लिम्बू जातिको चाड चासोक तङनाम यस वर्ष झापाको दुधेमा मनाउने तयारी भएको छ। विभिन्न कार्यक्रमको आयोजना गरी शिवसताक्षी नगरको दुधेमा तङनाम भव्य रुपमा मनाइने तयारी भएको हो।
स्थानीय याक्थुङ नालिफूङवा चुम्भोले पत्रकार सम्मेलन गरी चासोक तङनाम यस वर्ष दुधेमा भव्य रुपमा मनाउने तयारी गरिएको जनाएको हो। चुम्भोका अध्यक्ष वीरबल जवेगुले आउँदो मंसिर २८ गते मनाउने तङनाम पूजाआजासहित मनोरञ्जन, सांगीतिक लगायत लिम्बूजन्य संस्कृतिहरु प्रदर्शनी गरिने कार्यक्रम रहेको जनाए। उनले भने, ‘चासोक तङनाम यस वर्ष दुधेमा ऐतिहासिक बनाउन जुटेका छौं।’ जवेगुका अनुसार चासोक तङनामलाई सफलतापूर्वक सम्पन्न गर्न विभिन्न उपसमितिहरु गठन गरी हालसम्म ९० प्रतिशत तयारीका काम पूरा भएको छ।
स्थानीय आदिवासी जनजाति महासंघ र संयुक्त भूपू सैनिकको भवनको प्राङगणमा आयोजना गरिने सो कार्यक्रममा न्वागी पूजा, प्रसाद वितरण, केलाङ तथा च्याब्रुङ प्रर्दशनी, विजुवा नाच, धान नाच, छेलो, धनुकाँड प्रतियोगिता, हाक्पारे नाच, लिम्बू गीतको नृत्यसहित लिम्बू समुदायका राष्ट्रिय कलाकारहरुले आ–आफनो प्रस्तुति दिने कार्यक्रम रहेको छ।
उक्त सांगीतिक कार्यक्रममा चर्चित गायक दिपक लिम्बू, तारा लक्सम, राज लाबुङ, लिम्बू गायिका मनु नेम्बाङ, प्रेम आङदेम्बे र पूर्वमिस नेपाल सुविना लिम्बूको विशेष प्रस्तुति रहने आयोजक संस्थाका सचिव भीम लिवाङले बताए।
नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति बैरागी काइँलाको प्रमुख आतिथ्यतामा हुने सो कार्यक्रममा लिम्बू कलाकारहरु, भाषा, साहित्यका क्षेत्रमा विशिष्ठ योगदान पुर्याउने अग्रजहरुलाई सम्मान गरिने कार्यक्रम रहेको जनाइएको छ। करिब १६ लाख खर्च लागत रहने उक्त तङनाम कार्यक्रम सफल बनाउन विदेशमा रहेका नेपालीहरुले ७ लाख बढी सहयोग समेत उपलब्ध गराएका छन्।