बुझ्न सजिलो भएकैले होला सायद, आम नेपालीको सबैभन्दा लोकप्रिय खेल बनेको छ, फुटबल। डेढ घण्टाको समयमा रोमाञ्चक खेल हेर्न चाहने फुटबल फ्यानहरू नेपालमा मात्र नभएर संसारभर नै धेरै छन्।
त्यसैले पनि फुटबलको वल्र्डकपले अन्य खेलको अनि ओलम्पिकभन्दा विशिष्ट महत्व राख्छ। फुटबल वल्र्डकपको रौनकमा नेपाली नभुल्ने कुरै भएन। नेपालीलाई सबै ठूला खेलाडीको नाम र अनुहार पनि थाहा छ। तर, नेपालकै खेलाडीको नाम र अनुहार सम्झन के नेपालीहरू तयार छन्?
विगत केही वर्षअघिसम्म नेपाली फुटबलको अवस्था कस्तो थियो हामीसामु जगजाहेर छ। हरेक खेलमा लज्जास्पद पराजय व्यहोर्दै घर फर्कँदा वा घरेलु मैदानमै हारको स्वाद चाखिरहँदा नेपाली फुटबल अधोगतितिर दौडिँदै थियो। सबै जिम्मेवारी केही खेलाडीहरूलाई लगाइयो।
नेपाल प्रहरीको सक्रियतामा म्याच फिक्सिङको आरोपमा तत्कालीन नेपाली फुटबलका कप्तान सागर थापा, उपकप्तान सन्दीप राई, रितेश थापा, अन्जन केसी, विकास सिंह क्षेत्री लगायतका खेलाडी पक्राउ परेपछि नेपाली फुटबल एकाएक चर्चामा पुग्यो। चर्चित अनुहारहरू सबै समातिएपछि नेपाली फुटबल अब सकियो, नेपाली फुटबलको अस्तित्व नै संकटमा पर्ने भयो भनेर टिकाटिप्पणी नभएको हैन।
नेपाली फुटबलका पदाधिकारीसहित सम्पूर्ण फुटबल वृत्त नै आलोचित बन्न पुगेको घटना थियो त्यो। खेलाडीले आफ्नो गल्ती स्वीकारेका छैनन्। त्यसपछि नेपाली फुटबलमा भित्रिएको नयाँ पुस्ताले अहिले सनसनी मच्चाइरहेको छ।
समयले कोल्टे फेर्यो। नेपाली फुटबलमा फिक्सिङको चर्चा सेलाएसँगै एकाएक नवयुग श्रेष्ठ, अन्जन विष्ट, विमल घर्तीमगरलगायत युवा खेलाडीले राम्रो स्थान मात्र पाएनन्, गतिलो प्रदर्शन गरेर फुटबलप्रेमीमाझ आशाको दियो बाल्न सफल भएका छन्। बंगलादेशमा बंगबन्धु कप जितेर होस् या बाह्रौं सागमा भारतलाई भारतकै भूमिमा हराएर नेपाली फुटबल पनि साउथ एसियामा कमजोर छैन भन्ने कुरालाई नेपाली खेलाडीहरूले प्रमाणित गरेर देखाइदिए।
हालै मलेसियामा सम्पन्न एएफसी सोलिडारिटी कपमा ६२ वर्षपछि उपाधि जितेर नेपालले फुटबलमा अर्को इतिहास रच्यो। कमजोर व्यवस्थापन, फुटबलमा राजनीतिक खिचातानी, अखिल नेपाल फुटबल संघ एन्फाको लामो विवाद, भौतिक पूर्वाधारको अभावलगायत विभिन्न समस्याका बाबजुद पनि नेपाली फुटबल यो अवस्थामा आइपुग्नु गर्वको कुरा हो।
तर, हामीलाई गौरब अनुभव गराउने खेलाडीको वास्तविक अवस्था कस्तो छ भनेर हामीमध्ये कमैले सोच्ने गरेका छौं। सामाजिक सञ्जाल अनि सञ्चारमाध्यममा प्रशंसा पाएका खेलाडीको आर्थिक अवस्था राम्रो छैन। त्यसैले, खेल्दाखेल्दै पनि कतिपय खेलाडी हराउँछन्। उनीहरू खेल छाडेर कमाउनतिर लाग्छन्, यो उनीहरूको बाध्यता हो।
