करिब एक वर्षअघिको कुरा हो। आमाको दाँत सफा गर्न गाउँबाट नजिकैको बजार विराटचोकमा आयौं। दाँत उपचार गर्ने प्राइभेट क्लिनिकमा दुई सय रुपैयाँको पुर्जी काटेर डाक्टरको कोठामा पुग्यौं। डाक्टरले आमाको दाँत हेर्दै भने– ‘एउटा दाँत फुकाल्नुपर्ने रहेछ। नत्र यसले अरू दाँतलाई पनि खराब गर्छ।’
दाँत सफा गर्न आएको तर डाक्टरले नै भनेपछि आमा र मैले सल्लाह गरेर दाँत फुकाल्ने निधो गर्यौं। डाक्टरले अरू दाँत हेर्दै थिए। एकैछिनमा उनले भने– ‘लौ अर्को पनि दाँत फुकाल्नुपर्ने रहेछ।’
त्यसपछि नर्सलाई आदेश दिएर दाँत फुकाल्ने प्रबन्ध मिलाउन थाले। मैले दोधार व्यक्त गर्दै भने– ‘डाक्टरसाप दुईवटा दाँत फुकाल्ने कुरा कति जायज होला? फेरि हामी त्यस हिसाबले तयार पनि छैनौं।’
डाक्टरले कड्केर भने– ‘तपाईं डाक्टर कि म डाक्टर? तपाईंले हामीलाई सिकाउने?’
त्यसपछि मेरो पारो तात्यो। रिसले जंगिदै मैले भनेँ– ‘बिरामी र बिरामीसँग आएको मान्छेलाई कुरै नबुझाई मन लागेको उपचार गर्ने? हामीले सहमति जनाउन आवश्यक छैन?’
गाउँलेहरूसँग यसरी नै व्यवहार गरेर उपचार गर्न अभ्यस्त थिए ती व्यवसायी डाक्टर। एकछिन वादविवाद भयो। त्यसपछि हामी त्यहाँ उपचार नगरी धरानको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गयौं। त्यहाँका डाक्टरले दाँत फुकाल्न आवश्यक नरहेको जानकारी गराएपछि दाँतको सफाइ गरेर हामी घर फक्र्यौं। तर आफ्नै अज्ञानताले पिरोल्यो।
विराटचोकका ती डाक्टरले अर्को पनि दाँत फुकाल्नुपर्छ नभनेको भए एउटा दाँत त खोलिन्थ्यो। क्लिनिकका डाक्टरहरू दाँत गन्ती गर्दै पैसा हिसाब गर्दै दाँत उखेल्दा रहेछन्। यस्ता व्यापारी डाक्टरले कति गाउँलेको यसरी नै अनावश्यक चेकजाँच, चिरफार गर्दा हुन्।
जब मैले केही वर्षअघि थाहा पाएँ, बिरामी बोक्ने एम्बुलेन्सको व्यापारिक सम्बन्ध अस्पतालहरूमा हुन्छ। बिरामीलाई अस्पताल पुर्याएबापत एम्बुलेन्स चालकलाई बलियो रकम बक्सिस दिइने रहेछ। जति गम्भीर बिरामी हो, उति नै बढी बक्सिस पाउने रहेछ चालकले। पछि त्यो बक्सिस पनि बिरामीबाटै असुल्ने हो अस्पतालले। यस आधुनिक भनिएको समयमा पनि हामी यसरी पशुजस्तो बेचिन अभिसप्त रहेछौं। राज्यका शासक निकम्मा छन्। हामी कहाँ गएर बिलौना गरौं?
एक जना कलाकार साथीलाई दुई दिन लगातार ज्वरो आएपछि हामीले उनलाई काठमाडौं मेडिकल कलेजको आकस्मिक कक्षमा लग्यौं। विभिन्न चेकजाँचपछि भनियो– ‘युरिन इन्फेक्सन।’ तर भोलिपल्ट पनि ज्वरो कम नभएपछि फेरि बिरामीलाई त्यहीँ लगियो। त्यहाँका डाक्टर र नर्सहरूको समूह एकमुखले भन्न थाले– ‘केही दिन ज्वरो आइरहन्छ। यस्तै हो।’
बिरामीलाई घर फर्काइयो। झन् साह्रो भएपछि काठमाडौ मोडल अस्पताल पुर्याइयो। त्यहाँ दुई घन्टामा ब्लड कल्चर रिपोर्ट आएपछि पत्ता लाग्यो टाइफाइड। कलेजोमा असर सुरु भैसकेको रहेछ। सही उपचार सुरु भयो। ती डाक्टरहरूको अक्षमताले हामीलाई अनावश्यक दुःख दियो। रिसले आगो भएँ। तर, कहाँ जाउँ। फेरि सम्हालिनु सिवाय केही थिएन।
भाइको पत्थरीको उपचारका लागि मीनभवनको सिभिल अस्पतालमा भर्ना गराएँ। युरिनमा पाइप राख्नुपर्ने रहेछ। राखियो। तर, पाइप राख्ने प्रक्रियाको गडबडीले इन्फेक्सन भएछ। इन्फेक्सन उपचारकै लागि पाँच दिन अस्पताल राखियो। एकातिर १८ एमएमको पत्थरीको आकार बढिरहेको छ। अर्कातिर इन्फेक्सनको उपचार गर्न महिनौ लाग्ने भयो। डाक्टरसँग भेटेँ। उनले भने– ‘सामान्य रूपमा कहिलेकाहीँ यस्तो हुन सक्छ।’
तर, हाम्रो लागि यो सामान्य कुरा थिएन। उपचार गर्न भाइलाई गाउँबाट काठमाडौं ल्याएको। झन् बिरामी बनाएर पाठाएँ। यस्तो दुःख कस्लाई पोख्ने?
