काठमाडौं–तराई द्रुत मार्ग (फास्ट ट्रयाक) को ट्रयाक खोल्ने काम नेपाली सेनाले २०६९ सालमा नै सम्पन्न गरेको थियो। ट्रयाक मात्र खोलेको थिएन, त्यो बेला नेपाली सेनाले झण्डै एक दर्जन गाडीलाई काठमाडौंको चाल्नाखेलहुँदै दुई दिन लगाएर निजगढसम्म पुर्याएको थियो। पहिलो दिन, काठमाडौंबाट मकवानपुरको बुदुनेमा लगेर राख्यो, जहाँबाट हेटौडा जाने २६ किलोमिटर लामो अर्को ट्रयाक खोलिएको छ। दोस्रो दिन, निजगढ पुर्यायो।
के गरेको थियो नेपाली सेनाले ?
२०६६ साल कात्तिकमा सुरू गरेर नेपाली सेनाले २०६९ फागुनमा ट्रयाक खोल्ने काम सम्पन्न गरेको थियो। ७६ किलोमिटर दूरी रहेको फास्ट ट्रयाकको उपत्यका भित्र पर्ने ८ किलोमिटर बाहेक अरू ट्रयाक नेपाली सेनाले खोलेको थियो। फास्ट ट्रयाकको अनुमानित ७६ किलोमिटर सडकमा ललितपुरमा ८ किलोमिटर, काठमाडौंमा ४ किलोमिटर, मकवानपुरमा ५६ किलोमिटर र बारामा ८ किलोमिटर सडक पर्छ।
सेनाले ट्रयाक खोल्ने क्रममा कम्तीमा साढे ७ मिटर र बढीमा २२ मिटर चौडा सडक बनाएको नेपाली सेनाका विकास निर्माण निर्देशनालयका निर्देशक एवम् प्राविधिक सहायक रथी उद्धव बिष्टले सेतोपाटीलाई बताए ।
उनका अनुसार सेनाले फाष्ट ट्रयाकको २ किलोमिटर भाग २२ मिटर चौडा बनाइएको हो। सेनाले ९३ करोड रूपैयाँमा यो ट्रयाकको काम सम्पन्न गरेको हो। यो रकम फाष्ट ट्रयाक खोल्न शुरूमा अनुमान गरिएको भन्दा ७७ प्रतिशत कम रहेको सैनिक श्रोतको दाबी छ।
फास्ट ट्रयाकका लागि पहाडी क्षेत्रमा ५० मिटर र तराई क्षेत्रमा सय मिटर जग्गा अधिग्रहण गरिएको छ। भविष्यमा यही ट्रयाकलाई आधार बनाएर रेल मार्ग समेत बनाउन सकिने गरी यति धेरै जग्गा अधिग्रहण गरिएको हो। जग्गा अधिग्रहणका लागि झण्डै १ अर्ब रूपैया खर्च भइसकेकोछ।
नेपाली सेनाले ट्रयाक खोल्ने क्रममा बागमती र बकैया नदीमा २-२ वटा क्रसिङ राखेको थियो। जहाँबाट गाडीहरु अस्थायी रूपमा गुड्ने गर्दथे।
अहिले सेनाले राखेको क्रसिङ पनि नदीले बगाइसकेको छ। ट्रयाक खोलिसकेपछि बिदेशी कम्पनीले काम सुरू नगर्दासम्म अस्थायी रूपमा सडक सञ्चालनमा ल्याउन सेनाले सरकारलाई सुझाव दिएको थियो। तर, सरकारले यो ट्रयाक सञ्चालनमा ल्याएन, प्रयोगमा नआएपछि यो ट्रयाकको अहिले अवस्था के छ भन्ने कसैलाई थाहा छैन।
ट्रयाक खोल्ने क्रममा सिस्नेरी, छोप्रेक, लेनडाँडाँ, बुदुने र निजगढमा गरी पाँच ठाउँमा नेपाली सेनाको क्याम्प थियो। अहिले शिस्नेरी, बुदुने र निजगढमा मात्रै सेनाको क्याम्प रहेको साहायक रथी बिष्टले जानकारी दिए।
तीन वटा क्याम्पहरु अहिले सुरक्षा क्याम्पको रुपमा मात्रै छन्। निजगढमा रहेको सेनाको क्याम्पले भने ट्रयाक खोल्ने क्रममा सेनाले रोपेको ४ लाख बिरुवाको समेत संरक्षण गर्ने काम गरेको बिष्टले बताए ।
ट्रयाकको वर्तमान अवस्थाको बारेमा आफूहरूलाई केही पनि थाहा नभएको फास्ट ट्रयाक आयोजनाका प्रमुख सत्येन्द्र शाक्यले सेतोपाटीलाई बताए। ‘अहिलेको हाम्रो स्टाटस भनेको मन्त्रीजीले जे भन्नुभयो त्यही हो।’ शाक्यले भने् ‘मन्त्रीजीले भने अनुसारको समिति गठन भएर त्यसले काम गरेपछि मात्रै बाँकी कुरा भन्न सकिन्छ।’
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले आइतबार अर्थ र विकास समितिको सामूहिक बैठकमा फास्ट ट्रयाकको निर्माण नेपाल सरकारलेनै गर्ने जानकारी दिएका थिए। फास्ट ट्रयाक निर्माणको मोडालिटी तयार पार्नका लागि योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा एक महिनाभित्र सुझाव दिने गरि समिति बनाइने मन्त्री लेखकले बताएका थिए।
हेर्नुहोस् भिडियो-