सरकारले खेलकुदमा लागि भनेर विभिन्न शीर्षकमा बजेट छुट्याए तापनि तदअनुरुप के कति काम भए अथवा समग्र खेलकुदको विकासमा के प्रगति भयो त्यो सहजै अनुमान लगाउन सकिन्छ। सरकारले विभिन्न पदक जितेसँगै खेलाडीलाई यति रकम र उति रकम दिन्छु भनेर घोषणा गर्ने प्रचलन त पुरानै हो। बंगबन्धु गोल्डकप होस् या सागमा स्वर्ण जित्दा नै किन नहोस्, फुटबल खेलाडीलाई लाखौं रुपैया दिने कुरा त गरेकै हो।
सरकारले दिने भनेको रकम दिएको छ कि छैन? के कति कारणबापत खेलाडीले पाएका छैनन्? किन राष्ट्रको गरिमा बढाउने खेलाडीलाई नै सरकारले झुक्याइरहेको छ? यो आम फुटबलप्रेमीप्रति चासोको विषय बन्दै गइरहेको छ।
साँच्चै सरकारले प्रोत्साहनबापत दिने भनिएको रकम खेलाडीहरूले पाएका छन् त? यसतर्फ कसैले ध्यान दिन सकेका छैनन्। खेलाडीले उल्लेख गरिएअनुरुपको रकम पाएका छैनौं भनिरहेका छन्।
राष्ट्रिय टिमका हालका चर्चित खेलाडीहरू सरकारको उदासिनताप्रति आजित भइसकेका छन्। सरकारले तोकेको रकम समयमा नै उपलब्ध नभएसँगै उक्त रकम पाइने हो या हैन भन्ने कुरामै शंका रहेको राष्ट्रिय टिमका खेलाडीहरूको तर्क छ। तथापि खेल जितेवापत सरकारले दिने भनिएको रकम चाँडै पाउने आशासहित खेलमै आफूहरूले अझै मिहेनत गरिरहेको खेलाडीहरू बताउँछन्।
साख र भविष्य बनाउने चुनौती पनि सँगै जोडिएर आउँछ। त्यसैले खेलाडीहरू भोको पेट, घरको आर्थिक समस्यालाई बिर्सेर हरेक समय देश अनि आफ्नो नामका लागि मैदानमा कुदिरहेका छन्। हामी पपकर्न खाँदै प्याराफिटमा बसेर उनीहरू कुदेको हेरिरहेका छौं।
पैसाको लागि नभएर राष्ट्रको गरिमासँग जोडिएको विषय भएकाले पनि फुटबलमा अझ उत्कृष्ट खेल पस्कने गरेको चर्चित स्ट्राइकर नवयुग श्रेष्ठ बताउँछन्। खेलाडीलाई रकमले अथवा सम्मानले उत्प्रेरणा प्रदान गर्ने हो भने थप हौसला मिल्छ। रकम तोकिएपछि समयमै प्रदान गर्नुपर्ने दायित्वबारे सरकारले हेक्का राख्नुपर्ने गोलकिपर विकेश कुथुको भनाइ छ।
स्ट्राइकर भरत खवास, मिडफिल्डर विशाल राई, मिडफिल्डर सुजल श्रेष्ठको तर्क पनि यही हो। सरकारले प्रदान गर्ने भनिएको एकमुष्ट रकमसहित खेल मैदानलगायत भौतिक पूर्वाधारको विकास गर्नसके नेपालले अझै उत्कृष्ट खेल पस्कने उनीहरू बताउँछन्।
मन्त्रीमण्डल फेरिएपछि खेलकुद मन्त्रीलगायत यससँग सम्बन्धित पक्षले नेपाली फुटबललाई अगाडि बढाउन विभिन्न खाले कार्ययोजना साथै भाषणवाजी गर्छन्। ती केवल बोलीमै सीमित बन्ने गरेका छन्। खेलाडीलाई प्रलोभन मात्रै देखाउने तर अभ्यासका लागि उचित मैदानसमेत व्यवस्था गर्न नसक्ने राष्ट्रले खेलाडीहरूबाट बढी अपेक्षा गर्नु शोभनीय नहोला।
राष्ट्रको गरिमा बढाउने खेलाडीको भविष्य खेल क्षेत्रमा रहुन्जेल मात्रै हो या खेलपछिको जीवनमा पनि सरकारले खेलाडीको भविष्यलाई लिएर केही चिन्तित बन्ने हो? सोचनीय विषय छ। यही अवस्था रहिरहे हाल देश विदेशमा फुटबल खेलेर नाम कमाएका स्टार खेलाडीहरू भोलि रोजगारीका लागि कतार, मलेसिया भासिए भने आश्चर्य मान्नुपर्ने छैन।