गाउँकी एक जना खड्किनी काकी छिन्। अचेल उनी एउटा आँखा देख्दिनन्। डाक्टरले लेखिदिएको औषधि किन्न जाँदा फार्मेसीले गलत औषधि दिएछ। आँखा सधैंका लागि बिग्रियो।
यस्ता अनगिन्ती उदाहरण मसँग छन्। अस्पताल, डाक्टर वा यस क्षेत्रमा लागेका अक्षम व्यक्तिका कारण आममानिसले ठूलो कष्ट र झमेला भोग्नुपरेको छ। हामीजस्ता आममानिसले कहाँ गएर दुःखेसो पोख्ने? हाम्रो बारेमा यो राज्यको कुन निकायले बोलिदिन्छ? हरेक आममानिस स्वास्थ्यका कारण पटकपटक हन्डर खान्छ। सही र सुलभ उपचारका लागि जीवनभरि भौंतारिन्छ। दुख भोग्छ। अकालमा मर्छ। वा, ऋण वा रोगको पिण्ड बोकेर दुःखको कथा सुनाइ रहन्छ।
केही थोरै अस्पताल र केही थोरै चिकित्सकहरू, जसलाई आममानिसको जीवन रक्षाको चासो छ, तिनका आदर्श हुन् डाक्टर गोविन्द केसी।
म चिकित्सा विज्ञानभित्रको राजनीति त्यति बुझ्दिनँ। तर, डाक्टर गोविन्द केसीले उठाएका माग पटक–पटक पढेको छु। मैले बुझेको के हो भने यसले आममानिसको सही स्वास्थ्य सेवा र पहँुचको कुरा गर्छ। यसले स्वास्थ्य सेवामा भएको राजनीतिकरण, चरम भ्रष्टाचार र व्यापारीकरणलाई न्यूनीकरण गर्छ। यसले ठगहरूको जञ्जालबाट आममानिसलाई मुक्त गर्छ, जसले धेरै मानिस खड्किनी काकीले झैं आफ्नो आँखा गुम्नबाट जोगिन्छन्। टाइफाइड भएका बिरामीको युरिन इन्फेक्सन भनेर उपचार हुन बन्द हुन्छ। पैसाका लागि दाँत गन्ती गरेर उखेल्ने दलालहरूले सजाय पाउनेछन्। त्यसैले, मेरा लागि डा. गोविन्द केसी आम असहायका स्वर हुन्। करोडौं नेपालीको जीवन रक्षा निम्ति पटकपटक यति ठूलो कष्ट भोगिरहेका यी एक जना महापुरुषको जीवन रक्षा गर्न सकेनौं भने यस भूमिबाट परिवर्तनको आशा युगौंसम्म हराएर जानेछ। आम मानिसको न्यायका निम्ति अर्को महापुरुष जन्मन कयौं वर्ष लाग्नेछ। डाक्टर केसीको यो सत्कर्मको विगुललाई नसुनेझैं गरियो भने यो सत्तामा बसेका मानिस अत्यन्तै क्रूर र अत्याचारी ठहरिनेछन्।
काठमाडौको एउटा विचित्रको चरित्र छ। धर्म र मानवताबीचको विरोधाभाष। तपाईंहरूले काठमाडौंका सडकमा, गल्लीमा, कुइनेटामा देवीदेवताको तस्बिर टाँसेको देख्नुभएको छ? ती ठाउँमा उहिले ‘फोहोर फाल्न मनाही छ’ भनेर लेखिएको हुन्थ्यो। कसैले टेरेनन्। जब त्यहाँ भगवानका तस्बिर टाँसिए, फोहोर फाल्न बन्द भयो। ईश्वरका नाममा डराउने हामी मानवता लम्पसार परेको रमिता हेरी बस्छौं। अहिले यस्तै भएको छ। भारतबाट एक जना चटकी व्यापारी बाबा रामदेव आउँदा यस देशका राष्ट्रपति र प्रधानमन्त्री अनुलोमविलोम गर्न पुगे। उता मानवता र न्यायको श्वास घिटिकघिटिक हँुदा समेत यिनले टेरपुच्छर लाएनन्। ढोंगी धार्मिक गुरुहरूको शरणमा लम्पसार पर्ने यी नेताहरूका अगाडि डा. गोविन्द केसी मानवता र न्यायका विशिष्ट नमूना हुन्। ती धार्मिक गुरुहरूका निम्ति काठमाडौंका डाँडाकाँडा र करोडौं रुपैयाँ दान दिन सक्ने यो राजनीति डा. गोविन्द केसीको आह्वान बुझ्न किन सक्दैन?