मुस्ताङको टुकुचे र कोवाङ गाविसलाई छुट्टै गाउँपालिका बनाउन माग गर्दै स्थानीयवासी आन्दोलित भएका छन्।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समितिले आफूहरुलाई कुनै जानकारी नदिई दुई गाविसलाई थासाङ गाउँपालिकामा समावेश गरेको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। लामो समयदेखि दुई गाविसलाई एक गाउँपालिकामा समावेश गर्न माग गर्दै ज्ञापन बुझाइए पनि सहयोग समितिले आफूहरुको माग सुनुवाइ नगरेको स्थानीयवासीको गुनासो छ।
दुई गाविसका स्थानीयवासीले कोबाङ र सदरमुकाममा निरन्तर प्रदर्शन गर्दै आएका छन्। दुई गाविसका स्थानीयवासीले बिहीबार जिल्लामा तीनघन्टा यातायात बन्द गरेका थिए भने बन्द जोमसोम विमानस्थलमा टायर बालेर प्रदर्शन गरेका थिए। स्थानीय अगुवा हेमन्त गौचनले ऐतिहासिक निरन्तरता, भौगोलिक सुगमता र जनसङ्ख्याको हिसाबमा दुई गाविसलाई मिलाएर गाउँपालिका बनाइनुपर्ने बताए।
“हामीलाई लेते केन्द्र धेरै टाढा हुन्छ। यो विषयमा हामीले निरन्तर खबरदारी गरिरहेका छौँ”, उनले भने। दुई गाविसमा थकाली समुदायको जनसङ्ख्या धेरै रहेको छ।
स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले स्थानीयवासीको मागका विषयमा आयोगमा जानकारी गराइएको बताए। “सुरुमा उहाँहरुको मागका विषयमा हामीलाई खासै जानकारी भएन। अहिले सबै कुरा आयोगमा पठाएका छौँ”, उनले भने। रासस