नेकपा माओवादी केन्द्रका नेता एवं सांसद टोपबहादुर रायमाझीले पाँच नम्बर प्रदेशलाई टुक्राउने गरी आएको संशोधन प्रस्तावमा सहमत हुन नसकिने स्पष्ट पारेका छन्।
सेतोपाटीसँग कुरा गर्दे रायमाझीले पहाडका जिल्ला र तराईका जिल्लालाई छुट्टाउने मुर्खता नगर्न समेत चेतावनी दिए। ‘मिलेर बसेका जनतालाई जिस्क्याउने काम हुनुहुँदैन। नयाँ ठाउमा विवाद निकाल्न खोजिदैछ’, रायमाझीले भने, ‘नत यो प्रस्ताव पास हुन सक्छ नत यसलाई जनताले नै साथ दिन्छन्।’
पहाड र मधेश छुट्टाउनुपर्छ भन्ने नयाँ किचलो भिकेर जनतालाई आन्दोलनमा उतार्ने काम गर्न नहुने उनले बताए। विवाद भएका जिल्लाहरू झापा, मोरङ, सुनसरी, कैलाली र कन्चनपुरलाई छोडेर नयाँ विवाद निम्त्याउने काम भइरहेको समेत उनले आरोप लगाए।
बाहिर चर्चामा रहे जस्तो संविधान संशोधनको प्रस्ताव दर्ता भएमा त्यसलाई स्वीकार्न नसकिने रायामाझीले बताए।