स्थानीय जनतालाई घर दैलोमै छिटो छरितो र पारदर्शी ढंगमा प्रशासनिक सेवा उपलब्ध गराउने उद्देश्यले जिल्लाको मध्यवर्ती गाविस रामगोपालपुरमा इलाका प्रशासन स्थापना भएको थियो।
तर गाउँमै कार्यालय खुलेपनि रामगोपालपुर आसपासका सर्वसाधारण उत्साहित देखिएका छैनन्।
गौशाला र बर्दिवासमा दशकअघि स्थापना भएका इलाका प्रशासनले प्रभावकारी सेवा दिन नसकेको अवस्थामा रामगोपालपुरमा स्थापना भएको तेस्रो इलाका प्रशासनप्रति जनता विश्वसत हुन नसकेका हुन्।
सानोतिनो प्रशासनिक काम लिएर गाउँदेखि टाढा सदरमुकाम जान नपरोस भनि स्थापना गरिएका इलाका प्रशासनले सरकारी उपेक्षाकै कारण मापदण्डअनुरुपको सेवा प्रवाह गर्न नसकेको कर्मचारीकै गुनासो छ।
गौशाला इलाका प्रशासन होस वा बर्दिवासको सेवा केन्द्र आवश्यक भौतिक पूर्वाधारकोसमेत ब्यवस्था नहुँदा लथालिङ्ग छ।
इलाका प्रशासनको सवैभन्दा ठूलो समस्या हो दरवन्दी अनुसारको कर्मचारी नहुनु र आवश्यक श्रेस्ता उपलब्ध गराउन नसक्नु। २०४७ सालतिरै स्थापना भएको गौशालाको इलाका प्रशासनमा लामो समयदेखि अधिकृत नहुँदा त्यहाँका ११ गाविसका जनतालाई न सेवा पुगेको छ न समयको र खर्चको बचत नै।
नागरिकताका पनि सवै श्रेस्ता उपलब्ध नगराईदा प्रतिलिपि लिन सदरमुकाम नै धाउनु पर्ने बाध्यता छ।
स्रेस्ता इलाकामा र हाकिमको सही छाप गर्न जलेश्वर धाउनु पर्ने भएकोले गौशाला इलाकाबाट नागरिकता लिन कम्तिमा साता दिन पर्खनुपर्छ । त्यस्तै सिफारिस र राहदानीका लागिसमेत उस्तै झन्झट ब्यहोर्नु परेकोले सेवाग्राहीका लागि ईलाका प्रशासन सुविधाभन्दा समस्या बनेको हो।
साताभर बनेका नागरिकता , राहदानी फारम , सिफारिसलगाएतका ठेलीबोकेर कार्यालय सहयोगी गौशालाबाट ५० किमि दूरीमा रहेको सदरमुकाम जलेश्वर आउँछन्। अधिकृतको सही गराउँछन्। कम्तिमा एक रात विताएर गौशाला फर्कन्छन्। अनि नागरिकता र सिफारिस वितरण गर्छन्। श्रेस्ता बोकेर लामो बाटो ओहोर दोहर गर्नुपर्दा एक्लो कार्यालय सहयोगीलाई जोखिम पनि उत्तिकै छ।
हतार हुनेलाई गौशाला जलेश्वर आफैं ओहारदोहर गर्नुपर्ने बाध्यता छ । ‘हामी दोहरो झन्झटमा छौ भरतपुरका पूर्वगाविस अध्यक्ष शम्भु अधिकारीले भने एउटै कामको लागि हामीलाई ईलाका पनि जानुपर्छ सदरमुकाम पनि धाउनुपर्छ।’
बर्दिवास सेवाकेन्द्रको अवस्था पनि उस्तै छ । अहिलेसम्म आवश्यक श्रेस्ता र कागजात उपलब्ध गराउन नसकेकोले त्यहाको इलाका प्रशासन र मालपोतले सेवा आवश्यक दिन सकेको छैन ।
जलेश्वरस्थित प्रशासन कार्यालयका प्रशासशकीय अधिकृत शम्भु यादव समस्या सेवाग्राहीलाई मात्र होइन आफूलाई पनि परेको बताउँछन्। सेवाग्राहीको अनुपस्थितिमा गौशालादेखि ल्याईएको नागरिकतालगाएतका कागजातमा त्रासमा रहेर सहि गर्नु पर्ने बताउछन्।
सेवाग्राही गौशालै हुन्छन् तर तिनको नागरिकताको कार्ड यहाँ आईपुग्छ यादवले आफनो समस्या सुनाए ‘आँखा चिम्लेर सही गर्नुपर्छ कुन बेला फसिने हो ठेगान हुँदैन।’
यस्तो परिस्थितिमा नयाँ इलाका प्रशासन सेवाभन्दा सास्ति त हुने होइन? भनि संचारकर्मीको जिज्ञासामा महोत्तरीका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादवले इलाका प्रशासन ब्यवस्थित गर्न छिटै नै पदपूर्ति हुने बताए। उनले प्रादेशिक संरचनाअनुसार प्रशासनिक सेवाको पनि ब्यवस्थापन हुने भएकाले देखिएका समस्या समाधान हुदै जाने उनको दावी थियो।