‘अरु नेतालाई स्कर्टिङ चाहिन्छ। आफैंलाई भोट हाल्ने जनताबाट असुरक्षा महशुस गर्छन्। मलाई त जनताले बचाए। उनीहरूले नै थाना र अस्पताल ल्याए।’
गुडिरहेको माइक्रोबाट लडेर घाइते भएका पूर्व उपप्रधानमन्त्री चित्रबहादुर केसी बिहीबार साँझ अस्पतालबाट घर फर्किए।
अघिल्लो दिन बिहान माइक्रोबाट लडेपछि धेरैले उनलाई ‘निजी गाडी नचढेर यस्तो भयो’ भन्दै गुनासो गरेका थिए। जसले जे भने पनि अझै उनलाई निजी गाडी चढ्ने रहर छैन।
‘मलाई भन्छन्, कहाँ माइक्रो चढेको त? आफ्नो गाडी लिनुपर्दैन?’ उनले अस्पतालबाट डिस्चार्ज हुनुअघि सेतोपाटीसँग भने, ‘मेरो निजी गाडी चढ्ने औकात भएको भए तिनले सिकाउनुपर्थ्यो? एक-दुईपल्ट सांसद हुँदैमा, केही महिना मन्त्री हुँदैमा गाडी किन्न कहाँ सकिन्छ? त्यसो गर्न औंला बाङ्गो बनाउनुपर्छ।’
उनी बहालवाला सांसद हुन्, राष्ट्रिय जनमोर्चाका अध्यक्ष पनि। केपी ओली सरकारका छमध्ये एक उपप्रधानमन्त्री रहेका केसीले सहकारी तथा गरिबी निवारण मन्त्रालय हेरेका थिए।
बिहीबार बिहान ११ बजे सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेज पुग्दा उनलाई शुभेच्छुक र परिवारका सदस्यले घेरिरहेका थिए।
‘कस्तो छ अहिले तपाईंलाई?’ अभिवादन गरेपछि मैले सोधेँ।
प्रश्न सुनेपछि उनी बिछ्यौनाबाट थोरै उठे। सिरानी मिलाएर अडेस लागे। अनि भने, ‘अहिले अलि ठीक छ। रातभरी निद्रा लागेन। बेस्सरी ढाड दुख्यो।’
माइक्रोबाट लड्दा उनको टाउको र ढाड पिच सडकमा बज्रिएको थियो। ‘टाउको पनि दुखिराख्याथ्यो,’ उनले भने, ‘बिहान एउटा ब्रुफिन खाइदिएको थिएँ। निदाएछु।’
एकछिन बोल्न बिसाए। अनि अलिकति हाँस्दै भने, ‘यो कालले मलाई लगेन।’
‘कसरी लड्नुभयो त?’ मैले सोधेँ।
‘हिजो मिटिङ थियो पार्टी कार्यालयमा, साढे दसतिर कोठाबाट निस्किएर पार्टी कार्यालय जान माइक्रोमा चढेँ,’ उनी घटनाको इतिवृत्तान्त सुनाउन थाले।
यो पनि पढ्नुहोस्:
उनको पार्टी कार्यालय कपनमा छ। मैतिदेवी चोकमा आएर कपन जाने नीलो रङको सानो माइक्रोमा चढे। माइक्रोको छेउको सिटमा बसेका थिए। गौशाला पुगेपछि जाम भयो। ड्राइभरले खाली भएको अर्को लेनबाट गाडी अगाडि बढायो। तर रिङरोड प्रवेश गर्नेबित्तिकै चालकले ट्राफिक देख्यो।
ट्राफिक देखेपछि चालकले गाडी रातोपुल जाने बाटोतिर लग्यो।
केसी कराए, ‘म कपन जानुपर्ने, गाडी कता लगेको?’
