्कलन जुटाउने निर्णय गरियो।
भोजपुर सदरमुकामको भोटेपसलमा आइतबार भीषण आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् भने पाँच घरमा आंशिक क्षति पुगेको छ ।
नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब तीन घन्टापछि आगो नियन्त्रणमा आएको थियो । आगलागी नियन्त्रणका लागि नगरपालिकाको वारुणयन्त्र र स्काभेटरको समेत प्रयोग गरिएको थियो ।
साँघुरो सडक र बाक्लो घर भएका कारण आगो बेलैमा नियन्त्रणमा ल्याउन नसकेको जिल्ला प्रहरी कार्यालय, भोजपुरका प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताए । आगलागीबाट रु तीन करोडको क्षति भएको प्रारम्भिक अनुमान छ । क्षतिको यकिन विवरण अझै आउन सकेको छैन । रासस