आक्रोशको पारोले चोमोलुङमा नाघ्नु अघि
असन्तुष्टीको आयतनले रारा ढाक्नु अघि
ओ काजी साप!
अब बदल्नुपर्छ
परिभाषाहरू राष्ट्रियताको
दृष्टिकोणहरु पहिचानको ।
धर्म, जाति, लिङ्ग, वर्णको आधारमा
विभाजित गरेर हाम्रो सोचाइलाई
खण्डित गरेर हाम्रो पहिचानलाई
घर घरमा रचेर शृंखला
महाभारत र रामायणको
फसाउनु फसाएर सकुनी जालमा
धेरैलाई राख्यौ आफ्नो नियन्त्रण भित्र
धेरैलाई वाध्यौ आफ्नो बन्धनभित्र
अनी...
समाजको एक्लो बादशाह बनेर
गर्नु गर्यौ राज
सोझा, सिधा र निमुखा माथि!
तर अब बदलियो जमाना
बदलिए मानिस अनी तिनको सोचाइ ।
काजी साप ! छुटी सक्यो असर
तिमीले पिलाएको "स्लिपिङ ट्याब्लेट"को
ब्युझि सके मानिसहरु कुम्भकर्णे निन्द्राबाट !
बुझिसके तिम्रो जालसाझी
पहिल्याइ सके उनीहरूले पहेली
तिम्रो चक्रव्यूहको !
मानिसभित्रको कुण्ठा, आक्रोश र आवेगले
विद्रोहको लाभा बनेर
क्रान्तिको ज्वालामुखी विस्फोट गर्नु अघि
समय सुनामिले तिम्रो अस्तित्व बगाउनु अघि
हो,काजी साप !
बदल्नै पर्छ आफ्नो चरित्र र व्यवहारहरु
बदल्नै पर्छ आफ्नो आचरण र प्रवृत्तिहरू।
काजी साप !
यो एक्काइसौ शातब्दी हो
अबको काजीले
भात्काउन सक्नुपर्छ -असमानताका बर्लिन पर्खालहरु !
हटाउनु सक्नु पर्छ -विभेदका ग्रेट वालहरु !
पूर्न सक्नु पर्छ - गरिबीका खाडलहरु !
अनी सम्याउन सक्नु पर्छ -अहमताका सगरमाथा !
तब मात्र युगले स्वीकार्ने छ
काजी सापको अस्तित्व !!