चालकले ट्राफिकको आँखा छल्न अलि तलबाट घुमाउने गरी गाडी ओरालो झारेको रहेछ। बीच बाटोबाट गाडी घुमाउन लागेको सम्म सम्झना छ उनलाई। त्यसपछि एकाएक उनले आफ्नो वरिपरि प्रहरी देखे। अरू मान्छे पनि झुम्मिरहेका।
‘म त छक्क परेँ, म कहाँ छु ? के भइरहेको छ थाहै भएन,’ उनले भने, ‘पछाडिपट्टी टाउको दुख्यो, छामेपछि अझ धेरै दुख्यो। अनि पो थाहा भयो, म एक्सिडेन्ट परेँछु।’
ड्राइभरले निकै गतिमा रहेको माइक्रो बीच बाटोबाटै घुमाउन लाग्दा उनी माइक्रोबाट खसेछन्।
‘ढोका पनि लाएको थिएन, कन्डक्टर पनि थिएन,’ केसीले भने, ‘बस्नै त अप्ठ्यारो भइरहेको थियो। त्यसरी घुमाउँदा लडेँछु।’
उनी बेहोस भए, ‘धन्न त्यहीबेला अर्कातिरबाट गाडी आएनछ। म बाँच्न पाएँ।’
त्यही माइक्रोका यात्रीले बेहोस भएका केसीलाई राखेर माइक्रो गौशाला प्रहरीवृत्तमा ल्याए। त्यहाँ उनको होस आयो। प्रहरीले उनलाई काठमाडौं मेडिकल कलेज (केएमसी) मा भर्ना गर्यो। केही यात्री उनलाई कुरेर साँझसम्म अस्पतालमै बसे।
उनको टाउको र ढाडमा चोट लागेको थियो। तर, चोट बाहिर मात्रै लागेको हुँदा त्यति लामो समय अस्पताल बस्नु परेन। उनले बिहीबार नै डिस्चार्ज पाए।
उनले भने, ‘अरु नेतालाई स्कर्टिङ चाहिन्छ। आफैंलाई भोट हाल्ने जनताबाट असुरक्षा महशुस गर्छन्। मलाई त जनताले बचाए। उनीहरूले नै थाना र अस्पताल ल्याए।’
बिहान ११ बजे दुर्घटनामा परेका केसीले दिउँसो ३ बजेसम्म कसैलाई खबर गरेनन्। तीन बजेतिर श्रीमती पार्वती केसीलाई फोन गरे।
‘अलि हाँसेर सामान्य दुर्घटनामा परेँ भनेँ,’ उनले अलि गम्भीर अनुहार बनाएर भने, ‘ऊ प्रेसर र सुगरको रोगी छ। अरूबाट सुनी भने प्रेसर झन् बढ्ला भन्ने भएर मैले नै फोन गरेको।’
त्यसपछि उनका भतिजा हिरा केसी त्यहाँ पुगे। अरू आफन्त र शुभेच्छुकहरू अस्पताल जान थाले।
‘डाक्टरले गुनासो गर्छन् मान्छे धेरै आए भनेर,’ उनले जिन्दगीभर कमाएकै जनताको शुभेच्छा हो, ‘मान्छे त आइहाल्छन् नि।’
‘को-को आए तपाईंलाई भेट्न?’
‘हिजो गृहमन्त्री (विमलेन्द्र) निधि आउनुभएको थियो, के सहयोग गर्नुपर्छ भन्दै हुनुन्थ्यो,’ उनले भने, ‘मलाई के गर्नुपर्छ र?’
उपचार खर्च गाडी सञ्चालक समितिले व्यहोरिरहेकै छ। निजी गाडी चढ्ने उनलाई रहरै छैन।
‘मैले आफू दुर्घटनामा परेँ भनेर गाडी किन्नु त नेता बाँच्नुपर्छ, जनता जति मरे नि केही हुन्न भनेजस्तो हुन्छ,’ उनले भने, ‘सबै नेपाली जनताको जीवनको मूल्य उही हो। सबैका लागि राम्रो यातायात चाहिन्छ। दिनमा तीनचार जना त जहिले पनि मरेकै छन्, त्यता सोच्नुपर्दैन?’
काठमाडौंमा सार्वजनिक यातायातको क्षेत्रमा अराजकता छ भन्ने उनको निष्कर्ष छ। तर, सांसद, नेता, मन्त्रीहरू सार्वजनिक गाडी नचढ्ने हुँदा उनीहरूले जनताको पीडा बुझ्न नसकेको केसी बताउँछन्।
‘गाडीको कन्डिसन जाँच हुँदैन, जस्तोसुकै कन्डिसनका गाडी चल्छन्,’ उनलाई गुनासो छ, ‘तर राज्यले केही गर्ने सक्दैन।’
‘हिजो ढोका लगाएको भए पनि त म बाहिर झर्ने थिइनँ नि!’ उनले भने।
पुराना र बिग्रिएका गाडी हटाएर ठूला बस कुदाउन पाए काठमाडौंको यातायात सहज हुने थियो भन्ने उनलाई लागिरहन्छ। यसका लागि राज्यले दह्रो कदम चाल्नुपर्ने हो। तर, अहिलेसम्म त्यसो हुन सकेको छैन।
हामी कुरा गर्दागर्दै उनलाई हेरिरहेका डा. अमित थापा तीन जना नर्स र एकजना सहयोगी डाक्टरसहित क्याबिनमा आइपुगे। उनले केही सोधपुछ गरे। औषधिहरूबारे जानकारी गराए।
‘आज घर जान सक्नुहुन्छ,’ डा.थापाले केसीलाई भने, ‘बीचमा गाह्रो भयो भने जहिले आए पनि हुन्छ। तर एकसाता पछि चाहिँ यहाँ अनिवार्य आउनुहोला।’
डाक्टरको भनाइले उनको अनुहारमा चमक थप्यो।
डा.थापा निस्किनेबित्तिकै पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द आइपुगे। एमाले नेता तथा पूर्वमन्त्री भीम रावलले पनि आउने खबर गरेका थिए।
‘लड्नु पनि भयो, उमेर पनि निकै भइसक्यो? अब त आफ्नै गाडी चढौं लाग्दैन?’ छुट्ने बेला मैले सोधेँ।
‘लाग्दैन,’ एकशब्दमा जवाफ दिएर उनी रोकिए।
‘किन?’
‘मन्त्री मात्रै बाँचेर हुन्छ त?’ उनले प्रश्नमै जवाफ दिए।