झापाको सुरुङ्गामा जारी साहारा सुरुङ्गा गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको खेलमा रुपन्देही–११ विजयी बन्दै फाइनलको यात्रा तय गरेको छ ।
बिहिबार भएको अन्तिम सेमिफाइनल खेलमा रुपन्देही–११ ले मनाङ मस्र्याङ्दी क्लबलाई हराएसँगै फाइनलको यात्रा तय गरेको हो । अब रुपन्देही ११ ले एपिएफसँग शनिबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएको छ ।
प्रतियोगितामा निर्धारित समयमा दुवैतर्फबाट गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरमार्फत लिइएको थियो । जसअन्तर्गत रुपन्देहीले मनाङलाई टाइब्रेकरमा ४–३ को गोलअन्तरले पछि पारेको हो । मनाङका सुजल श्रेष्ठ र निराजन मल्लले गोल गर्न सकेनन् । रुपन्देहीका विजय धिमालको प्रहार पोष्टबाट बाहिरिएको थियो ।
रुपन्देहीका विक्रम लामा, रजिन धिमाल, विमल घर्ती मगर र दिलीप क्षेत्रीको प्रहार गोलमा परिणत भएको थियो भने मनाङका अनिल गुरुङ, हेमन गुरुङ र किरन चेम्जुङले गोल गरे ।
खेलमा उत्कृष्ट प्रदर्शन गरेका रुपन्देहीका विक्रम लामा म्यान अफ द म्याच घोषित भए । उनलाइ रु १५ हजार बराबरको एन्ड्रोइड फोन प्रदान गरिएको थियो ।